रुसमा २४ घन्टामा ३९ हजार भन्दा बढीमा काेराेना सङ्क्रमण

मस्को । रुसमा गएको २४ घन्टामा ३९ हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । साथै यो अवधिमा यहाँ एक हजार १७९ जनाको ज्यान गएको छ । यो समेतगरी यहाँ करिब ८८ लाख मानिसमा यो संक्रमण देखिएको छ । त्यसैगरी यहाँ अहिलेसम्म २ लाख ४६ हजार ८१४ जनाको ज्यान गएको पाइएको छ । यहाँ कोरोना भाइरसबाट हुने मृत्युदर करिब २.८१ रहेको पनि समाचारमा जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले रुसको मस्को सहरमा मात्र पछिल्लो २४ घन्टामा करिब पाँच हजार जनामा सङ्क्रमण देखिएको बताएका छन् । (रासस/सिन्ह्वा)

‘सुत्केरीले सेवा नपाउँदा स्वास्थ्यकर्मीले तलब नपाउने’

मान्मा । कालीकोटको पलाँता गाउँपालिका–८ थिर्पुस्थित स्वास्थ्यचौकीमा कर्मचारी नहुँदा सुत्केरीले राम्रो उपचार पाएनन् । स्थानीयवासी जनबहादुर रोकायाकी श्रीमती छाइला रोकायाले शुक्रबार स्वास्थ्यचौकीमा सुत्केरी हुन आउदा स्वास्थ्यकर्मी नभेटिएपछि उहाँ चौकीकै प्राङ्गणमा सुत्केरी भइन् । उनले छोरीलाई जन्म दिएकी हुन् । सुत्केरीले उपचार नपाएपछि स्वास्थचौकी थिर्पुमा तिहारकै दिन गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले अनुगमन गर्दै सेवाग्राहीको उपचारमा संग्लन नभएका स्वास्थ्यकर्मीले तलब नपाउने बताए । स्वास्थ्य चौकीमा तीन अनमी, एक स्वास्थ्य सहायक, दुई अहेब, तीन कार्यालय सहयोगी, एक चौकीदार र एक बगैँचा व्यवस्थापन गर्ने गरी ११ जना कार्यरत छन् । सबै कर्मचारी तिहार बिदामा घर गएकाले स्वास्थ्यचौकीमा कोही नभएको अध्यक्ष बमले बताए । ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा लापरवाही गर्ने कर्मचारीलाई हामीले कसरी राज्यको तलब दिएर राख्न सक्छौं”, उनले भने, ‘चाडबाडका बेला एकजना कर्मचारी स्वास्थ्य चौकीमा नहुनु विडम्बना हो ।’ गाउँपालिका अध्यक्ष बमका अनुसार स्वास्थ्यचौकीका दुई कर्मचारी अवकाश पाएको र सात कर्मचारीको कात्तिक महिनाको तलब कट्टा गरेर स्वास्थ्य चौकीको सुत्केरी कक्षको व्यवस्थापन गरिने बताए । तिहारको बेला ढोका बन्द गरेर बसेका स्वास्थकर्मीले सामान्य बिरामीको उपचारसमेत नपाएको गुनासो भए पनि गाउँपालिकाले बाध्य भएर त्यही आधारमा कारवाही गरिने अध्यक्ष बमले जानकारी दिए । ‘तीन महिनासम्म अनुपस्थित सबैको प्रोत्साहान भत्ताबापत पाउने मासिक सात हजार र दुई दिनअघि धौलागोह र दैनिकरको स्वास्थ्य संस्था अनुगमन गर्दा धौलागोहमा दुई अनमी र दैनिकरमा एक अनमीको पनि तलब काट्ने निर्णय भएको छ’, उनले भने, ‘गाउँपालिकाभित्र ७२ शिक्षक, ३१ स्वास्थ्यकर्मी, चार प्राविधिक र २७ प्रशासनतर्फका कर्मचारीले कात्तिक महिनाको आधा वा आंशिक र कही कर्मचारीको पूरै महिनाको तलब कटौती हुनेछ ।’ रासस

चीनद्वारा थप १६ लाख डोज कोभिड खोप हस्तान्तरण

काठमाडाैं । चीनले नेपाललाई अनुदान सहायता स्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदुत होऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै नेपालीलाई खोप दिईसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरुप कोभिडविरुद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे । उनले त्यस अवसरमा हालसम्म चीन सरकारले नेपाललाई ३४ लाख सो खोप अनुदान सहायताको रुपमा उपलब्ध गराएको पनि जानकारी दिए । उता, चिनियाँ राजदुत यान्छीले नेपाल सरकारको कोभिडविरुद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले २ दिन पछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने जानकारी समेत दिए । नेपालले हालसम्म चीनबाट खरिद प्रक्रियामार्फत् १ करोड कोभिडविरुद्धको खोप ल्याईसकेकाे छ ।