२० गतेपछि बैंक तथा वित्तीय संस्था संञ्चालनमा सहज हुने हो ?

काठमाडौं । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको बैठकले जारी निषेधाज्ञालाई जेठ मसान्तसम्म कायम राख्ने प्रारम्भिक निष्कर्ष निकालेको छ । बैठकले जारी निषेधाज्ञालाई १० दिन थप गरेर जेठ ३० गतेसम्म कायम राख्ने निर्णय गरेको हो । तर, २० गतेसम्म निषेधाज्ञाको समय बाँकी रहेकाेले अहिले नै औपचारिक रुपमा सार्वजनिक नगरेर १९ गते बिहान सार्वजनिक गर्ने सीडीओहरुको बैठकले योजना बनाएको छ । ‘आज बसेको बैठकले प्रारम्भिक निर्णय गरेको छ, निश्कर्षमै पुगिसकेका छैनौं, तर, आजको छलफललाई आधार मान्दा जेठको मसान्तसम्म निषेधाज्ञा कायम नै राख्ने कुरा भएको छ, हामी आधिकारिक निर्णय भोलि बिहान सार्वजनिक गर्छौं,’ काठमाडौंका प्रजिअ काली प्रसाद पराजुलीले विकासन्युजसँग भने । उनले खाद्यान्न पसल खोल्ने भने निर्णय भएको बताए । यस्तै, अन्य क्षेत्रमा पनि निषेधाज्ञा केही खुकुलो हुने उनकाे भनाइ छ । उनले भने, ‘एक हप्ता निषेधाज्ञा थप्ने वा जेठको मसान्तसम्म नै कायम राख्ने भन्ने बारे भने यकिन भएको छैन, आजको निश्कर्ष भने मसान्तसम्म नै कायम गर्ने हो ।’ अन्य धेरै क्षेत्रहरुमा निषेधाज्ञा खुकुलो हुने भएसँगै बैंक तथा वित्तीय संस्थामा के हुन्छ भन्ने विषयले पनि चर्चा पाएको छ । प्रजिअ पराजुलीले बैंक तथा वित्तीय संस्थामा निषेधाज्ञा खुकुलो सम्बन्धि आजको बैठकले निष्कर्षमा पुगेर निर्णय नगरेको बताए । ‘अहिले कतिपय ठाउँबाट अब बैंक तथा वित्तीय संस्थामा निषेधाज्ञा अलि खुकुलो गर्नु पर्छ भनेर कुरा आइरहेको छ, त्यसको बारेमा पनि हामी सोचिरहेका छौं, यसको बारेमा पनि हामी भोलि निर्णय गर्छौं, तर, आज खासै यही नै गर्छौं भन्न सकिने अवस्था छैन,’ उनले भने । हाल काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था छ ।

७ दिनभित्र उपचार शुल्क सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं । सरकारले सबै अस्पताललाई उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै सरकारी, निजी र सामुदायिक सबै अस्पताललाई ७ दिनभित्रमा बिरामीको उपचारवापत लाग्ने रकम सार्वजनिक गर्न निर्देशन दिएको हो । यससँगै सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुले अबको ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र सो को लागत रकम शीर्षक समेत उल्लेख भएको मूल्य सूची सबै आफ्नो वेवसाईट मार्फत सार्वजनिक गर्ने तथा सबैले देख्ने गरी सूचना पाटीमा राख्नु पर्ने छ । उक्त मूल्य सूची सञ्चालक समिति तथा बोर्ड तथा आधिकारिक निकायबाट निर्णय गराएर मात्र सार्वजनिक गर्न सरकारले निर्देशन दिएको छ । त्यस्तै, त्यसको जानकारी स्वास्थ संस्था सञ्चालन ईजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउनु मन्त्रालयले आग्रह गरेको छ ।

मंगलबार ६ हजार ८९८ जनाले जिते काेराेना

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ६ हजार ८९८ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जना कोरोना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार २० हजार १६५ जनाको परिक्षण गर्दा सो मात्रामा कोरोना पोजेटिभ देखिएको हो । यससँगै, हालसम्म पोजेटिभ केसहरू कूल ५ लाख ६६ हजार ५८७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ७ हजार ४५४ पुगेको छ ।