स्थानीय तहबाटै श्रम स्वीकृति शुरू

दोधारा चाँदनी । कञ्चनपुरमा स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्न थालिएको छ । यहाँका बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले श्रम स्वीकृति प्रदान गर्न थालेका छन् । नगरपालिकाले वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएका हुन् । सोमबार भीमदत्त नगरपालिकाले दुईजना स्थानीयलाई श्रम स्वीकृत प्रदान गरेको छ । वडा –९ का आनन्द सिंह रावत र वडा नं ८ भवान सिंह भण्डारीलाई नगरको रोजगार सेवा केन्द्रमा आवेदन गरी श्रम स्वीकृति प्राप्त गरे । श्रम स्वीकृति लिनका लागि काठमाडौँ जानुपर्ने बाध्यता हटेको सेवाग्राही बताउँछन । ‘काठमाडौँ पुग्न बढी खर्चिलो झन्झटिलो हुन्थ्यो’, भीमदत्त नगरपालिकाका उप–प्रमुख नीलम लेखक जोशीले भने, ‘स्थानीय तहबाटै श्रमस्वीकृति पाउन थालेपछि धेरै नै सहज भएको छ ।’ पालिकाबाटै श्रम स्वीकृत आनन्द सिंह रावतले छिटो सेवा पाएकामा खुसी व्यक्त गरे । ‘पहिला श्रम स्वीकृत लिन काठमाडौँ जानुपर्ने, त्यहाँ आउँदा जाँदा धेरै खर्च हुन्थ्यो’, रावतले भने, ‘अहिले घर छेउबाटै छोटो समयमा सेवा लिन पाउँदा खुसी लागेको छ ।’ भीमदत्त नगरपालिकाका रोजगार संयोजक मीनबहादुर महराले सरकारले गरेको व्यवस्थाअनुसार स्थानीय तहबाटै सेवा सुरु गरिएको बताए । गत चैत १६ गते मन्त्रिस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो । ‘सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा जोडेको छ’, महराले भने, ‘विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रुपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ ।’ रासस

किसानले लिएको १५ लाखसम्मको कृषि ऋणको ब्याज तिर्दिन्छौं : मेयर बस्नेत

दक्षिणकाली नगरपालिकाका नगर प्रमुख हुन् मोहन बस्नेत । नगरपालिकाको प्रमुख भएर एक कार्यकाल बिताइसकेका बस्नेत ०७९ साल बैशाखमा भएको स्थानीय तहको निर्वाचनमार्फत दोस्रो पटक पनि थप लोकप्रिय मतका साथ विजय भएका थिए । दोस्रो पटक निर्वाचित भएका बस्नेतले थप एक वर्षको समय व्यतित गर्न लागेका छन् । पहिलो कार्यकालको अनुभव सहित उनी नगरपालिकाका योजनाहरुको कार्यान्वयनमा व्यस्त छन् । प्रस्तुत छ, उनै नगर प्रमुख बस्नेतसँग विकासन्युजका लागि राजिव न्यौपानेले समसामयिक विषयमा गरेको कुराकानीको सम्पादित अंश : तपाईं दोस्रो पटक नगरपालिकाको नेतृत्वमा आउनुभएको छ, दोस्रो कार्यकालसहित ६ वर्ष समयको दौरानमा सर्वसाधारणले अनुभूति गर्नेगरी कसरी काम गरिरहनुभएको छ ? हो, म दक्षिणकाली नगरपालिका नगर प्रमुखमा दोस्रो पटक निर्वाचित भएको पनि एक वर्ष पुरा हुन लाग्यो । पहिलो ५ वर्ष र यो एक वर्ष गरी पालिकामा निरन्तर सेवा गरेको ६ वर्ष हुँदैछ । यो अवधिभर हामीले निस्वार्थ रूपले जनताको चाहना र आवश्यकता लाई पुरा गर्दै अगाडि बढिरहेका छौं र जनताले अनुभूति गर्ने खालका काम पनि पालिकामा धेरै गरेका छौं । क्रमशः पूर्वाधार विकासको कामलाई पनि निरन्तरता दिएर अगाडि बढेका छौं । तपाईंहरुले पूर्वाधार विकासको क्षेत्रमा धेरै काम गरेको दाबी गरिरहँदा सडकको अवस्थाको विषयमा भने स्थानीयको गुनासो छ नी ? नगरपालिका भित्रका धेरै ठाउँका सडकहरू ढलान भइसकेका छन् । हामीले गाउँ–गाउँमा पुग्ने सडकहरूमा ढलान गरी सक्यौं । अहिले काठमाडौंदेखि दक्षिणकालीसम्म आउने सडक अव्यवस्थित भएको छ । सो सडकमा ठूला–ठूला खाल्डा परेका छन् । जसका कारण यात्रु र चालक दुबैलाई असर पुर्याएको छ । यस सडकको स्तारोन्नती गरी व्यवस्थित सडक बनाउ भन्ने हामी सबैको चाहना छ । यसलाई सम्वोधन गर्नको लागि संघ तथा प्रदेश सरकार लगायतका सरोकारवाला निकायहरूसँग पटक पटक छलफल गरेका छौं । अब भने काठमाडौं–दक्षिणकाली सडक कालोपत्रे हुने भएको छ । सो सडक पिच गर्नको लागि सडक विभागले १० करोड रुपैयाँ विनियोजन गरेको छ र सडक कालोपत्रे गर्ने ठेक्का प्रकृया पनि अगाडि बढिसकेको छ । सम्भवतः यही महिनादेखि कालोपत्रे गर्ने कामको सुरु हुन्छ । जसले आवत–जावतमा थप सहज हुने विश्वास लिएका छौं । यस्तै, दक्षिणकाली–हेटौंडा जाने सडक पनि कालोपत्रे हुने भएको छ । सो सडकमार्फत काठमाडौं–दक्षिणकाली मात्र हैन, काठमाडौं–दक्षिणकाली हुँदै दु्रत मार्ग भएर सहज तरिकाले हेटौंडासम्म पुग्न सकिन्छ । सो कामको लागि पनि बजेट विनियोजन भइसकेको छ । अहिलेसम्म नगर भित्रका प्रत्येक ठाउँमा सडक सञ्जाल पुगेको छ । एकै ठाउँमा ५०औं वटा सानातिना सडकहरु रहेका छन् । ती सडकहरुमा पनि ५÷१० लाख लाख रुपैयाँ बराबरका बजेट विनियोजन गरी ढलान गरिएको छ । हामीले नगर क्षेत्र भित्रका सबै सडकको ढलान गरी हिलो मुक्त सडक बनउने कोसिस गरिरहेका छौं । पहिलो कार्यकालमा सडकलाई व्यवस्थित गर्ने क्षेत्रमा धेरै काम गरेका थियौं । त्यसपछि निरन्तर गरेर व्यवस्थित सडकको विकास गर्दै अगाडि बढेका छौं । मैले विश्वासका साथ काम गरिरहेको छु की यो कार्यकालमा पालिका भित्रका सबै सडकहरु व्यवस्थित गर्न सकिनेछ । पालिकाले कृषि क्षेत्रमा वितरण गरेको अनुदानको प्रभावकारितामा उठेको प्रश्नलाई पनि कसरी लिनुभएको छ ? नगरपालिकाले कृषिमा दिएको अनुदान प्रभावकारी हुन सकेन भनेर गुनासो गर्ने पनि हामी नै हौं । अनि अनुदान दिने पनि हामी नै । हामीले दिएको अनुदानको सदुपयोग कतिले गरे भन्ने कुरामा पनि यसको भरपर्छ । हामीले मान्छेलाई अनुदानमुखी बनायौं भन्ने पनि लागेको छ । हामीले उत्पादनमुखी बनाउनमा अनुदान दिनु पर्नेमा अनुदानमुखी मात्र बनायौं । अनुदान प्राप्त हुनेबेलासम्म कृषकको चहलपहल हुने अनि अनुदान दिने र लिनेका काम सकिएपछि बाँकी काम ठप्प हुने जस्तो भएको छ । यस्तो नहोस् भनेर पालिका सचेत पनि भएको छ । हामीले दिएको अनुदानको सदुपयोग कृषकको घरपरिवार पनि चलोस् र आर्थिक वृद्धि गर्नमा पनि सहज होस् भन्ने नगरको चाहाना हो । किसानले उत्पादन गरेर आफ्नो घरपरिवारलाई जिउनको लागि केही काम गर्छ भने मात्र उसलाई अनुदान दिने परिपाटीको विकास यो वर्षदेखि सुरुवात गरेका छौं । जुन कृषकलाई अनुदान दिने हो, उसले उत्पादन गरेको देखिनु पर्यो र, यसपछि पनि उत्पादन गर्ने प्रतिबद्धता जनाउनु पर्यो । बिचमा हाम्रो अनुगमन हुने गरी अनुदान दिन सुरुवात गरेका छौं । अनुदान लिनका लागि मात्र बनेका कृषकलाई अनुदान दिदैनौं । दक्षिणकाली नगरपालिकाले कृषि क्षेत्रको विकासमा राम्रो सम्भावना बोकेको छ । पालिकाले कृषि क्षेत्रको विकासका निम्ति कसरी काम गरिरहेको छ ? नगरपालिका कृषिको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । सरकारको भू–उपयोग नीतिलाई वैज्ञानिक तरिकाबाट अवलम्बन गरी नगर भित्रका बस्ती मठमन्दिर, पानीका मुहान, विद्यालय आदि सबैलाई वर्गीकरण गरेर बाँकी रहेको जमिनलाई कृषि योग्य जमिन भनेर छुट्याएका छौं । हामीले बस्ती सँगसँगै कृषि क्षेत्रलाई प्राथमिकता दिएका छौं । हामीले नगरपालिकामा कृषिका विभिन्न कार्यक्रमहरू राखेका छौं । जसका कारण कृषकलाई कृषि उत्पादनमा थप सहज हुने आंकलन छ । हामीले किसानहरूलाई कृषि उत्पादनमा आधारित बैंक ब्याजमा अनुदान दिएका छौं । उक्त अनुदान मार्फत कृषकहरुले कृषिमा आधारित बैंक ऋण लिएर काम गर्न सक्छन् । जसको ब्याज नगरपालिकाले तिरिदिन्छ । कृषकले लिएको १५ लाख रुपैयाँसम्म ऋणको ब्याज नगरपालिकाले तिरिदिने व्यवस्था मिलाएका छौं, तर सावाँ भने किसान आँफैले तिर्नुपर्ने हुन्छ । यस्तै, किसानले लगाएको कृषिको बीमा पनि गरिदिने व्यवस्था मिलाएका छौं । किसानले उत्पादन गरेको सामाग्रीलाई सुरक्षित बनाउनको लागि बीमाको व्यवस्था मिलाएका हौं । किसानको लगाएको कृषिको बीमा लागेको शुल्क पालिकाले नै भुक्तान गर्ने व्यवस्था छ । त्यसका लागि बीमा कम्पनीलाई हप्ताको दुई दिन नगरपालिकामा आउने व्यवस्था पनि मिलाएका छौं । नेपाल सरकारले स्वास्थ्य बीमा बोर्ड अन्तर्गत ३५ सय रुपैयाँ स्वास्थ्य बीमा गर्दै आएको छ । हामीले नगरपालिका भित्र किसानहरूलाई एक हजार रुपैयाँ दिएर स्वास्थ्य बीमा गर्नको लागि दिएका छौं । उनीहरूले २५ सय रुपैयाँ थपेर स्वास्थ्य बीमा गर्न सक्छन् । किसानको स्वास्थ्य बीमा र उनीहरुलाई बैंकबाट ऋण पनि लिने लगायत आफ्नै ठाउँमा काम गर्नुपर्छ भनेर किसानहरूलाई उत्साहित गर्नको लागि नगरपालिकाले यस्ता कार्यक्रम ल्याएको हो । उत्पादन गरेर कहाँ बेच्ने भन्ने समस्या पनि छैन । त्यसका लागि हामीले नगरपालिका भित्र साप्ताहिक हाट बजारको पनि व्यवस्था मिलाएका छौं । साप्ताहिक रुपमा ठाउँ–ठाउँमा कृषि हाटबजार लाग्छ । हाम्रो छोरा, नाति विदेशमा जान एयरपोर्टमा पुर्याउन जानु पर्छ भन्ने दिनलाई घटाउनको लागि पनि यस्ता खालका कार्यक्रम ल्याएका हौं । तपाईंलाई थाहै छ, रोजगारीको सिलसिलामा युवा विदेश जाने लर्कोले आज गाउँ रित्तिँदै छ, के स्थानीय सरकारले युवाहरुलाई परिचालन गर्न नसकेर पनि यो अवस्था सिर्जना भएको हो ? यो हाम्रो मात्रै हैन देशकै एउटा ठूलो समस्या हो । आज मुलुकमा पहिलाको जस्तो प्रदेश जाने भन्ने चलन छैन । पहिला बाउबाजेहरु प्रदेश जाने भन्दै सातु चामल बोकेर जान्थे । आज विश्व प्रविधिमा अग्रणी भइसकेको छ । कहाँ के भइरहेको छ, घरमा नै बसेर हेर्न मिल्छ । त्यसैले १२ कक्षा पढेको विद्यार्थीले पनि विश्व बुझ्ने सक्ने अवस्था सिर्जना भएको छ । त्यसैले कहाँ जाँदा तत्काल प्रतिफल आउँछ भनेर उनीहरुले नै बुझ्न सक्छन् । देशमा नै अवसर सिर्जना गर्न नसक्नुले आज मूलक रित्तिँदै छ । उनीहरूले भित्र्याएको रेमिट्यान्सले नै आज देश चली रहेको छ । देश चलाउनको लागि भए पनि युवालाई विदेश पठाउनुपर्ने बाध्यताको सिर्जना भएको छ । मुलुक धान्न अब युवा विदेश पठाएर हुन्न भनेर हामीले यहाँ अवसरको सिर्जना गर्नेतर्फ लागेका छौं । युवालाई कन्भिन्स गर्न सक्यो भने चुनौतीलाई अवसरको रूपमा परिणत गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ रहेको छ । प्राविधिक शिक्षाको विकासको विषयलाई पालिकाले कसरी लिएको छ ? नगर प्राविधिक शिक्षातर्फ केन्द्रित छ । हामीले केही समय अगाडि सिटिइभिटीसँग समन्वय गरेर ६० जना विद्यार्थीलाई तालिम दियौं । उनीहरूलाई प्लम्बर, इलेक्ट्रोनिक र वाल लगाउने लगायतका तालिम दिएका हौं । विद्यार्थीलाई प्राविधिक तथा गुणस्तरीय शिक्षा दिनको लागि नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ । हामीले उहाँहरूलाई भनेका छौं, यो तालिम लिएर विदेश जानेलाई हैन, आफ्नै ठाउँ, आफ्नै देशमा काम गर्न लागि हो भनेर । तपाईंहरुले विद्यार्थी तथा युवालाई सिप मूलक तालिम दिँदै आएका छौं भन्नु भयो, तर दिएको तालिम प्रभावकारी हुन सकेको छैन भनेर गुनासो पनि छ । हामीले तालिम दियौं तर दिएको तालिमको डाटा राख्न सकेनौं । अनि उनीहरूले त्यो तालिम व्यवहारमा उतार्न सक्नु भयो कि भएन भनेर निरीक्षण गर्न सकेनौं । त्यसैले पनि हाम्रो तालिम फितलो भयो । तालिम तालिममा मात्र सीमित नहोस् भनेर हामीले तालिम दिएका जनशक्तिको डाटा वेबसाइटमा राख्न सुरु गरेका छौं । उहाँहरूको खाँचो हुना साथै बेलाएर अवसर दिनुपर्छ भनेर पनि यस सिस्टमको लागु गरेका हौं । अहिले स्थानीय तहहरूले अपेक्षा अनुसार राजस्व संकलन गर्न सकिरहेका छन् । यो पालिकाको अवस्था कस्तो छ ? हो, यो समस्या सबै पालिका छ । हाम्रो नगरपालिकामा पनि लक्ष्य अनुरूपको राजस्व संकलन गर्न सकिरहेका छैनौं । हामीलाई गत वर्ष मालपोतबाट ३७ करोड रुपैयाँ प्राप्त भएको थियो । यो वर्ष ५ करोड पनि राजस्व संकलन हुन सकेन । भनेपछि एउटै क्षेत्रबाट ३० करोड रुपैयाँ राजस्व कमि भयो । प्रदेश सरकारले पनि गत वर्षको तुलनामा अहिले एक चौथाइ पनि पैसा पठाएको छैन । संघीय सरकारले पठाउने अनुदानमा पनि २० प्रतिशत कटौति गरेको छ । हामीले नगरपालिकामा अनुमान गरेको राजस्व पनि संकलन गर्न सकेका छैनौं । त्यसैले यो समस्या हाम्रो पालिकामा पनि नभएको हैन । गत वर्षकै तुलनामा यस वर्ष पनि राजस्व संकलनको अपेक्षा गरेको थियौं । तर, राजस्व उठाउने लक्ष्य कागजी मात्रै भयो । राजस्व नै नउठे पछि के गर्ने ? गत वर्ष घर जग्गाको कारोबार थियो । यस वर्ष रोकियो, जसका कारण पनि राजस्व संकलनमा ह्रास आयो । त्यसैले हामीले कुनै पनि लक्ष्य यो वर्ष पुरा हुने अवस्थामा छैन । साना तथा मझौला उद्योग स्थापना तथा विस्तार गर्ने विषयमा पालिकाले कसरी काम गरिरहेको छ ? हाम्रो नगरपालिकामा ठूला उद्योग छैनन् । यहाँ साना तथा घरेलु उद्योग नै छन् । निकट भविष्यमा ठूला उद्योगको स्थापना होलान् । अहिले आर्थिक मन्दी छ, यो सबैलाई थाहा भएको नै कुरा हो । जसका कारण साना तथा ठूला उद्योगमा प्रत्यक्ष असर पुगेको छ । अहिलेको अवस्थामा आर्थिक असर नेपालीको चुलो–चुलोमा पुगेको अवस्था छ । यस्तो अवस्थामा स्थानीय तहले गर्न सक्ने काम हामीले गरिरहेका छौं । नगरपालिका भित्र साना उद्योगलाई प्रोत्साहन तथा सहयोग गर्ने कार्य सदैब जारी छ र, हामी घरेलु उद्योगको विस्तारमा सहयोग र स्थानीय उत्पादनको बजारीकरणमा नै लागिरहेका छौं । पालिकाको आर्थिक आम्दानी वृद्धिको लागि नगरपालिकाले कस्तो गृहकार्य गर्दै छ ? हाम्रो ध्यान नगरपालिको आर्थिक आम्दानी वृद्धि गर्नतर्फ पनि केन्द्रित छ । यसको लागि पालिकामा स्रोत निर्धारण समिति बनाएका छौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको योजनामा सो समिति नगरपालिकाको स्रोत निर्धारणको लागि बैठक बस्दैछ । सो बैठकमा हाम्रो आगामी लक्ष्य तथा पालिकाको स्रोतको वृद्धि गर्नका लागि गर्न सकिने विषयमा छलफल हुनेछन् । विगतका स्रोतलाई निरन्तरता दिन सक्यो भने पनि राम्रो हुन सक्छ भन्ने अपेक्षा छ । चालु आर्थिक वर्षको समय अब धेरै बाँकी छैन, तपाईंहरुले यस वर्ष नीति तथा कार्यक्रममा राखेका योजनाहरू कति सम्पन्न भए ? चालु आर्थिक वर्षमा पालिकाले अगाडि सारेका पूर्वाधार क्षेत्र तर्फका धेरै काम सम्पन्न भइसकेका छन् । धेरै योजनाहरू अगाडि बढेका छन् भने केही सम्पन्न हुने चरणमा छन् । हामीले यो वर्ष बजेटमा धेरै अनावश्यक कार्यक्रमहरू कटाएका पनि छौं । नगरपालिका भित्र पूर्वाधार क्षेत्रतर्फ उल्लेखनीय काम भएको छ । नीति तथा कार्यक्रमका योजनाहरू यति नै प्रतिशतमा सक्यौं भनेर भन्न सक्ने अवस्था चाहिँ अहिले नै छैन् । त्यसको लागि केहि समय प्रतिक्षा गर्नुपर्ने हुन्छ । अहिले संघियता खारेज गरौं प्रदेशको काम छैनन् भन्ने विषयमा बहस चली रहेको छ, साँच्चै प्रदेशको काम नभएको नै हो, यसमा तपाईंको धारणा के छ ? संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा जुन संविधानले दिएको जिम्मेवारी हो, त्यो जिम्मेवारी पुरा गर्ने हो भने प्रदेशको पनि खाँचो छ । समयमा नै काम सम्पादन गर्न सकिएन भने यो नगरपालिका पनि नभई दिए हुन्थ्यो भन्ने खालको कसैको मनमा लाग्न सक्छ । तर, कसैलाई पनि त्यस्तो अनुभूति नहुने गरी हामीले काम गर्नु पर्याे । त्यो प्रदेशले पनि गर्नु पर्यो अनि नगरपालिकाले पनि । काम राम्रोसँग सम्पादन गर्दै जानु पर्याे । एक दिन अवश्य प्रदेशको पनि आवश्यकता रहेछ भन्ने समय आउँछ । अन्त्यमा, नगरपालिका भित्र विकास निर्माण लगायतका काम गर्नको लागि तपाईंसँग अझै ४ वर्ष छ, आगामी दिनमा कसरी अगाडी बढ्ने सोच बनाउनु भएको छ ? हामी जनताको काम इमान्दारीपूर्वक गर्नको लागि निर्वाचित भएर आएका जनप्रतिनिधि हौं । नाम मात्र नगर प्रमुख तर काम भने जनताको सेवक हो । कमि कमजोरी भएको ठाउँलाई सच्याउँदै, जनताको आवश्यकतालाई मध्यनजर गर्दै काम गर्ने छौं । यहाँको जनताको काममा र सेवामा दिन रात खट्ने छौं ।

काठमाडौंका सडकमा धुवाँ आउने गरी सेकुवा पोल्न नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ । वायु प्रदूषण भएको भन्दै महानगरपालिकाले नगर प्रहरी मार्फत सडक र सडकपेटीमै धुँवा आउने गरी सेकुवा पोल्न रोक लगाउन सुरु गरेको हो । पुतलीसडक र सिनामंगल क्षेत्रमा अरुलाई असर गर्ने गरी सेकुवा पोल्न बन्द गर्न सचेत गरएको महानगरले जनाएको छ । महानगरले सचेत गराएपछि पनि सेकुवा पसलेले अरुलाई असर पर्नेगरी धुँवा निकाले कारवाही गर्ने बताएको छ ।