तीन वर्षमा तीन पटक म्याद थप : स्वास्थ्य चौकी भवन अधुरै

बागलुङ । एक वर्षभित्र सक्नेगरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकीको भवन तीन वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन । साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको बागलुङ नगरपालिका–१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीको भवन कहिले सम्पन्न हुन्छ भन्ने अझै टुङ्गो लाग्न सकेको छैन । निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तकीका कारण तीन वर्ष बित्दासमेत भवन निर्माण अधुरै छ । अहिले उक्त भवन ढलान र पर्खालको काम मात्रै सकिएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा निर्माण थालिएको भवन अझै सम्पन्न नभएको बागलुङ नगरपालिकाले जनाएको छ । २०७९ साल माघ ६ गते एक वर्षमा सक्ने गरी निर्माण थालेको भवन अझै सम्पन्न हुन नसकेको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिए । उनका अनुसार दुई पटक थपेको म्यादसमेत अहिले सकिएकाले भवन निर्माणमा अझै अन्योलता छाएको छ । 'एक वर्षमा सकिने भवन तीन वर्षमा सकिएको छैन, दुई पटकसम्म थपेको म्यादसमेत कात्तिक मसान्तमा सकिएको छ, भवनमा प्लाष्टरको काम अझै सकिएको छैन, तिहार यता कामदार भवनमा देखिएका छैनन्' घर्तीले भने, 'भवन समयमा नबन्दा ठेक्का तोड्ने वा म्याद थप्ने विषयमा छलफल भइरहेको छ, नगरपालिकाले निर्माण व्यवसायीलाई धरौटी जफत गरेर भएपनि सम्पन्न गर्ने योजनामा छ ।' भवन निर्माणका लागि दोस्रो पटक थप गरिएको म्यादसमेत कात्तिक मसान्तमा सकिएको छ । निर्माण व्यवसायी डिएनप्रसाद जेभीसँग एक करोड ८२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माण व्यवसायीले थोरै कामदार परिचालन गर्ने, सम्पर्क बिहिन हुने लगायतका कारण भवन समयमै बन्न नसकेको हो । नगरपालिकाकै नमुना स्वास्थ्य चौकीको रुपमा रहेको नारायणस्थान स्वास्थ्य चौकी अहिले साँघुरो भवनबाट सेवा प्रभाह भइरहेको स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माले जानकारी दिए । भवन सम्पन्न भए गुणस्तरीय सेवा प्रभाह गर्न सहज हुने उनको भनाइ छ । जनताले चन्दा उठाएर २१ लाख रुपैयाँ संकलन गरी स्वास्थ्य चौकीको नाममा जग्गा खरिद गरेर भवन निर्माणका लागि काम थालेपनि समयमा भवन नबन्दा सेवा प्रवाहमा समस्या भएको शर्माले बताए । रासस

काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा

काठमाडौं । काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको छ ।  ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय, काठमाडौंले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको सुभारम्भ गरे ।  सडक डिभिजन कार्यालय, काठमाडौंको कार्यक्षेत्रमा पर्ने काठमाडौं जिल्लाभित्रका सामरिक महत्वका सडक तत्काल मर्मत गर्नका लागि एम्बुलेन्स प्रयोगमा ल्याइनेछ ।  त्यस्तै, सडकमा देखिएका खाल्डाखुल्डीको तत्काल जानकारी दिइ मर्मत अगाडि बढाउन मोवाइल एप्स् पनि सञ्चालनमा ल्याइएको छ । जसमा खाल्डोको अवस्थाको तत्काल फोटो खिची अपलोड गर्न सकिने व्यवस्था र मर्मतपछि त्यसको अद्यावधिक विवरण राख्न सकिनेछ ।  कार्यक्रममा मन्त्री घिसिङले सडक एम्बुलेन्स नेपालमा नमुनाका रुपमा प्रयोगमा ल्याइएको उल्लेख गर्दै त्यसलाई अन्य मुख्य शहरमा पनि विस्तार गरी सडक मर्मतसम्भारमा आउने गुनासोलाई सम्बोधन गरिने बताए ।  विकसित देशमा जस्तै अत्याधुनिक उपकरण जडान गरी सडक मर्मतको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाइनु पर्नेमा उनले जोड दिए ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले सडक एम्बुलेन्सको प्रयोगले सडक मर्मतका विषयमा आउने गुनासोलाई तत्काल सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सडक मर्मत कार्यलाई प्रभावकारी  तथा पारदर्शी बनाउन एम्बुलेन्सले सहयोग गर्ने बताए ।  सडक डिभिजन काठमाडौंका प्रमुख सुवोध कुमार देवकोटाले एम्बुलेन्सको प्रयोगबाट ३६५ दिन र २४सै घण्टा तयारी अवस्थामा रहने, सडक तत्कालै मर्मत सम्भार गरी सहज अवागमन सुनिश्चित प्रदान गर्न सकिने उल्लेख गरे । एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न गरिनेछ । कामको समयमा ट्राफिक व्यवस्थापनका लागि चेतावनी बत्ती छन् । भीडभाडको समयमा समेत आकस्मिक मर्मत गर्न सकिनेछ ।

काममा कमजोरी भेटिएपछि १४ निर्माण व्यवसायीलाई कालोसूची राख्ने तयारी

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । काम असन्तोषजनक भएको भन्दै कालोसूचीमा राख्ने सिफारिस गरिएका कम्पनीहरुलाई अन्तिम मौका स्वरूप पुनः स्पष्टीकरण सोधिएको हो । यसअघि कार्यालयले ३० दिने म्याद दिएर स्पष्टीकरण मागेको थियो । तर सो अवधिभित्र कुनै प्रतिक्रिया नआएपछि दोहोर्याएर स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ । स्पष्टीकरण मागाइएका कम्पनीहरूमा विक्रम घले मुख्य व्यक्ति रहेको लबकुश कन्स्ट्रक्सन प्रालि (नुवाकोट), नारिन घले मुख्य व्यक्ति भएको मनकामना कन्स्ट्रक्सन प्रालि (नुवाकोट), मुकुन्द अधिकारीसहितको दीपश्री इन्जिनियरिङ प्रालि (काठमाडौं), विजय गुरुङ मुख्य व्यक्ति भएको न्यू कामनारयुनिभर्सल जेभी (नुवाकोट) र सुमन न्यौपाने मुख्य व्यक्ति रहेको चन्द्रसूर्य निर्माण सेवा प्रालि (काठमाडौं) परेका छन् । त्यस्तै, फिरोज मोहम्मद मनिहार मुख्य व्यक्ति रहेको आर्कटिक कन्स्ट्रक्सन (कपिलवस्तु), प्रेमबहादुर सापकोटा मुख्य व्यक्ति रहेको पम्फा निर्माण सेवा (बारा), तिलकबहादुर थापामगर मुख्य व्यक्ति रहेको एमरएस च्याङ्ग्रासी निर्माण सेवा (काठमाडौं), फुलचन श्रेष्ठसहितको एमरएस पूजा कन्स्ट्रक्सन (धादिङ) र ध्रुवप्रसाद सापकोटा मुख्य व्यक्ति रहेको एमरएस डीपी कँडेल निर्माण सेवा (काठमाडौं) पनि स्पष्टीकरण सोधिएका सूचीमा छन् । स्पष्टीकरण मागिएका अन्य कम्पनीहरूमा उमेश लामा मुख्य व्यक्ति भएको पवित्रा मल्टिपल कन्स्ट्रक्सन प्रालि (काठमाडौं), पुजन रावत मुख्य व्यक्ति रहेको एमरएस चिता एण्ड सल्लेरी एसोसिएट्स प्रालि (चितवन), आङ ओम्बु शेर्पा मुख्य व्यक्ति रहेको पीएनडी शेर्पा कन्स्ट्रक्सन (काठमाडौं) र मनोज कुमार यादव मुख्य व्यक्ति रहेको क्वालिटी सोलुसन कम्पनी प्रालि (ललितपुर) छन् । कार्यालयका अनुसार तोकिएको समयभित्र स्पष्टीकरण नआएमा सम्बन्धित कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइनेछ ।