‘दुई भिन्न खोप प्रयोग गर्दा प्रभावकारी हुन्छ भनेर हामीले भनेका छैनौं’

काठमाडौं । विश्व स्वास्थ्य संगठनले दुई भिन्न खोप प्रयोग गर्दा बढी प्रभावकारी हुन्छ भन्ने विषयमा आफुहरुले कुनै पनि प्रकारको धारणा व्यक्त नगरेको जनाएको छ । स‌गठनले एक विज्ञप्ति जारी गर्दै कोभिड शिल्ड लगाएकाहरुलाई दोस्रो मात्र भेरो सेल लगाउँदा थप प्रभावकारी हुने धारणा व्यक्त नगरेको जनाएको हो । संगठनले यस विषयमा अध्यनहरु भइरहेको तर यकिन भनेर भन्न सक्ने अवस्था नरहेको विज्ञप्तिमा उल्लेख छ । यसको निष्कर्षमा पुग्न पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको संगठनले जनाएको छ ।

आज ललितपुरमा जेष्ठ नागरिकलाई कोभिड शिल्डको दोस्रो डोज दिइँदै

काठमाडौं । ललितपुर महानगरले कोभिड शिल्डको पहिलो डोज लगाएको जेष्ठ नागरिकलाई आज कोभिड सिल्डको दोस्रो डोज लगाउँदै छ । महानगरले ७७ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकलाई कोभिड सिल्डको दोस्रो डोज लगाउन लागेको हो । महानगरले जेष्ठ नागरिकसँगैं सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी एवं स्वास्थ्य स्वयंसेवक २८० जनालाई बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने जनाएको छ । गनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कूल, महानगरपालिका प्राङ्गण, धापाखेल स्वास्थ्यचौकी, सुनाकोठीस्थित बालकुमारी विद्यालय, खोकना, बुङ्मतीक्षेत्रअन्तर्गत कार्यविनायक विद्यालय तथा हरिसिद्धि र सैँबु स्वास्थ्यचौकीमा खोप लगाउन आउने व्यक्तिले पहिलो मात्रा लगाएको पत्रका साथै उमेर खुलेको प्रमाण कागजसमेत अनिवार्य लिएर आउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले हिजो जारी गरेको सूचनामा जनाइएको छ ।

अब निजी अस्पतालमा कोभिडको उपचार खर्च सरकारले नबेहोर्ने

काठमाडौं । निजी अस्पतालमा कोभिड संक्रमितको उपचार अब सम्बन्धित विरामीले नै बेहोनुपर्ने भएको छ । यसअघि सरकारी तथा निजी अस्पतालको उपचार खर्च सरकारले बेहोर्ने गरेकोमा अब उक्त खर्च सम्बन्धित बिरामीले नै गर्नुपर्ने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै निजी अस्पतालमा उपचार शुल्क लाग्ने जनाएको हो । मन्त्रालयका सहप्रवक्ता डा‍. समीरकुमार अधिकारीले सरकारसँग सेवा सम्झौता गरेका निजी अस्पतालहरुमा भर्ना भई उपचार गराइरहेका संक्रमितहरुको उपचार खर्च आगामी असार १८ गतेसम्म मात्र बेहोर्ने निर्णय सचिव स्तरीय बैठकले गरेको बताएका छन् । सरकारले कोभिड १९ उपचारका लागि सरकारी अस्पतालहरू, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकललाई मात्र तोकेको छ । असार गते ६ गते सचिवस्तरीय तहबाट यस्तो निर्णय भएको हो । सूचना अनुसार सरकारले सेवा सम्झौता गरेका सबै निजी अस्पतालहरूलाई आजका मितिदेखि १० दिनभित्रको उपचारको मात्र शोधभर्ना दिने निर्णय गरिएको छ । यस्तै, मन्त्रालयले सम्पूर्ण निजी अस्पतालहरूलाई नेपाल सरकारले तोकेको दर रेटभन्दा वढी शुल्क नलिई सेवा प्रवाह गर्न आग्रह गर्दै अन्यथा भए कारवाही हुने जनाएको छ ।