गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका छन् । अनुगमनका क्रममा सोमबार गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए । उनले काममा ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारेका छन् । त्यसैगरी काममा ढिलाइ भएको विषयमा उनले चिनियाँ ठेकेदार कम्पनीलाई ध्यानाकर्षणसमेत गराएका छन् । अनुगमनका क्रममा उनले काम समयमा सम्पन्न नगर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेकाले यस अवस्थाको चाँडो अन्त्य गर्न निर्देशन दिएका हुन् । निर्माण कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले निर्माणलाई तीव्रता दिइ निर्धारित समयसीमाभित्रै सम्पन्न गर्ने जनाएका छन् ।
८४४ मेगावाट भनिएको कालीगण्डकी आयोजना ६४० मेगावाटको हुने
काठमाडौं । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्ययनका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुने गरी निर्धारण गरिएको हो । हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ । प्रस्तावित आयोजनाको बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट करिब १० किलोमिटरमाथि उर्लेनी खङ्गकोट कालीगण्डकी गाउँपालिका-६ गुल्मी र बिहादी गाउँपालिका-२ बर्राचौर पर्वत क्षेत्रमा पर्नेछ । आयोजनामा कुल २४४ मिटर अग्लो बाँध निर्माण हुने जनाइएको छ । बाँधमा पानी जम्मा हुँदा करिब २९ किलोमिटर लामो खनियाघाटसम्म ताल बन्नेछ । यस आयोजनाको नेट हेड १८३.४ मिटर छ । डिस्चार्ज ४०५ घनमिटर प्रतिसेकेण्ड र कुल वार्षिक ऊर्जा उत्पादन १ हजार ६४५.६५ गिगावाट घण्टा बराबर हुने आयोजनाले जनाएको छ । यस आयोजनामा चारवटा स्टिल पेन स्टक, विद्युतगृह ४ वटा प्रान्सिस टर्बाइन प्रस्ताव गरिएको छ । आयोजनाको विद्युतगृह बिहादी गाउँपालिका बर्राचौर पर्वतमा प्रस्ताव गरिएको छ । आयोजनाले पर्वतको जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका र बिहादी गाउँपालिकाका विभिन्न वडा प्रभावित हुनेछ । यस्तै बागलुङको बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका विभिन्न वडा प्रभावित हुनेछ । गुल्मीको कालीगण्डकी गाउँपालिका र स्याङजाको गल्याङ नगरपालिका प्रभावित हुनेछ । आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय मूल्याङ्कन विद्युत् विकास विभाग र परामर्शदाता जेभी स्मेक इन्टरनेशनल तथा जेड कन्सल्टले गरिरहेको छ । प्रस्तावित आयोजना पृथ्वी राजमार्ग, पोखरा-बागलुङ सडकखण्ड, दोबिल्ला–फलेबास सडक कालीगण्डकी लोकमार्ग तथा कालीगण्डकी करिडोर हुँदै पुग्न सकिनेछ ।
वैशाख १५ गते सुरुङमार्ग सञ्चालनमा आउने : १४३ नेपाली कामदार, ५ चिनियाँ विज्ञले कमाण्ड सम्हाल्ने
काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्गको रूपमा रहेको नागढुंगा सुरुङमार्ग आगामी वैशाख १५ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । आयोजनाका सूचना अधिकारी सञ्जय पन्थीले सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि आवश्यक जनशक्ति छनौटको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । सुरुङमार्ग सञ्चालनका लागि एक चिनियाँ कम्पनीलाई छनौट गरिएको छ । ‘हामीले कम्पनी छनौट गरिसकेका छौं र अब सम्झौताका लागि बोलाएका छौं,’ सूचना अधिकारी पन्थीले भने । सम्झौता प्रक्रिया सकिएलगत्तै कम्पनीले आफ्नो विस्तृत कार्ययोजना र जनशक्तिको विवरण पेश गर्नेछ । सुरुङमार्गको सुरक्षित र व्यवस्थित सञ्चालनका लागि जम्मा १४८ जनाको दरबन्दी तय गरिएको छ । जसमा ५ जना चिनियाँ प्राविधिक विज्ञ रहनेछन् भने बाँकी १४३ जना नेपाली कर्मचारी हुनेछन् । विदेशी विज्ञहरूले मुख्यगरी पाँचवटा प्राविधिक क्षेत्रको नेतृत्व गर्नेछन् । जसमा ओभरअल हेड (समग्र नेतृत्व), टोल कलेक्सन (शूल्क संकलन), टनेल फ्यासिलिटी (सुरुङ सुविधा), सेफ्टी (सुरक्षा) तथा ट्राफिक मनिटरिङ (ट्राफिक निगरानी) गर्ने जनाएको छ । नेपाली कर्मचारीहरूको हकमा आयोजनाले स्थानीय बासिन्दालाई पहिलो प्राथमिकता दिने नीति लिएको छ । इन्जिनियर, मेकानिकल, आईटी विज्ञदेखि सवारी चालक र सुरक्षा गार्डसम्मका लागि आवश्यक योग्यता तोकिएको छ । छनौट भएका कर्मचारीहरूलाई सुरुङमार्ग सञ्चालन सम्बन्धी १५ देखि २० दिनको विशेष तालिम दिइनेछ । सुरुङमार्गको भौतिक निर्माण सम्पन्न भई अब सञ्चालनको प्राविधिक पक्षमा काम भइरहेको छ । ‘सम्झौता भएपछि हामी कम्पनीको वर्क सेड्युल माग्छौं र त्यो चित्तबुझ्दो भएपछि सञ्चालनको प्रक्रिया अघि बढ्छ,’ पन्थीले भने ।