उपत्यकाको विकास एकै पटक हुनुपर्छ : बालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको विकास एकै पटक हुनुपर्ने बताएका छन् । सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताए । उपत्यकाको विकास एकैपटक गर्नका लागि संघीय र स्थानीय कानून बाझिएका कारण असहज भएको बताए । संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानूनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरे । काठमाडौंको खोला अतिक्रमणमा सरकारले आवश्यक पहल गर्न आग्रह गरे । ‘काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका दुई वटा एक आपसमा परस्पर सम्बन्ध भएका महानगरपाकिला हुन्, त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकै पटक हुनुपर्छ, काठमाडौंमा खोला अतिक्रमण छ, ललितपुरमा छैन, काठमाडौंमा फुटपाथ अतिक्रमण छैन, कुनै अतिक्रमण स्थानीय तहले रोक्न सक्छौँ तर खोला अतिक्रमण सम्माननीय ज्युले चाहनुभयो भने अर्को कार्यक्रममा जान लाग्ने समयजतिमा समाधान हुन्छ, मेयरहरुले मात्रै सक्दैन, ललितपुरसँगै काठमाडौं पनि बराबर उज्यालो होस् त्यसैअनुसार बुझ्नुपर्छ’, उनले भने । प्रमुख साहले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताए ।

कोदो र फापर खेती गर्ने किसानलाई अनुदान

मनहरी । मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् । गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ । पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह गरे । भीमफेदीको एक हजार ६० रोपनी जग्गामा दुई सय ६६ किसानले कोदो खेती गरेको र त्यसबाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा कोदो उत्पादन बढाउन पालिकाले २० लाख अनुदानको व्यवस्था गरेको अध्यक्ष लामाले बताए । यो वर्ष अपेक्षाअनुसार मकै उत्पादन नभएकाले कोदोले त्यसको अभाव परिपूर्ति गर्ने उनले बताए । अनुदान पाएका किसान बाहेक पालिकाका अन्यले पनि कोदो खेती गर्दै आएका तथा भीमफेदीमा मात्र दुई हजार रोपनीभन्दा बढी क्षेत्रफलमा कोदो खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गाँउपालिकाले पालिका भित्र उत्पादित रैथाने बाली कोदो र फापरको न्युनतम समर्थन मूल्य पनि निर्धारण गरेको छ । गाउँपालिकाको आर्थिक विकास समितिको निर्णयअनुसार चालु आथिएक वर्षका लागि कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ५५ र फापर प्रति केजी एक सय निर्धारण गरिएको छ ।

३२ करोडमा बन्यो चाँगुनारायण नगरपालिकाको अत्याधुनिक भवन

भक्तपुर । चाँगुनारायण नगरपालिकाको नयाँ भवन सञ्चालनमा आएको छ। नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न भवनको शुक्रबार उद्घाटन गरेका हुन् । चाँगुनारायण नगरपालिका–५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा ३२ करोड ७३ लाख ७७ हजार आठ सय १९ मा निर्माण भएको हो । त्यस अवसरमा नगरप्रमुख खत्रीले नगरको विकासमा नयाँ भवनबाट नगरवासीलाई सेवा प्रवाह गर्न सहज हुने बताए । नयाँ भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरले तीन करोड, केन्द्र सरकारबाट सात करोड ५० लाख प्राप्त भएको र बाँकी रकम नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको थियो ।