विवाह गर्दा वडाको स्वीकृति लिनुपर्ने, भागेर गरेको विवाह दर्ता नै नहुने
काठमाडौं । विवाह गर्दा वडाको स्वीकृति लिनुपर्ने भएको छ । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर २ ले विवाह गर्नु पूर्व स्वीकृति लिनुपर्ने नियम ल्याएको हो । वडा कार्यालयले बाल विवाह मैलाएको भन्दै विवाह गर्नु पूर्व स्वीकृति लिनुपर्ने नियम ल्याएको हो । वडा कार्यालयले पुसको पहिलो साता विवाह गर्नु पूर्व वडाबाट सिफारिस लिनु पर्ने निर्णय गरेको वडा नम्बर २ का वडा सदस्य अमृका प्रसाद थारुले बताए । वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य रहेको भन्दै सूचना समेत प्रकाशन गरेको उनले जानकारी दिए । ‘हाम्रो वडामा केही समय अगाडि बाल विवाह हुँदैछ भनेर कसैले प्रहरीमा उजुरी गरिदिएछ, त्यस पश्चात् ठूलो विवाद भयो, विवाह पनि रोकियो, त्यसैले आगामी दिनमा यस्तो नहोस् भनेर विवाह गर्दा वडाको स्वीकृति लिनुपर्न व्यवस्था गरेका हौं,’ उनले भने । जुनसुकै उमेर समूहका नागरिकले पनि विवाह गर्नु पूर्व वडाबाट सिफारिस लिनु पर्ने पनि थारुले जानकारी दिए । सिफारिस नलिई विवाहको गरेको थाहा पाएमा कारबाही गर्ने समेत चेतावनी वडा कार्यालयले दिएको छ । उनले भागेर गरेको विवाह दर्ता नहुने पनि जानकारी दिए ।
बुढानीलकण्ठ नगरपालिकामा खानेपानी समस्या समाधान गरिने
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले नगर क्षेत्रको खानेपानीको समस्यालाई छिटोभन्दा छिटो समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । बुढानीलकण्ठ नगरपालिका ११ मा रहेको बगलामुखी मन्दिर परिसरमा आयोजित बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारणसभामा नगर प्रमुख अधिकारीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले समेत नगर क्षेत्रमा पानी वितरणका लागि पाइप विछ्याइरहेको जानकारी दिए । कार्यक्रममा वडा सदस्यद्वय शर्मिला गौतम र सम्बर गुरुङले वडामा भएका विभिन्न समस्या खानेपानी अभाव, फोहरमैला व्यवस्थापनलगायत छिट्टै सामाधान गरिने बताएका थिए । कार्यक्रममा स्थानीय बालकृष्ण पौडेलले टोलमा ठूलो समस्याका रुपमा रहेको खानेपानीको विषयलाई समाधान गर्न स्थानीय सरकारको नेतृत्वदायी भूमिका हुनुपर्नेमा जोड दिएका थिए । समितिले प्रत्येक वर्ष प्रदान गर्दै आएको ज्येष्ठ नागरिक सम्मान यस पटक सगरमाथा आरोही कान्छा शेर्पालाई प्रदान गरिएको छ । कार्यक्रममा वडा नं ११ का अध्यक्ष राजु अधिकारी, वडा नं १० का अध्यक्ष नवराज भट्टराई, वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईलगायतलाई पनि सम्मान गरिएको थियो ।
गैँडाकोट नगरपालिकाले पाँचवटा ऐन ल्याउँदै
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले हिउँदे नगरसभामार्फत विभिन्न पाँच वटा ऐन ल्याउँदैछ । आगामी माघ १७ गते सञ्चालन हुने चालु आर्थिक वर्ष २०७९/८० को हिउँदे नगरसभामा नगरप्रमुख मदनभक्त अधिकारीले पाँच वटा ऐन पेश गर्ने बताइएको छ । मङ्गलबार बस्ने १२औँ नगरसभामामा ऐनसहित अर्धवार्षिक समीक्षा र विविध कार्यसूची पेस गर्ने कार्यक्रम तयार भएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए । नगरसभामा नगरप्रमुख अधिकारीले गैँडाकोट नगरपालिकाको नगर खेलकुद विकास ऐन २०७९, नगर प्रहरी ऐन २०७९, सहकारी ऐन २०७९, नगर प्रज्ञा प्रतिष्ठान ऐन २०७९ तथा जलस्रोत विकास ऐन २०७९ पेश गर्ने कार्यसूची रहेको रिजालले बताए । सभाको बैठक बस्ने मिति, समय, स्थान र बैठकको कार्यसूचीसहितको सूचना बैठक बस्ने दिनभन्दा कम्तीमा सात दिनअगावै अध्यक्ष वा प्रमुखको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले सभाका सबै सदस्यलाई पठाउनुपर्ने प्रावधानअनुरुप सदस्यलाई जानकारी गराइएको रिजालले बताए। माघ ६ गते बसेको नगर कार्यपालिका बैठकले १२औँ नगरसभाको मिति माघ १७ गतेका लागि तय गरेको थियो । नगरसभामा प्रस्तुत गरिएको पाँचवटै ऐन नगरसभाबाट पास हुने नगरप्रमुख मदनभक्त अधिकारीले बताए। ‘हामीले नगरपालिकामा आवश्यक पर्ने ऐन व्यापक छलफलपछि तयार गरेर नगरसभामा ल्याउन लागेका छौँ’, नगरप्रमुख अधिकारीले भने, ‘नगरपालिका सञ्चालनका लागि आवश्यक ऐन भएका कारण नगरसभामा प्रस्तुत हुने ऐन पास हुने हामीलाई विश्वास छ ।