धवलागिरि अस्पतालकाे आइसियूमा जनशक्ति अभाव

बागलुङ । धवलागिरि अस्पतालकोे सघन उपचार कक्षमा अहिले दुईजना कोरोना सङ्क्रमित उपचाररत छन् । महामारीका समयमा कुनै पनि बेला तीन श्य्याको आइसियूमा बिरामीको चाप बढ्न सक्छ । न्यून जनशक्तिले जेनतेन धानिरहेको आइसियूमा कोरोनाका गम्भीर बिरामी बढेमा सेवा प्रवाह चुनौतीपूर्ण हुने पक्का छ । आइसियू सञ्चालनका लागि चाहिने दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको छुट्टै ‘युनिट’ अस्पतालमा छैन । अस्पतालका अन्य विभाग र सेवामा कार्यरत चिकित्सक नै आइसियूमा खटिनुपरेको छ । आइसियू हेर्ने चिकित्सक/नर्सलाई आइसोलेसनकक्षकोसमेत जिम्मेवारी छ । तीन श्य्याको आइसियूमा १२ जनासम्म नर्स आवश्यक पर्ने अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेल बताउँछन् । “अहिले जम्मा पाँच/छ जना नर्स हुनुहुन्छ, आइसोलेशन र आइसियू दुवैतिर उहाँहरु नै खटिनुपरेको छ”, उनले भने । तीन चरणमा पालो गरेर खटिनुपर्नेमा नर्सले यसभन्दा बढी कार्यबोझ उठाउनु पर्ने अवस्था छ । गम्भीर लक्षणसहितका सङ्क्रमित बढ्ने र धेरैलाई आइसियू चाहिने स्थिति आएमा हालको जनशक्ति अपुग हुने देखिन्छ । “पहिलेदेखि नै दरबन्दीअनुसारको जनशक्ति थिएन, कोरानापछि त झन् चुनौती थपिएको छ”, प्रमुख चिकित्सक पोखरेलले भने, “आइसियूका लागि विशेषज्ञसहितको अलग्गै चिकित्सक टोली चाहिने हो तर अहिले पुरानै जनशक्तिबाट काम चलाइरहेका छौँ ।” उनले प्रदेशको सामाजिक विकास मन्त्रालयमा आइसियूका लागि जनशक्ति माग गरिएको बताए । आइसियू सेवाका लागि करारमा पाँच नर्स राख्न गत वैशाखमा प्रदेश सरकारले रु पाँचलाख उपलब्ध गराए पनि पछिल्लो समय रकम नदिएको उनको भनाइ छ । आइसियूमा एनेस्थोलोजिस्ट, फिजिसियन, अर्थोपेडिक, रेडियोलोजिस्टलगायत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृत आवश्यक पर्ने अस्पतालले जनाएको छ । अस्पतालमा हाल केही विशेषज्ञ चिकित्सक रहे पनि आइसियूका लागि थप जनशक्तिको व्यवस्था गर्नुपर्ने खाँचो छ । पछिल्लो समय सघन उपचारलाई अलग्गै विधाका रुपमा लिने गरिन्छ । त्यसका लागि चिकित्सक र स्वास्थ्यकर्मीको छुट्टै टोली चाहिन्छ । अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले तत्काललाई जनशक्तिकै कारण आइसियू सेवा प्रभावित हुने अवस्था नरहेपनि क्षमता भने बढाउनुपर्ने आवश्यकता रहेको जानकारी दिए । “हाम्रो आइसियूमा बिरामीको ठूलो चाप पनि छैन । सधैँ यही अवस्था नरहन सक्छ, हामीले जनशक्ति र उपकरण थप्नैपर्छ”, उनले भने । सदस्य शर्माले चिकित्सकको ‘टिम’ बनाएर आइसियूमा खटाइको र थप नर्स र सहयोगी राख्न सकेमा सेवा थप सहज हुने बताए । उनले आइसोलेसनकक्षमा भने जनशक्ति व्यस्थापनमा केही जटिलता देखिएको र सुदृढ व्यवस्थापनसँगै स्तरीय उपचार सेवाका लागि समिति क्रियाशिल रहेको जानकारी दिए । वर्षौँको प्रयासपछि गत वैशाखमा अस्पतालले आइसियू सेवा शुरु गरेको थियो । कोरोना महामारीले गर्दा आइसियू छिटो सञ्चालनमा ल्याउन अस्पताल व्यवस्थापनदेखि सरकारी निकायले सक्रियता बढाएका थिए । आइसियूका लागि सङ्घले रु. एक करोड र प्रदेश सरकारले रु. ६० लाख बजेट उपलब्ध गराएको थियो । कोरोनाका गम्भीर बिरामीलाई लक्षित गरी अस्पतालमा दुई भेन्टिलेटर पनि सञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्ति व्यवस्थापन हुन सकेमा थपिएका सेवाको प्रभावकारिता अझ बढ्ने छ । अस्पतालमा अहिले फिजिसियन तथा महिला तथा प्रसूति, बालरोग, मानसिक, नाक, कान, घाँटीलगायत १४ जना विशेषज्ञ चिकित्सक छन् । दश मेडिकल अधिकृतमध्ये केही सेवा अवधि पूरा गरेर बिदा हुने तरखरमा छन् । अस्पतालमा १६ विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी छ । अस्पताललाई दुई सय श्य्याको जनरल अस्पतालमा स्तरोन्नति गर्ने प्रदेश सरकारले बजेटमार्फत घोषणा गरिसकेको छ । यसका लागि अहिलेको भौतिक संरचना अपुग हुने भएपछि अस्पताल व्यवस्थापन जग्गाको खोजीमा लागेको छ । रासस

साेमबार नेपालभर १४७४ जनामा संक्रमण पुष्टि, २९ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १४७४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १४७४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १७ हजार ४२३ पुगेकाे छ । नेपालमा आजसम्म १७ लाख ३७ हजार ७४७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १९३१ जना निकाे भएसँगैं हालसम्म २ लाख १४ हजार ५२१ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा २९ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १५०८ पुगेकाे छ ।

हेटौँडा अस्पतालमा सघन र उच्च उपचार कक्ष उद्घाटन

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको १३ वटै जिल्लाका दुर्गम भेगका जनतालाई स्वास्थ्य उपचार सेवामा गुणस्तरीय सेवा दिन अस्पतालको स्तरोन्नति गर्न प्रदेश सरकारले अहिले स्रोतसाधन परिचालन गरिरहेको बताएका छन् । उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा निर्मित सघन उपचार कक्ष (आइसियु) तथा उच्च उपचार कक्ष (एच.डि.यु) को आज उद्घाटन गर्दै जनतालाई समाजवादप्रति उन्मुख गराउन स्वास्थ्य र शिक्षाको गुणस्तरीय र दक्षजनशक्ति उत्पादनको लागि सरकारले क्रमशः शिक्षण अस्पताल स्थापना गर्दै लाने नीति रहेकोछ भने । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको व्यवस्थापनमै भक्तपुर, नुवाकोट र सिन्धुली जिल्ला अस्पतालमा आजैदेखि सघन उपचार कक्ष सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले सङ्घीय सरकारद्वारा प्रदेशमा अस्पतालको स्तरोन्नति र निर्माणको लागि गरिएको प्रयास अन्तर्गत १३ जिल्लामा ५१ वटा अस्पतालको आज शिलान्यास हुने उल्लेख गर्दै सङ्घीय सरकारले ती अस्पतालको निर्माणको लागि ५८ अर्ब अनुदान रकम उपलब्ध गराएको बताए । मुख्यमन्त्री पौडेलले प्रदेशको स्थायी राजधानी हेटौँडाको जनघनत्वलाई मध्यनजर राखी मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडामा केही दिनभित्रै ३०० श्ययाको शिक्षण अस्पताल निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनले प्रदेश सरकारले उक्त शिक्षण अस्पताल निर्माणको लागि रु ४५ करोड रकम बजेट विनियोजन गरेको र अब हेटौँडा अस्पताललाई शिक्षण अस्पतालको रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेकोछ भने । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल र मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईंले स्वास्थ्य क्षेत्रको गुणस्तरीय विकासलाई मदनभण्डारी स्वास्थ्य विज्ञानले निरन्तर सहकार्य गरेर जनताको आस्था वृद्धि गर्ने बताए । विसं. २०१८ मा स्थापना भएको हेटौँडा अस्पतालमा पहिलो पटक आजदेखि सघन उपचार सेवा र उच्च उपचार कक्ष सेवा सञ्चालनमा ल्याइएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा प्रवीन श्रेष्ठले बताएका छन् । हेटौँडा अस्पतालमा अहिले प्रदेश नं २ का बारा, पर्सा, रौतहटका बिरामी स्वास्थ्य उपचारको लागि आउने गरेको र ती बिरामीलाई दक्ष चिकित्सकले परीक्षण गरेर आवश्यकता अनुसार आन्तरिक कक्षमा भर्ना गरी उपचार सेवा दिइरहेको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए । रासस