शनिबार नेपालभर १०२४ जनामा संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १०२४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १०२४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३९ हजार ८८५ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १४ हजार २५५ पुगेकाे छ । नेपालमा आजसम्म १७ लाख ७८ हजार २४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २२०६ जना निकाे भएसँगैं हालसम्म २ लाख २४ हजार ५३ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १० जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १५७७ पुगेकाे छ ।

वीरगञ्जमा मापदण्डविपरीत संचालित ६ वटा औषधि पसल बन्द

वाग्मती । औषधि व्यवस्था विभागको वीरगञ्ज कार्यालयले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेका आधा दर्जन क्लिनिक तथा औषधि पसल बन्द गराएको छ । कार्यालयका अनुसार बाराको गढीमाई नगरपालिकाको वरियारपुर बजारमा गरिएको बजार अनुगमनमा मापदण्डविपरीत सञ्चालनमा रहेका प्राथमिक स्वास्थ्य क्लिनिक, गोविन्द हेल्थ क्लिनिक, कुशवाहा भेट फर्मा, सपना स्वास्थ्य क्लिनिक, तरुण भेट फर्मा, तथा ठाकुर सर्जिकल औषधि पसल बन्द गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको उक्त कार्यालयका निमित कार्यालय प्रमुख भाग्यनारायण सिंहले जानकारी दिए । कतिपयले नेपालमा प्रतिबन्धित औषधि राखेर बिक्री गरेको पाइएको, म्याद सकिएका औषधि बिक्रीका लागि राखेको र औषधि व्यवस्था विभागमा पसल दर्तासमेत नभएको अनुगमनका क्रममा फेला परेको सिंहले बताए । कारवाही प्रक्रिया पूरा नभएसम्म कारोवार नगर्न आदेश गरिएको बताइएको छ ।

विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप नेपाल ल्याउने तयारी हुँदैं

काठमाडाैं ।  सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ), ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए । उनले अझै खोप परीक्षणकै क्रममा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित भइनसकेको बताए । उनले शुरुमा २० प्रतिशत जनतालाई खोप ल्याएपछि विस्तारै सबैलाई पुग्नेगरी खोप ल्याइने जानकारी दिए । कोभ्याक्सअन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प्रदान हुनेछ । गरिब तथा कम आय भएका मुलुकलाई कोभ्याक्स सुविधाअन्तर्गत खोप निःशुल्क प्रदान गरिनेछ । “खोप अझै तेस्रो चरणको परीक्षणमा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित छैन”, उनले भने, “खोपको अन्तिम परीक्षण सफल भएपछि खोप ल्याइनेछ ।” प्रमुख डा शर्मा गौतमका अनुसार फाइजर एण्ड वायोएनटेक कम्पनी ९रसिया०, मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया) र अक्सफोर्ड एक्ट्राजेनिका (बेलायत) कम्पनीका खोप अहिले परीक्षणकाक्रममा रहेकाले तिनीहरुमध्ये एउटा कम्पनीको खोप स्वदेशमा ल्याइनेछ । खोप उत्पादन गर्ने मुलुकमा दर्ता भइसकेपछि डब्लुएचओमा दर्ता र त्यसपछि नेपालको औषधि व्यवस्था विभागमा खोप दर्ता हुनेछ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा खोप सचिवालय, तथा मन्त्रालयको प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा खोप कोष सचिवालय गठन गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारले खोप ल्याउने तयारीका साथ काम गरिरहेको जानकारी दिए । उनका अनुसार खोपका लागि आवश्यक रकम, खोप ल्याइसकेपछि भण्डारण, खोप शुरुमा कसकसलाई दिने, खोप कसरी दिने भन्ने स्वास्थ्यकर्मीलाई तालिम जस्ता काम भइरहेको छन् । उनले खोप ल्याउनेका लागि विभिन्न कूटनीतिक नियोगसँग पनि छलफल भइरहेको जानकारी दिए । “खोपको अन्तिम परीक्षण पछि हामी नेपालमा खोप ल्याउनेगरी तयारी गरिहेका छौँ”, उनले भने, “खोप अन्तिम परीक्षण सफल भयो भने नेपालमा पनि खोप आउँछ ।” विश्वमा उत्पादन भएका खोप अहिले तेस्रो चरणमा रहेका छन् । ती खोपको अन्तिम परीक्षण हुन बाँकी नै रहेको छ । नेपालमा शुरुमा खोप दीर्घरोगी वृद्धवृद्धा, स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीलाई उपलब्ध गराइनेछ । नेपालमा अहिलेसम्म दुई लाख ३८ हजार ८६१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै दुई लाख २१ हजार ८४७ निको भएका र एक हजार ५६७ को निधन भइसकेको मन्त्रालयले जनाएको छ ।