बैतडीमा ३ हजार ज्येष्ठ नागरिकले लगाए भेरोसेल खोप

बैतडी । बैतडीमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको भेरोसेल खोप करिब तीन हजार ज्येष्ठ नागरिकले लगाएका छन् । गत जेठ २८ गतेदेखि शुरु भएको खोप अभियान कार्यक्रमअन्तर्गत दुई हजार ९१४ ज्येष्ठ नागरिकले सो खोप लगाएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई तोकिएको भएपनि अन्य उमेर समूहकाले पनि खोप लगाएका छन् । जिल्लाका १० वटै स्थानीय तहका वडाहरुमा उक्त खोप लगाउने अभियान सञ्चालन गरिएको थियो । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ५६५ जनाले खोप लगाएका छन् । यस्तै पाटन नगरपालिकामा ४१३, पुर्चौंडी नगरपालिकामा ३२५, मेलौली नगरपालिकामा २४२ र डिलाशैनी गाउँपालिकामा २५८, सिगास गाउँपालिकामा २८७, दोगडाकेदार गाउँपालिकामा २७०, शिवनाथ गाउँपालिकामा २२९, सुर्नया गाउँपालिकामा २२१ र पञ्चेश्वर गाउँपालिकामा १०८ जनाले खोप लगाएका छन् । खोप अभियानका लागि सङ्घीय सरकारले जिल्लामा ३ हजार ७८० मात्रा खोप पठाएको थियो । जिल्लामा ८४ वटा खोप केन्द्रमार्फत पहिलो डोज दिइएको छ । खोपको दोश्रो मात्रा २८ दिनपछि लगाउनुपर्ने हुन्छ । भेरोसेल खोपको दोश्रो मात्रा मौज्दात राखेर पहिलो डोज दिइएको स्वास्थ्य कार्यालय प्रमुख भट्टको भनाइ छ । उनले भने, ‘पहिलो मात्रा लगाएकालाई अनिवार्य रुपमा दोश्रो मात्रा मौज्दात राखेर मात्रै खोप दिएका हौं ।’ जिल्लामा ३ हजार ४५५ जनालाई पहिलो डोज दिने लक्ष्य रहेकोमा ८४ प्रतिशत अर्थात २ हजार ९१४ जनालाई मात्रै खोप दिइएको हो । लगातारको वर्षा, भगौलिक विकटता र चेतनाको अभावले गर्दा लक्ष्यभन्दा कम नागरिकले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

डेनमार्क र आयरल्याण्डद्वारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान

बलेवा । डेनमार्क र आयरल्याण्डले नेपाललाई विभिन्न स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । युरोपियन युनियन (ईयु) सदस्य राष्ट्रहरुले उसको नागरिक सुरक्षा संयन्त्रमार्फत कोभिडको भयानक दोस्रो लहरविरुद्ध लड्न डेनमार्क र आयरल्याण्डले नेपाललाई सहयोग पु¥याउन उक्त सामग्री उपलब्ध गराएका हुन् । डेनमार्कले प्रदान गरिएका स्वास्थ्य सामग्रीहरुमा २६ वटा भेन्टिलेटर, ५० वटा नासल अक्सिजन क्यानल्स्, ९६ हजार फेस् शिल्ड्, ९२ हजार गाउन र ९२ हजार एफ्एफ्पीटुमास्क रहेको छन् । ती सामग्रीहरु यही असार ३ गते पहिलो चरणमा ल्याइएको थियो भने बाँकी सामग्री आजै नेपाल ल्याइँदैछ । यस्तै आयरल्याण्डले पनि ७२ वटा अक्सिजन कन्सन्ट्रेटर, १२ वटा बिपिएपी एयर फ्लो मेसिन, ४४ वटा भेन्टिलेटर, ४०० वटा पल्स् अक्सिमिटर, ५० वटा रेस्पिरेटरी मोनिटर, ५० वटा डिफिब्रिलेटर, १०० वटा थर्मामिटर, ७२८ वटा अक्सिजन रेगुलेटर, ३९८ एयर रेगुलेटर, दुई लाख एक हजार ६०० वटा फेस् शिल्ड् र १० लाख आठ हजार सर्जिकल मास्क उपलब्ध गराएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक समारोहकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ईयुकी राजदूत नोना डेप्रे र नेपालका लागि डेनमार्कका महावाणिज्यदूत हरि धरेलले हस्तान्तरण गरेका थिए । यो सहयोग नेपाल सरकारबाट सहयोगका लागि पछिल्लो पटक आह्वान भएपछि प्रदान गरिएको हो । सो अवसरमा मन्त्री तामाङले कोभिड १९ विरुद्ध लड्दै गरेको नेपाललाई एक्यवद्धतास्वरुप आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्नु हुने इयुका सदस्य राष्ट्रहरुप्रति नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे । कार्यक्रममा ईयुकी राजदूत डेप्रेले इयुसो सहयोग नेपाललाई आवश्यकता भएको तथा आपतको बेला निरन्तर जारी रहेको बताए । उनले भने, ‘यो महामारीको सुरुवातदेखि नै ‘टिम युरोप’ नेपालसँगै उभिएको छ र यस किसिमको सहयोग गर्न हामी तयार छौँ । सबैजना सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैन ।’ महावाणिज्यदूत धरेलले दुई देशबीच लामो समयदेखि मैत्री सम्बन्ध रहिआएको र नेपालको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको डेनमार्कले विगतका प्राकृतिक विपद्का समयमा पनि सहयोग गरेको र यसपटक पनि कोभिडविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराइदिएकामा डेनमार्क सरकारप्रति आभार व्यक्त गरे । यसअघि स्पेन, फिनल्याण्ड, फ्रान्स, बेल्जियम र जर्मनी, स्लोभेनिया, अष्ट्रिया र माल्टा पनि नेपाललाई विभिन्न चिकित्सा सामग्री सहयोग गरिसकेका छन् ।

डा सुदीपलाई क्यान्सर उपचारमा उल्लेखनीय याेगदान गरेकाे भन्दै ‘कोबायाशी पुरस्कार–२०२०’ प्रदान

काठमाडाैं । नेपालमा क्यान्सरको उपचार तथा रोकथाममा उल्लेखनीय योगदान गरेको भन्दै जापानको कोबायाशी फाउण्डेशनले नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठलाई ‘छैटौँ कोबायाशी फाउण्डेशन पुरस्कार–२०२०’ प्रदान गरेको छ । पाँच लाख जापानी येन अर्थात् करीब रु पाँच लाख ३६ हजार नेपाली राशिसहितको ‘हेल्थकेयर प्रोफेशनल’ तर्फको उक्त पुरस्कार डा श्रेष्ठलाई आज बिहान जापानमा आयोजना भएको क्यान्सरसम्बन्धी भर्चुअल विशेष सम्मेलनमा प्रदान गरिएको डा श्रेष्ठले जानकारी दिए । फाउण्डेशनले २०७६ फागुनमा सो पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । विश्वव्यापी महामारी कोरानाका कारण फाउण्डेशनको औपचारिक कार्यक्रम गत वर्ष स्थगित भएको थियो । केही महिनाअघि देखि फेरि कोरानाकै कारण नेपाल र जापानमा लकडाउन भएकाले सो पुरस्कार डा श्रेष्ठलाई आज भएको फाउण्डेशनको भर्र्चुअल सम्मेलनमा प्रदान गरिएको हो । पुरस्कार बापतको राशि र प्रशंसापत्र यसै हप्ता नेपाल आउने उनले जानकारी दिए । थाइल्यान्डका डा अरुनी देचाफुनकुल र हङकङका प्राडा टोनी मोकलाई पनि ‘छैटौँ कोबायाशी फाउण्डेशन पुरस्कार–२०२०’ प्रदान गरिएको छ । भ र्चुअल विशेष सम्मेलनमा कार्यकारी अध्यक्ष डा श्रेष्ठले कोरानोका कारण क्यान्सर भएका बिरामीको उपचारमा केही कठिनाइ भए तापनि अस्पतालले स्वास्थ्य सुरक्षाका विभिन्न मापदण्ड अपनाएर चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै कोभिड भएका क्यान्सरका बिरामीको सफल उपचार गरिरहेको बताए ।