काठमाडौंको इच्छुमती नदीमा सफाइ सुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं २८ क्षेत्रमा पर्ने इच्छुमती (टुकुचा) नदी सफाइ गर्न सुरु गरेको छ । कमलादीबाट नेशनल ट्रेडिङसम्म सफाइ सुरु गरिएको हो । सफाइसँगै मन्त्रिपरिषद्को निर्णयअनुसार इच्छुमतीको दायाँबायाँ चार-चार मिटर खुला भाग छोड्नुपर्ने मापदण्ड कायम गराउन वडाले पहल सुरु गरेको वडासदस्य वीरेन्द्र महर्जनले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा यस क्षेत्रमा पर्ने इच्छुमती सफाइका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वडाले स्काभेटर लगाएर नदी सफाइ गर्नुका साथै नदी वरपरका रुख र बिरुवाले नदी छोप्न लागेकामा त्यसलाई काटेर सफा गरिएको वडासदस्य मनिष तण्डुकारले बताए । यस क्षेत्रमा पद्मकन्या क्याम्पस, शङ्करदेव क्याम्पस, समाज कल्याण परिषद्ले नदीको मापदण्ड मिचेर संरचना बनाएको वडा कार्यालयले जनाएको छ । इच्छुमती नदीको मापदण्ड पालनाका लागि महानगरसभामा पनि कुरा उठाउने वडाध्यक्ष भाइराम खड्गीले बताए । महानगरीय प्रहरी लगाएर भए पनि मापदण्ड कायम गराउन लागिपर्ने उनको प्रतिबद्धता छ । उच्च अदालत पाटनले इच्छुमतीलाई नदी नै हो भनी निर्णय गरेपछि यसको सफाइसँगै मापदण्ड पालना गराउन सुरु गरिएको महानगरपालिकाले जनाएको छ ।
रेनु दाहालले सुरु गरिन् केरुङ्गा खोलाको सीमाङ्कनको काम
भरतपुर । भरतपुरको केरुङ्गा खोलाको सीमाङ्कनको काम सुरु भएको छ । आज महानगरपालिकाको वडा नं ५ र ६ को सिमानाबाट सीमाङ्कनको काम सुरु गरिएको हो । खोला सीमाङ्कनको काम सुभारम्भ गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले सार्वजनिक जमिन संरक्षणको कामलाई निरन्तर अघि बढाएको बताइन् । उनले महानगरमा अतिक्रमित जमिनको संरक्षण गरिने भन्दै सबैको साथ र सहयोगको आवश्यकता रहेको बताइन् । ’सार्वजनिक जग्गामा बनेका अवैध संरचनाको पहिचान गरी हटाउने कार्यलाई महानगरपालिकाले प्राथामिकता राखेको छ’, महानगरप्रमुख दाहालले भनिन्, ’व्यक्ति विषेश वा संस्थाले ओगटेको सार्वजनिक सम्पत्तिलाई संरक्षण गर्न क्षेत्रगत समिति गठन भएको छ ।’ केरुङ्गा खोला संरक्षण समितिका संयोजक तथा उपप्रमुख चित्रसेन अधिकारीले वडा नं ११ देखि २४ को राप्ती नदीसम्म पुग्ने खोला ३० किलोमिटर लामो रहेको बताए । उनका अनुसार उक्त खोला वडा नं १२, ९, ८, ७, ६, ५, १४, २२ र २३ नं हुँदै बगेको छ । संयोजक अधिकारीले प्रक्रिया पूरा गरेर सार्वजनिक जमिनलाई संरक्षण गरिने बताए । हिउँदमा नारायणी लिफ्टको पानी नहरमा हालेर केरुङ्गामा डुङ्गा चलाउने योजना बनाइएको उपप्रमुख अधिकारीले बताए । खोलाको संरक्षण पश्चात यसको सौन्दर्यकरण गर्ने काममा लाग्ने उनको भनाइ छ । केरुङ्गा खोलाको सीमाङ्कनको कार्य निरन्तर अघि बढ्ने महानगरपालिकाका इन्जिनियर शिवहरि अधिकारीले बताए । ’केरुङ्गा खोलाको सौन्दर्यकरण तथा पूर्वाधार निर्माणका लागि १४ करोड रुपैयाँ विनियोजन भएको छ’, उनले भने, ’केरुङ्गा खोलाको गुरुयोजनाअनुसार यसको सौन्दर्यकरण गर्न तीन अर्ब रुपैयाँ बढी लाग्ने अनुमान गरिएको छ ।’ खोलामा डुङ्गा चलाउन मिल्ने गरी दाँयाबायाँ साइकल ट्र्याक र ठाउँ ठाउँमा पार्कसमेत निर्माण गरिने उनले जानकारी दिए । रासस
बजेटमा कृषि र सडकलाई प्राथमिकता
बैतडी । कृषि, स्वास्थ्य, सडक र शिक्षालाई प्राथमिकता दिँदै बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । नगरसभा तथा गाउँसभाबाट यहाँका नौ स्थानीय तहहरुको चार अर्ब ७३ करोड एक लाख बराबरको बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सडकलाई मुख्य प्राथमिकतामा राखेका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८२ करोड १७ लाख बराबरको बजेट ल्याएको छ । उपप्रमुख कौशिला चन्दले शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेको बताए । नगरको ढल निकास र स्वच्छ, सफा नगरपालिका सामाजिक विकास, सुशासनलगायतका क्षेत्रलाई बजेटमा समेटिएको छ । नगरपालिकाले पुँजीगततर्फ ११ करोड विनियोजन गरेको छ भने चालु खर्चतर्फ १३ करोड ४० लाख विनियोजन गरेको छ । यस्तै आर्थिक विकासतर्फ ७५ लाख विनियोजन गरेको नगरपालिकाले सामाजिक विकासतर्फ रु चार करोड ६० लाख र पूर्वाधार विकासतर्फ एक करोड ६६ लाख विनियोजन गरेको छ । नगरपालिकाले वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख विनियोजन गरेको छ । पुर्चौडी नगरपालिकाले रु ६४ करोड ५४ लाखको बजेट ल्याएको छ । पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ । उपप्रमुख मीना धानुकले सामाजिक विकास, पूर्वाधार, कृषि, शिक्षा स्वास्थ्यलाई र सुशासनलाई प्राथमकितामा राखेको बताए। पुर्चौडीमा सामाजिक विकासतर्फ आठ करोड ५० लाख, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख, सुशासन तथा संस्थागत विकासतर्फ नौ करोड, पूर्वाधार विकासतर्फ सात करोड र आर्थिक विकासतर्फ एक करोड विनियोजन गरिएको छ । यस्तै पाटन नगरपालिकाले ६३ करोड ५३ लाख बराबरको बजेट ल्याएको छ । बजेटमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेको नगर प्रमुख गौरिसिंह रावलले बताए । दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले प्रस्तुत गरेकाे ५१ करोड ४४ लाखको बजेटमा स्वास्थ्य, कृषि र सुशासनलाई प्राथमिकतामा राखिएको छ । उनले भने, ‘कृषि क्षेत्रलाई उत्पादनको प्रमुख क्षेत्रको रुपमा विकास गर्दै ‘अध्यक्ष नमुना कृषि गाउँ’ कार्यक्रम, ‘एक टोल एक उत्पादन’मा जोड दिएर उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने र उत्कृष्ट कृषकलाई पुरुस्कार दिने, शीतभण्डार निर्माण, कृषि बिउबिजन तथा मल केन्द्र स्थापना गरिनेछ ।’ यसैगरी मेलौली नगरपालिकाले ४९ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिकाले ४२ करोड आठ लाखको बजेट ल्याएको छ । सिगास गाउँपालिकाले केही नयाँ कार्यक्रमसहित पुराना कार्यक्रमलाई निरन्तरता दिएर ४३ करोड ८२ लाखको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ ३३ करोड ८९ लाख र पुँजीगततर्फ नौ करोड ९३ लाख बजेट विनियोजन गरिएको अध्यक्ष हरिसिंह धामीले बताए । उनले भने, ‘कृषि र सडकलाई मुख्य प्राथमिकता दिएर बजेट ल्याएका छौँ ।’ पञ्चेश्वर गाउँपालिकाले ३८ करोड ७४ लाखको बजेट ल्याएको छ । कृषि, स्वास्थ्य र बिजुलीलाई प्राथमिकतामा राख्दै बजेट गाउँसभामा पेश गरेको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिए । शिवनाथ गाउँपालिकाले ३६ करोड ३४ लाखको बजेट ल्याएको छ । बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । बैतडीमा चार नगरपालिका र छ गाउँपालिका छन् । डिलाशैनी गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा पेश गरेको छ भने बजेट ल्याउन बाँकी छ । यही असार १५ गते बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । रासस