८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि

काठमाडौं । टेकु अस्पतालमा गरिएको परीक्षणमा अधिकांशमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्त डा. समिरकुमार अधिकारीको अनुसार टेकु अस्पतालमा गरिएको ३२ परीक्षणमा २८ जनामा ओमिक्रोन भेरियन्टमा र बाँकी ४ जनामा डेल्टा भेरियन्ट पाइएको हो । यसको अर्थ नेपालमा पुष्टि भएको अधिकांश संक्रमणमा ८८ प्रतिशत ओमिक्रोन रहेको अधिकारीले बताए । उनले सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।

चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि टेकु अस्पतालले रोक्यो खोप अभियान

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले एक साताका लागि कोरोना विरुद्धको खोप अभियान स्थगित गरेको छ । अस्पतालले आज एक सूचना जारी गर्दै चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य ५० जनाभन्दा बढी कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि अभियान रोकिएको जनाएको हो । ‘यस अस्पतालमा कार्यरत रही बिरामीको उपचार र कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरु ५० जनाभन्दा बढी कोभिड–१९ बाट संक्रमित हुनुभएकोले यस अस्पतालमा सञ्चालित खोप अभियान माघ १० गतेदेखि १६ गतेसम्म ७ दिनको लागि स्थगित गरिएको व्यहोरा अनुरोध छ’, अस्पतालले जारी गरेको सूचनामा भनिएको छ ।

सिटामोल अभाव भएपछि जुम्लाका औषधि पसलमा अनुगमन

खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गा बजारमा सञ्चालित औषधि पसलमा सिटामोल अभाव भएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरेको छ । देशभर कोरोना सङ्क्रमणसँगै रुघाखोकीका बिरामी बढेपछि सिटामोल अभाव चुलिएको छ । जिल्लामा पनि सिटामोल अभाव भएपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल नेतृत्वको टोलीले यहाँका मेडिकल तथा फार्मेसीमा अनुगमन गर्दा २६ हजार ट्याब्लेट सिटामोल भेटिएको सहायक प्रजिअ रिजालले बताईन । जनस्वास्थ्य कार्यालय जुम्लाको स्टोरमा दुई हजार ५०० ट्याब्लेट मौज्दात छ । स्टोर प्रमुख हरि बुढाले भने, “१५ हजार ट्याब्लेट यहाँका आठवटै स्थानीय तहमा पठाएका छौँ ।” जुम्लामा खासै सिटामोल अभाव नहुने स्टोर प्रमुख बुढाको भनाई छ । प्रतिष्ठानको फार्मेसीमा सिटामोल र डिकोल्ड छैन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा सिटामोल र डिकोल्ड अनुगमनका क्रममा नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताईन । प्रतिष्ठानले निःशुल्क औषधि वितरण गर्ने क्लिनिकमा २० हजार ट्याब्लेट सिटामोल मौज्दात भएको जानकारी प्राप्त भए पनि फार्मेसीमा भने सिटामोल र डिकोल्ड भेटिएन । फार्मेसीमा अहिले सिटामोल र डिकोल्ड नभए पनि खरिद गरिएको औषधि चाँडै आउने प्रतिष्ठानले जानकारी दिएको सहायक प्रजिअ रिजालले बताईन । यहाँका प्रत्येक मेडिकल, अस्पतालका फार्मेसी र जनस्वास्थ्य कार्यालयका स्टोर अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।