पृथ्वीनारायण एक कालजयी इतिहास !

२०६३ सालमा भर्खर भर्खर राजतन्त्रलाई ढालेको झोँकमा ‘पृथ्वी जयन्ती’ नमनाउने घोषणा भयो । ‘राष्ट्रिय एकता दिवस’ मनाउँदा राजावादी शासनलाई प्रश्रय दिएको प्रतीत हुन्छ भन्ने मथिङ्गल बोक्नेले एउटा कालजयी इतिहासलाई लत्याउने त्यो लज्जास्पद निर्णय गर्यो । आज नेपाल र नेपाली रहनुको कालजयी इतिहासलाई झिनो स्वार्थमा रम्नेहरूले चक्मा दिएको दुखद् अवस्था सिर्जना भएको छ । यसको अर्थ निरङ्कुश शासनलाई प्रश्रय दिइनुपर्छ भन्ने अर्थमा कदापि होइन । १७७९ मा जन्मेका मान्छेलाई २०७७ मा चर्चा गरिरहँदा त्यही समयको परिवेश र क्षणसँग हेर्नुपर्छ भन्ने बुद्धि अहिलेका हामी बौद्धिक भनाउँदामा पनि भएन । त्यसैले पृथ्वीनारायणको गरिमालाई आमाचकारी गाली गर्नेले नबुझेरै गाली गरे । जसरी मदनलाई बिर्सन सकिँदैन, जसरी वीपीलाई सम्झनुपर्छ त्यसैगरी राजा कि राष्ट्रनिर्माता भन्ने हल्ला मच्चाएर राष्ट्रनिर्माताको इतिहास लुक्दैन । विश्वमा अमेरिका, युरोप भनिएका विकसित क्षेत्रले गोर्खाली सान र स्वाभिमानलाई उँचो मान्छ । विनास होइन, क्रान्ति होइन बुद्धत्वको सिंगो सारलाई मनन गर्छ । इतिहासका पानामा पृथ्वीनारायणको दूरदर्शितालाई जाँच्छ । भारत र चीनलाई हिजो दुई ढुंगा र नेपाललाई तरुलको संज्ञा दिएर सचेतनाको गहन भाव त्यसै पोखेका होइनन्– पृथ्वीनारायणले । दिव्योपदेशका पानाभरि दिगो विकास र सुशासनमा जनताप्रेमको सुगन्ध छर्लङ्गै छ । हामी बडप्पनको लक्कु बोकेर देशको झन्डाभित्र पुर्खाको गरिमालाई गलहत्याउँदा लाज र डरै मान्दैनौँ तब कुतर्कले सत्यता किन छोप्नुपर्याे र ! भनिन्छ, इतिहास त जित्नेकै लेखिने हो । एडल्फ हिप्पोलिक टेनले साहित्यलाई ‘जाति, क्षण र पर्यावरण’ का आधारमा हेर्नुपर्ने अवधारणा राखेका छन् । इतिहासलाई पनि सोही समयको परिवेश, बाध्यता र त्यागसँग गाँसेर हेरिनुपर्ने हो । आज भनिरहिएको शान्ति र समृद्धिको जगमा जात व्यवस्थाबाहेक अन्य कमजोरीलाई धेरै खोतलेर पृथ्वीनारायणको महान् योगदानलाई भुल्नु पनि एकांगी आरोप हुनेछ । चन्द्रमा दाग देखिए जसरी उनमा खोट रह्यो तथापि नाककान काटेर अमानवीय व्यवहार देखाएको झोँकलाई माओवादी द्वन्द्वसँग जोडेर हेर्दा कुनचाहिँ एकीकरणका लागि र कुन खण्डीकरणका लागि भन्ने तर्क हुन सक्छ । राजनीतिक पूर्वाग्रह बोकेर दुस्मनी साँध्ने र जन्मदिने बाबाआमालाई कैदी बनाएर शासन गर्ने कंश बुद्धि वर्तमान राजनीतिमा प्रष्ट छ । लेखक हामीले पढ्दै आएका छौँ– नेल्सन मन्डेलाले पनि विद्रोह गरे तर कालाजातिलाई मात्रै एकोहोर्याएनन् बरु सबैलाई मानवीय सद्भाव र सम्मान गरे । यस मानेमा संसारमा आज पनि त्यो एक नाम उदाहरणीय छ । जनआन्दोलन केका लागि हो र पृथ्वीनारायण को हुन् भन्ने विषयमा बहस गर्नुपूर्व आफ्नै अग्रज आमाबाबा, हजुरबालाई सम्झे पुगिहाल्छ । हिजो सालिक तोडेर उपद्रो मच्चाउनेलाई इतिहासको गरिमा र राष्ट्रभक्ति थाहा भएन । कसैको उक्साहटको मुङ्ग्रे बलले वितण्डा मच्चाउनेले एकताको सिको गरेको भए सायद समाज परिवर्तनको गाडी निकै अघि दगुरिसक्थ्यो होला । तर, त्यसो भएन । केवल अर्काका सिद्धान्त प्यारा भए । आफ्नी आमाको गालामा भएको खोट बोकेर अर्काकी आमाको आचरणै थाहा नहुनेले गल्र्याम्म अँगालो हाल्न पुगेको देखियो । त्यहाँ राष्ट्रप्रेमको मियो नै स्वार्थको आडमा जटित हुन पुग्यो । वर्तमान राजनीतिमा कम्युनिस्ट समाजवादको नारा स्वार्थको कित्तामा खण्डीकृत छ । खेलेर ऐह्रा मृग एक मारी बाँडी कलेजो जति छन् शिकारी बिलो लिएझै शरमा उनेर यो राज्य बाँड्ने चिज हैन हेर । – राष्ट्रकवि माधवप्रसाद घिमिरे राष्ट्रिय एकता दिवस कुनै पार्टी, राजतन्त्रको वकालत गर्ने वा कुनै शासन पद्धतिलाई पक्षपोषण गर्ने पाटोबाट एक, दुई जनाको नेतृत्वभित्र खुम्चिएको संकीर्णतावादी आवाज होइन । यो सिंगो नेपालको कालजयी इतिहासको मेरुदण्ड हो । अलिकति राष्ट्रकविको मर्मतिर ध्यान दिँदा सत्यता नियाल्छु मः यो राज्य लिन्छौँ जुन आज अंश बाँड्दै र चुँड्दै अनि वंश वंश …………………… विशाल नेपाल म रच्छु रच्छु कहाँ छ मृत्युञ्जयलाई मृत्यु ! – राष्ट्रकवि माधवप्रसाद घिमिरे दलमर्दनको सोचलाई पृथ्वीनारायणको महानताले बोध गराउँछ । उनमा भएको दूरदर्शिता र निःस्वार्थताले राष्ट्रिय स्वार्थलाई बोल्छ ! ‘देशका महाजनलाई गोड प्रसाहदेखि उँभो आउन नदिनु । देशका महाजन हाम्रा मुलुकमा लाया भन्या दुनिया कंगाल गरी छाड्छन्’ दिव्योपदेशभित्र देशप्रेम छैन र ! युद्धको डोरो र रक्तपात होस्– आज त नेपाली एकतामा व्यक्ति, सम्प्रदाय र जातिको संकीर्णता थोपरिएका छन् । सार्वभौकिताका कुरा गर्दै भ्रष्ट चरित्रले केवल आडम्बर पस्कँदा राष्ट्रिय स्वाधिनता र स्वाभिमानमा प्रहार हुन्छ । नेपाली मनलाई नियाल्दा सायदैले सोच्लान्– ‘म अब पृथ्वीनारायणको योगदान भुल्न सक्छु ।’ एक दिनका लागि मात्र पनि उसको नाम लिनलाई भारी लाग्छ । यो देशले इतिहासलाई कसरी सम्मान गर्ला ? राष्ट्रकविले आफ्नो राष्ट्रियताको मर्मस्पर्शी खण्डकाव्यभित्र पृथ्वीनारायणको राष्ट्रिय भावनालाई जगाएका छन् । भाइ दलमर्दन शाहको सोचभित्र घुसेको व्यक्तिवादितामा सङ्कीर्णता स्पष्ट भेटिन्छः माटो जहाँको मुटुले छुँदैन त्यहाँ हरि या ममता हुँदैन कोरल्छ चल्ला त्यति मात्र पोथी न्यानो भुवाले जति सक्छ छोपी । पृथ्वीनारायणले भाइको वचनलाई नमान्नु राष्ट्रिय स्वार्थ हो । केवल खिचातानी, संक्रमण र अन्योलको घनचक्करमा देश सधैँ रुमल्लिरहँदा नेपाली र नयाँ नेपाललाई भौतिक उन्नतिमा लगेर साँघुर्याइएको आभास हुन्छ । आधुनिक नेपालको मानचित्र बदल्ने ऐतिहासिक अभियानको प्रारम्भिक इतिहासलाई वि.सं. १८०१ मा प्राप्त नुवाकोटको विजयले आरम्भ गर्यो । तत्कालीन छिमेकी देश लमजुङ र कास्कीसँग मित्रताको हात फैलाउँदै हातहतियार तथा सैनिक सुधार गर्ने रणनीतिको सबल प्रयास थियो– नुवाकोटमाथिको विजय । मकवानपुर विजय, कीर्तिपुरसँग तेस्रो पटकको प्रयासबाट मात्रै जालझेबाट प्राप्त विजय होस् या मिरसिक्का अभियानमा देखाइएको वीरता आखिर त्यहाँ गोर्खाली सान र स्वाभिमानको इतिहास छ । कीर्तिपुरको युद्धमा काजी कालु पाण्डेजस्ता शूरवीर व्यक्ति मारिए, जयन्त रानाले निर्मम रुपमा छाला काढिएर मर्नुपर्यो, शूरप्रतापले कानो हुनुपर्यो, इतिहासले यही क्रोधाग्निको प्रतिकारमा पृथ्वीनारायणद्वारा धेरैको नाक कान काटेर बदला लिएको घटनालाई बोले पनि इतिहासकारहरूको मतमा यी नेपालबाट निस्कासित क्रिस्चियन पादरीहरूद्वारा गरिएको अपव्याख्या थियो । उपत्यकाबाट अंग्रेजको राजनैतिक कुचाला लघारियो । उपत्यकासँगै पूर्वका सेन राज्य चौदण्डी र विजयपुर क्षेत्र नेपालमा गाभियो । फलतः किरात र लिम्बूवान् प्रदेशका राजाले गोर्खाली झण्डामुनि एकै साथ बस्ने अपेक्षा बोकेर आत्मसमर्पण गरे । तबदेखि ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन । सबै जातको पूmलबारी हो’ भन्ने महान् अभिव्यक्तिसँग हामीले स्वाभिमानको उच्चतामा रम्न पाइरहेका छौँ । सैनिकले कदर पाए । कालु पाण्डे, कीर्ति शाह, तुलाराम पाण्डे, रामकृष्ण कुँवर, केहरसिंहजस्ता योद्धाले यो संग्रामको महायज्ञमा दिलो ज्यान दिए, एकीकरणको सपना साकार पार्नका निम्ति कसुर छाडेनन् । २६ वर्षसम्म अनवरत युद्धभूमिमा होमिएका एक पुर्खाको जीवनीसँग नेपाली माटोको अटुट नाता छ । उनका “प्रजा योग्य भए दरबार बलियो हुन्छ । जनताले मन पराएको व्यक्तिलाई काजी दिनुपर्छ” भन्ने भावसँग राष्ट्रिय एकता मुखर हुन्छ । आज संसारको एउटा बिन्दुमा नेपाल नामक देश पनि छ किनकि यहाँ पृथ्वीनारायणको एकीकरण र दूरदर्शी पौरखको गर्विलो विगत छ । उनका सामाजिक, न्यायिक नीतिसँग विज्ञानको जादु छ । २६ वर्षसम्म अनवरत युद्धभूमिमा होमिएका एक पुर्खाको जीवनीसँग नेपाली माटोको अटुट नाता छ । उनका “प्रजा योग्य भए दरबार बलियो हुन्छ । जनताले मन पराएको व्यक्तिलाई काजी दिनुपर्छ” भन्ने भावसँग राष्ट्रिय एकता मुखर हुन्छ । आज संसारको एउटा बिन्दुमा नेपाल नामक देश पनि छ किनकि यहाँ पृथ्वीनारायणको एकीकरण र दूरदर्शी पौरखको गर्विलो विगत छ । उनका सामाजिक, न्यायिक नीतिसँग विज्ञानको जादु छ । स–साना राज्यलाई एक्लैले डोल्याएपछि अंग्रेजको सपनामा भेलबाढी आयो त्यसैले त आज हामी छौँ । त्यसैले त एकीकरणका भावसँग कवि सुवानन्द दासको कवित्व पोतियो – नेपालको सिनकि लुटि मंरातको घिउले भुटि पालपाको ल्याउ हिंग जिरो, रिसिंगको ल्याउ पिरो तनहुँको भातसित भीर्कोटको दालसित कन्चन कचौराभरि स्वर्णका थलियाभरि अष्टदल चौकी बसि गंगाजल झारिभरि पुरव मुहडा गरि महाराजको जिउनार बनाउ है । घुस लिने र दिने दुवैलाई कठघारामा उभ्याइनु, जात विशेषले कर्म गर्न पाउने स्वतन्त्रता पाउनु, अदालतको पैसालाई दरबारमा हुल्न नचाहनु अनि जोगी, साधु, गरिबप्रतिको आदरभावले आसन पाउनुमा मानवता, स्वतन्त्रता, समानता र एकताको मधुर आवाज स्वतः गुञ्जिन्छ । कृषि विकासको सपना– ‘राम्रो जमिनको घर सारेर खेती गर्नुपर्ने’, स्वदेशी कपडा लगाउने सद्प्रेरणामा र अंग्रेजको कालो नीतिको चर्को विरोधी भाव, राष्ट्रिय स्वाधिनतामा, जडीबुटी बेचेर पैसा साट्ने, खानी सदुपयोग गर्ने सबै आत्मनिर्भरताका दूरदर्शी भाव उच्छ्वलन हुन् । किल्लालाई दह्रो बनाउने भावमा परराष्ट्रको कुटनीति– ‘जाइकटक नगर्नु झिकीकटक गर्नु’, ‘चीनको वादशाहसँग छाहा राख्नु दक्षिणको वादशाहसँग घाहा (घाउ) त राख्नु तर त्यो महाचतुर छ’ भन्ने उक्तिभित्र राज्य र सीमारक्षाबाट सैनिक सबलता पोखिनुमा कलात्मकता छ । ‘सैनिकलाई नुनको पछि नलगाउनु किनकि राजाको सार भनेको सिपाही र रैती हुन्’ भन्ने रामराज्यको आदर्श राजधर्म झल्किन्छ । अमूल्य दिव्यापदेश तथा उपदेशले भरिएको पृथ्वीनारायणको वाणी शक्तिले राष्ट्रिय एकताको खम्बा गाडेको इतिहास कालजयी छ । पारिन्छ सत्ता जब खण्ड खण्ड रहन्छ के राष्ट्र त्यहाँ अखण्ड थुत्तिन्छ पत्ता जब खात खात सिद्धिन्छ शोभा अनि फूलबाट । राष्ट्रकविले कवित्व भावमा ऐतिहासिक गाथामा राष्ट्रिय गौरवको अखण्ड, सुन्दर र सिंगो नेपाल निर्माणको योगदानलाई उरालेका छन् । चन्द्र सूर्य अङ्कित नेपाली झन्डाको अस्तित्व अटल रहनुको देन पृथ्वीनारायणलाई जान्छ भन्दा अत्युक्ति नहोला । बुद्धको बुद्धत्वमा शालीन शान्तिको दीप जलोस् या पृथ्वीनारायणसँग गाँसिएको वीर गोर्खालीको इतिहास– नेपालीपन शान्ति र क्रान्तिको आफ्नै पाटामा जीवन्त छ । पूर्वदेखि पश्चिमसम्मका ठूला देशले वीर गोर्खालीलाई किन चिन्छन् ? पृथ्वीनारायण कसरी राष्ट्रनिर्माता बन्न सक्दैनन् र ! यो देशको कीर्ति परदेशसम्म पुर्याउन बहादुरी पस्कने पृथ्वीनारायणको पसिना र रगतको बलिदानीलाई स्वाभिमानी देशले सदैव सम्मान गर्न जान्नुपर्छ । [email protected]

कलेज पढ्दै गर्दा दिपेशको दिमागमा फुरेको ‘थुप्रै’ जुक्ति, पुस्तक व्यापारलाई यसरी जोड्यो प्रविधिसँग

काठमाडौं । पुस्तकको पारखी हुनुहुन्छ, तर पुस्तक पसलसम्म जान झन्झट लाग्छ ? यस्तो अवस्थामा बिना झन्झट तपाईंका रोजाईका पुस्तक हातैमा ल्याइदिने छ ‘थुप्रै’ ले । त्यो पनि एउटा फोनको घन्टी र एक क्लिकको भरमा । सन् २०१९ को फ्रेब्रुअरीबाट सञ्चालनमा इ–कमर्स वेवसाइट ‘थुप्रै’ ले पुस्तकसँगै इ–बुकको सेवा प्रदान गर्दै आएको छ । फोन, सामाजिक सञ्जाल र ‘थुप्रै’ को वेवसाइटका माध्यमबाट आफूलाई आवश्यक परेको किताब अर्डर गर्न सकिन्छ । ‘थुप्रै’ को क्याट्लगमा नयाँ तथा पुराना गरेर ३ हजार पुस्तकको लिस्ट छ । त्यसमा २ हजार ५ सय अहिले उपलब्ध छन् । खुलेको २ वर्ष पुग्नै लाग्दा थुप्रै पाठकहरुको मन जित्दै ‘थुप्रैै’ फैलिदैछ । नेपालका कुना–काप्चादेखि विदेशमा रहेका नेपाली पाठकहरुलाई इ–बुकको सेवा दिदै आएको छ । ‘थुप्रैै’ को एप्स आइओएस र एन्ड्रोइड गरेर दुबै अहिलेसम्म ४० हजार बढी डाउनलोड भइकेको छ । इ–कमर्स वेवसाइट ‘थुप्रैै’ को कथा रोचक छ । भनिमण्डल, ललितपुरका दीपेश आचार्य कलेज पढ्दा कोर्ष बाहिरका पुस्तक पढ्नमा रुची राख्थे । विशेषगरी नन्–फिक्सनमा रुची राख्ने दिपेशले चाहेकै बेला पुस्तक किन्न पाउ“दैनथे । बजार जाँदा मोटरसाइकल पार्किङ नपाएर अर्को समस्या झेल्नुपथ्र्यो । उनले यसको विकल्पबारे सोच्न थाले । त्यो बेला नगन्य मात्रामा इ–कमर्स साइट थिए । भएकाहरुले पनि अंग्रेजी पुस्तक मात्रै डेलिभरी गर्थे । हरेक समस्यालाई अवसरमा परिणत गर्न सकिन्छ भन्ने कुरालाई दिपेशले व्यवहारमै उतारिदिए । आफूले भोगेको समस्या अरूले भोग्न नपरोस् भन्ने उनको चाहना त छँदै थियो, सँगै यो क्षेत्रमा व्यापार पनि गर्न सकिन्छ कि भनेर उनी अर्काे खोजीमा लागेका थिए । दिपेशको त्यो कदममा कलेजकै साथी खोले सिमल, चितवनका राजु गोतामले साथ दिए । दीपेश र राजुको चिनजान बालकुमारीस्थित एनसीआईटी कलेजमा पढ्दा भएको थियो । सन् २००८ मा भेटिएका दुई साथी पछि गएर व्यापारिक साझेदार बन्न पुगे । ‘हाम्रो कुरा मिल्थ्यो, सफ्टवेयर र संगीतमा दुबैको रुची उस्तै, दुबै जना फुटबल खेल्ने, हेर्ने गथ्र्यौं, त्यो बेला हाम्रो रुची नमिलेको भए यहाँसम्म आइपुगिदैनथ्यो,’ राजुले सम्झिए । पाल्पामा जन्मिएका, भैरहवामा हुर्किएका र कलेज जीवन काठमाडौंमा बिताएका दीपेश र चितवनका राजु कम्प्युटर, प्रोडक्टमा रुची राख्छन् । नेपालमै त्यो पनि सूचना तथा प्रविधि क्षेत्रमै अझ प्रष्ट रुपमा भन्ने हो भने सफ्टवेयर डेभलपमेन्टमा काम गर्ने चाहना थियो दुबैको । आफ्नो सपना पूरा गर्न उनीहरुले सन् २०१३ मा एउटा कम्पनी खोले । अकोर्ड सोलुसन्स नामको त्यो कम्पनीमा सुरुमा दिपेश एक्लै थिए । पछि कलेजका साथी अमूल्य आचार्यसँगै राजु पनि जोडिए । क्रमशः १५ जना स्टाफ पुगे । त्यहीबीच दिपेशको मनमा पुस्तकको व्यापार गर्ने सोच आयो । छोटो र सजिलो नाम खोज्दै जाँदा नाम जुऱ्यो, ‘थुप्रैै’ । जुन थुप्रै सोलुसन्स प्राली अन्तरगत सञ्चालन हुने गर्छ । पहिल्यै कम्पनी खोलिसकेकोले सबै कुराको सेटअप छदैं थियो । नयाँ सामानहरु किन्नु पर्ने आवश्यकता थिएन । देश, विदेशमा कसले कसरी अनलाइनबाटै पुस्तकको व्यापार गरिरहेका छन् ? सफल र असफल दुबै खाले उदाहरणबारे प्रशस्त अध्ययन, अनुसन्धान गरे । ‘सफल कथाले पाठ सिकाउँछ, असफल कथाले त्यो बाटोमा नजाऔं भन्ने ज्ञान दिन्छ,’ राजुले सम्झिए । सुरुमा थुप्रैमा १० लाख रुपैंयाँको लगानी भएको थियो । अहिले वेबसाइट, एप्स, अडियो, इ–बुक, डेभिलरी एप्स निमार्णको खर्च जोडेर ५० लाख रुपैंयाँ लगानी पुगिसकेको छ । यसैका लागि मात्र स्टाफको संख्या पनि ८ पुगिसकेको छ । काठमाडौंको बुद्धनगरमा कार्यालय राखेर सुरु भएको थियो थुप्रै । ‘सुरु सुरुमा त दुबै जना पुस्तक डेलिभरीमा पनि हिड्यौं, हामीसँग सिमित स्रोत साधन थियो, स्टाफले नभ्याउँदा आफै पनि डेलिभरीमा गयौं,’ लजालु, कम बोल्ने स्वभावका राजुले सुनाए । थुप्रैले ब्राण्ड स्थापित गर्नका लागि सांगितिक कार्यक्रम, नाटक र कन्सर्टका लागि इ–टिकेट पनि उपलब्ध गराउँदै आएको छ । ‘अहिले त नामै नसुनिएका पुस्तकहरुको पनि अर्डर आउँछ, जुन प्रकाशन हुनै छाडेका हुन्छन्,’ दिपेशले भने । नयाँ ग्राहक बनाउँन र कम्पनी चलाउन सुरुमा निकै छुट पनि दिए उनीहरुले । डेलिभरी गर्ने एक जना स्टाफ भएकोले सबैतिर पुग्न गा¥हो थियो । सोसल मिडियामा प्रशस्त मार्केटिङ गरियो । यो व्यवसायमा उनीहरु रमाउदै गए । सञ्चालक दीपेशका अनुसार सोसल मिडियाबाट, (फेसबुक, ट्वीटर, इन्स्टाग्राम) फोन, वेवसाइट र मोबाइल एप्सबाट अहिले दैनिक रुपमा झण्डै ३० वटा अर्डर आउने गरेको छ । लकडाउनमा इ–बुक पनि राम्रो अर्डर आयो । एप्समै पढ्न मिल्ने इ–बुक डाउनलोड पनि गर्न मिल्छ । तर, अरुलाई पठाउन मिल्दैन । यो हार्डकपी भन्दा सस्तो पनि हुन्छ । पुस्तकको सबैभन्दा राम्रो कारोबार हुने समय भनेको दशैं अगाडीको समय हो । यसपाली भदौ, अशोजमा मात्रै ३ सय किताब बेचेको सह–सञ्चालक राजुले बताए । उनका अनुसार लकडाउनमा पनि पुस्तकको राम्रो कारोबार भयो । ‘थुप्रैै’ को मासिक कारोबार कति हुन्छ ? ‘हाम्रो कारोबार एकाउन्टिङ सफ्ट्वेयरमै हुन्छ । दुबै कम्पनीको यति नै भनेर हिसाब गरिएको छैन,’ दीपेशले ‘व्यवसायिक’ जवाफ फर्काए । अब अडियो बुकमा पनि थुप्रै सोलुसन्सले अब पुस्तकहरु अडियो भर्सनमा पनि उपलब्ध गराउने छ । पढ्नभन्दा सुन्नमा रुचि राख्नेका लागि अडियो भर्सन ल्याउन लागिएको हो । ‘गत डिसेम्बरमै रिलिज गर्ने योजना थियो, अब आधिकारिक रुपमा हामी यो काम गर्छौं,’ दिपेशले योजना सुनाए । सुरुवातमा २० वटा जति चर्चित र लोकप्रिय किताब अडियो किताबका रुपमा उलब्ध हुनेछन् । एप्समा एउटा बेग्लै सेक्सन हुनेछ जहाँ फिजिकल, इ–बुक र अडियो बुक उपलब्ध हुनेछ । केही अघि सुजिव शाक्यको अर्थात परिवर्तन किताब इ–बुक र अडियो पनि उपलब्ध गराएको थियो । लेखकले नै वाचन गरेका अडियो बुकमा उपलब्ध छ । कम्पनीले इ–बुकमा उपलब्ध किताबलाई नै अडियो बुकमा लैजाने तयारी गरेको छ । यसमा नेपालय, सांग्रिला प्रकाशन, कथालय, किताब पब्लिसर्स जस्ता प्रकाशन गृहका धेरै किताबहरु छन् ।

राष्ट्रिय कविता महोत्सवमा नुवाकोटकी भैरवी भूगोल प्रथम   

काठमाडौँ । राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोल प्रथम भएका छन् । उनको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको हो । यस्तै लमजुङका प्रज्वल अधिकारीको कविता ‘सङ्कल्प’ ले द्वितीय स्थान हासिल गरेको छ । सोलुखुम्वुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईँको ‘समृद्ध नेपालको सपना’ कविता तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३० हजार प्रदान गरिने छ । प्रतियोगितामा सहभागी ५०२ कवितामध्ये उत्कृष्ट ३० कवितालाई प्रतिस्पर्धाका लागि छनोट गरिएको प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवं सञ्चार संयोजक शशी लुमुम्बूले बताइन् । कविता प्रतियोगिताका निर्णायकमा डा हेमनाथ पौडेल, स्नेह सायमी र प्रभा भट्टराई रहेका थिए । महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्दै कविता महोत्सवले साहित्यप्रतिको आकर्षण र महत्वलाई उजागर गर्ने बताए । उनले यस खालका कार्यक्रमले ओझेलमा परेका प्रतिभालाई प्रस्फूटन गर्न सहयोग पुर्याउने धारणा राखे । कला, साहित्य र संस्कृतिको विकासले अन्य क्षेत्रको विकासका लागि पनि सहयोग पुर्याउने मन्त्री भट्टराईले उल्लेख गरे । सो अवसरमा मन्त्री भट्टराईले राष्ट्रिय कविता महोत्सवमा २०४६ देखि २०७६ सम्मका पुरस्कृत कविताको सङ्ग्रहको विमोचन तथा विभिन्न कर्मचारीलाई प्रज्ञा दीर्घ सेवा र प्रज्ञासेवा पदक प्रदान गरे । प्रज्ञा (प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ, सदस्यसचिव जगतप्रसाद उपाध्यायले मन्तव्य राखेका थिए ।