बैतडीका विद्यालयमा भोलिदेखि पठनपाठन

बैतडी । बैतडीमा भोलिदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् । दशैँअघि बन्द भएका नगरपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन लागेको पुर्चौडी नगरपालिकाका शिक्षा शाखाप्रमुख दिनेश नागरीले जानकारी दिए । उनले भने, “नगरका सबै विद्यालयमा प्रत्यक्ष रुपमा पठनपाठन सञ्चालन हुन्छन्, पठनपाठनका बेला विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएका छौँ ।” यस्तै मेलौली नगरपालिकामा पनि भोलिदेखि पठनपाठन क्रियाकलाप सञ्चालनमा आउने भएको छ । जोखिम कम भएका क्षेत्रमा प्रत्यक्ष विद्यालयमै पठनपाठन हुने र बढी जोखिम भएका ठाउँमा टोल शिक्षाका माध्यमबाट कक्षा सञ्चालन हुने मेलौली नगरपालिकाका शिक्षा शाखाप्रमुख हरिश भट्टले जानकारी दिए । यसअघि सञ्चालनमा रहेका मेलौलीका विद्यालयहरु नगरपालिकामा कार्यरत कर्मचारी र स्थानीय बासिन्दामा कोरोना पुष्टि भएपछि गत असोज १८ गतदेखि बन्द गरिएका थिए । सङ्क्रमित कर्मचारी र स्थानीयवासीले कोरोना जितेपछि पुनः वैकल्पिक माध्यमबाट पठनपाठनको तयारी भएको मेलौली नगरपालिकाले जनाएको छ । कोरोना कहरले लामो समयदेखि विद्यालय बन्द भएपछि विद्यार्थीको भविष्यमा असर पर्ने भन्दै पुनः पठनपाठन सञ्चालन गरिन लागिएको हो । मेलौली नगरपालिकामा ४६ सामुदायिक र तीन निजी विद्यालयमा गरी आठ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । पुर्चौडीमा नगरपालिकामा ७५ सामुदायिक र तीन संस्थागत विद्यालयमा करीब १४ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । जिल्लामा हालसम्म ४६८ जनाका कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भइसकेको छ । यसमध्ये आठजना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् ।

शनिबार दुई हजार ५०८ काेराेना संक्रमित थपिए, १७ जनाकाे मृत्‍यु

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ५०८ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७० हजार ७४३ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३८ हजार ५ सय ८४ पुगेकाे छ । नेपालमा आजसम्म १४ लाख ४३ हजार ३४३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २२६४ जना निकाे भएसँगैं हालसम्म १ लाख ३१ हजार२२२जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १७ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ९३७पुगेकाे छ ।

डाेटी जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर जडान गरिँदै

डाेटी । डोटी जिल्ला अस्पतालमा पहिलोपटक आइसियु र भेन्टेलेटर श्या जडान गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पतालमा दुई वटा आइसियु र दुई भेन्टिलेटर श्या उपलब्ध गराएको हो । विशेषज्ञसहितको उपचार सेवा प्रदान गर्दै आएको सो अस्पतालमा आइसियु तथा भेन्टिलेटर नहुँदा बिरामीलाई अन्य जिल्ला पठाउनु पर्ने बाध्यतालाई ख्याल गरी प्रदेश सरकारले जिल्लामै उपचार गराउन आइसियु र भेन्टेलेटरसहितको श्या उपलब्ध गराएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए । जोशीका अनसार सामाजिक विकास मन्त्रालयबाट उपलब्ध भएका ती श्याहरु जिल्लामा पुगिसकेको र आइतबारदेखि जडान कार्य शुरु हुनेछ । प्रदेश सरकारको सहयोगमा केही महिना पहिले अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि पिसीआर मेसिन जडान गरिएको थियो । रासस