केएमसी अस्पतालकाे आकस्मिकसहित सम्पूर्ण सेवा बन्द

काठमाडौं । काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सम्पूर्ण सेवा बन्द गरेको छ । अस्पतालले प्रकाशन गरेको सूचनामा २ जना स्वास्थ्यकर्मी र २ जना बिरामीमा संक्रमण पुष्टि भएको जानकारी दिइएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिने व्यवहोरा रहेको थियो । अस्पतालको आइसोलेसनमा मंगलबार एक चिकित्सकसहित ३ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भए । बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको जनाएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो ।

डडेल्धुरास्थित क्वारेन्टाइनमा रहेकी एक महिलाको मृत्यु

काठमाडौं । डडेल्धुराको क्वारेन्टाइनमा एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ की ३० वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ। गए राती १ श्रीमनसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएको केही समय पछि उनको मृत्यु भएको जनाएका छन् । मृतक महिला ४ दिन अगाडि गौरीफन्टा नाका हुँदै भारतबाट आएकी हुन् । श्रीमान् र बच्चासहित गन्यापधुरा गाउँपालिका वडा नम्बर १ ले निमार्ण गरेको असिग्राम आधारभूत विद्यालय रौनाकोटको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । घटनास्थलमा स्वाथ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरिएको र कोरोना परीक्षणको लागि उनको स्वाब संकलन गर्ने तयारी गरिएको जनाएको छ ।

कोरोना संक्रमणः यस्तो छ आज विहानसम्मको ताजा तथ्याङ्क

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६४ लाख ७३ हजार ५ सय ६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ८१ हजार ७ सय ६ जनाको मृत्यु भइसकेको छ भने ३० लाख ५ हजार १ सय ३४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ८ हजार ५७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १८ लाख ८० हजार ९ सय ३० रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ७ हजार १ सय ९१ पुगेको छ भने अहिलेसम्म ५ हजार ८ सय २९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म २ हजार ९९ जना संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २६६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)