बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर
बाँके । बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उहाँका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर उपचार भईरहेको छ । भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गरी ८६ जना कोरोना बिरामीको उपचार भईरहेको छ । उपचाररत ८६ बिरामीमध्ये, २३ जना गम्भीर, ४१ जना मध्यम र २२ जना सामान्य बिरामी रहेको श्रेष्ठले बताए । बाँकेमा १७७ जना सङ्क्रमित होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् । बाँकेमा हालसम्म तीन हजार ४० जनामा कोरोना सङ्क्रमण देखिएकोमा ३० जनाको मृत्यु भईसकेको छ भने दुई हजार ७१२ जना उपचार पश्चात निको भएका छन् । जिल्लामा हाल २९८ जना सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।
काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै
काभ्रेपलाञ्चोक । पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार जिल्लामा बुधबार एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १०५ रहेको छ । मङ्गलबार जिल्लामा कुनै सङ्क्रमित देखिएनन् । सोही दिन उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १८ जना रहेको पोष्टले जनाएको छ । आइतबारअघिको ४८ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने त्यसअघिको सङ्क्रमणदर घट्दै गएको पोष्टले जनाएको छ । पोेष्टका अनुसार बुधबारसम्म काभ्रेपलाञ्चोकमा ५९९ महिलासहित एक हजार पाँच सय ३३ जना सङ्क्रमितमध्ये ७१ प्रतिशत अर्थात् एक हजार ७८ सङ्क्रमणमुक्त भएका हुन् । सङ्क्रमितमध्ये १० पुरुष र सात महिलाको मृत्यु भइसकेको छ । गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । अहिलेसम्म कोरोना भाइरसको सक्रिय सङ्क्रमितमध्ये ४४ प्रतिशत अर्थात् १९० बनेपा नगरपालिकाका छन् । त्यस्तै धुलिखेलमा ९०, पनौतीमा ८१, पाँचखालमा १८, नमोबुद्धमा २०, मण्डनदेउपुरमा २६ तथा रोशीमा छ, बेथानचोकमा तीन, खानीखोला र चौंरीदेउरालीमा एक÷एक सक्रिय सङ्क्रमित रहेको पोष्टले जनाएको छ । सङ्क्रमितहरुमध्ये ९७ जनाको अस्पताल आइसोलेसनमा र ३४१ जनाको होम आइसोलेसनमा उपचार भइरहेको छ । यहाँको दुई स्थानीय तह भुम्लु र महाभारत गाउँपालिका कोरोनामुक्त भएका छन् । रासस
अबदेखि स्वास्थ्य मन्त्रालयकाे प्रेस ब्रिफिङ आइतबार र बुधबार मात्र हुने
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा काेराेनाभाइरसकाे अवस्थाबारे जानकारी दिने नियमित प्रेस ब्रिफिङ अबदेखि हप्ताकाे दुईपटक मात्र हुने भएकाे छ । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले अबदेखि मन्त्रालयले गर्दै आएकाे नियमित प्रेस ब्रिफिङ आइतबार र बुधबार मात्र हुने जानकारी दिए । गाैतमले आइतबार र बुधबार सधैंकाे झै साँझ ४:१५ बजे लाइभ प्रेस ब्रिफिङ हुने र अन्य दिन वेभसाइट र भाइबरमा साँझ ४:३० बजे नियमित अपडेट हुने बताए ।