धन्य भगवान् !
एकाबिहानै, निद्राबाट ब्युँझाएर आमाले भन्नु भो बाबु उठ, भगवान्को पूजा गर । तर खै ! म नदेखिने भगवान्को पूजा कसरी गरूँ…..।। यहाँ हजारौँ भगवान्हरू सडकमा छट्पटाउँदै रोइरहेछन् भोक,शोक र रोगले तिनको दयनीय स्थिति हेर्दै भगवान् म तँलाई महल र मन्दिरको उच्च आशनमा सजाएर के चढाऊँ ।। नित्सेले भनेझै तँ मरेकै होस् मलाई लाग्छ । नत्र दुःखीका कुरा नसुनी किन निर्दयी बनेर चुप बस्थिस् ।। भो, म तेरा लागि अबोध प्राणी अर्पण गर्दिन सुन्दर घुम्टो ओढाएर पुष्प गुञ्छा वर्षाउँदिन मेरा सफलता र सुखका निम्ति तँलाई घुस खुवाउँदिन ।। थाहा छ, मलाई अन्योलमा बाँच्न झैँ तँलाई पनि धेरै गाह्रो छ भगवान् बन्न दुःखी देख्छु तँलाई आजकल किनकि, तँ भन्न सक्दैनस् तिम्रा सफलताका निम्ति मलाई नपुकार रगतले नपोत नधुँवाऊ भनेर ।। पीडामा सम्झन्छन् पोख्छन् दुःख र पीडाहरू तँ स्थिर मूर्ति वा चित्र टुलुटुलु हेरी रहन्छस् अनि सुनी रहन्छस् कहिलेसम्म ? अब भनिदे सत्ययुगमा जसरी जनका मन रुवाएर मेरा पछि नलाग धर्मको अपव्याख्या गरी पण्डित्याइँ नगर नबस लाइन लागेर प्रतीक्षामा अनन्त र अमूर्त मेरा निम्ति ।। त्यो समय बरु कर्म गर आत्म विश्वासका साथ चेतना दे मान्छेलाई मान्छेका रूपमा हेर्न सिका प्राणी जगत्को कल्याण गर्ने विवेक दे धन्य भगवान् ! तँ बल्ल धन्य हुनेछस् ।। तारकेश्वर गापा १ दाङसिङ नुवाकोट
“मानवता हराएको मान्छे”
किन लोप हुँदैछन् आज सडकमा छापिएका पाइलाहरु, किन अस्तित्वमा छैनन् आज तिम्रो बचनका डोबहरु, घरको पप्पिले त राष्ट्रियता विर्षदैन स्वागत सजाउँछ पुच्छरको टुप्पोसँग, तिमी त मानवता जितेर कुर्सी रंगाएको मान्छे, किन सक्दैनौ मानवताको अस्तित्व जोगाउन ? एक्लो बच्चाझैं रोइरहेंछु म कुरीति रंगिएका पंचाजहरुसँग, तिमी त संस्कारी छु भन्थ्यौ धड्कन जोडिएका प्रेमीहरु झैं, ठूलो ऐनामा अनुहारको वास्तविकता टल्कदा छताछुल्ल भएको छ रहस्यको पर्दाफास, वास्तविकता अर्कै थियो हिजो आज नांगो आँखा टल्किएको छ, आजकाल तिमी अधुरो सपना देख्छौ रे ज्वाला दन्किएको सोफाको कुनाहरुमा, किन खेलाउँछौ मलाई अँध्यारो मैदानमा किन डस्छौ मलाई कोभ्राको नसामा, मेरो त रहर छेदन भएको आज नांगिएको छु समाजको अस्तित्वसँग, तिमीलाई प्रिय लाग्छन आँधिवेहरीका रातहरु छिद्रा छिद्रा भएका जीवनका साथहरु, म त निर्धा राँगाहरु झैं ट्रकमा खाँदिएको मान्छे, आफूलाई भाग्यमानी ठान्ने मुर्गाहरु झैं पैसाको मोलमा टाउको गिंडिएको मान्छे । बिराटनगर
भो नसुत डा. केसी ! (कविता)
भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ, के गर्छौ र डा. केसी तिम्रा शरिरका रौहरु पलपल गनि गनि लुटिन्छ यहाँ, तिमी नखाएर सुत्छौ त के भो यहाँ डकारेर सुत्नेहरुकै इज्जत छ, भो नसुत अब घुम्ने मेच माथी डा. केसी तिमी बलिको बोको बन्ने निश्चित छ, यो देशका काकाहरुलाई तिमी मरेकै मा फाइदा छ, भो नसुत अब निर्दाहरुको पक्षमा, उठ जुरुक्क डा. केसी जाउँ तिमी जनताको माझमा अनि उठाउ निमुखाले जीवन जीउने एजेण्डाहरु, तिमीलाई स्वागत गर्न पर्खिरहेछ गरिबको झुपडी, म गरिबको छोरो कसरी डाक्टर बन्न सकुँला र डा. केसी ? डाक्टर बन्न त धनीको कोखमा पो जन्म लिनु पर्छ हैन र ? तिम्रो इमानले यो देश चल्ने भए बेइमानले भिखारी बनेको कहाँ सुहाउँछ र यहाँ, भो नसुत डा. केसी तिम्रो इमानको खरानी दलिसके चण्ड मुण्डहरुले त्यो सुकिलो अनुहारमा, तिमी भीरको चिचिण्डो बन्नु अघिनै उठ जुरुक्क डाक्टर केसी शहरका भाग्यले ठगिएकाहरुलाई तिम्रो खाँचो छ, तिम्रो अस्तित्व मेटिदा गरिबको अस्तित्व अवश्य डग्मगाउने छ, तिमी उठेनौ भने म कसरी डाक्टर बनुँला र त्यसैले त तिमीलाई स्वागत गर्न पर्खिरहेछ गरिबको झुपडी । बिराटनगर