स्वास्थ्यमन्त्री भन्छन् : दुर्गम क्षेत्रमा जानै मान्दैनन् डाक्टर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरु दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन् । बिहीबार नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले सो कुरा बताएका हुन । उनले अहिले देशका विभिन्न जिल्लाहरुबाट दरबन्दी खालि रहेको भन्दै डाक्टर तथा नर्स पठाइदिन आग्रह गरेपनि स्वास्थ्यकर्मीहरु जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्चितता हुन नसकेको बताए । गाउँ क्षेत्रमा अहिलेपनि डाक्टर र नर्स एवं स्वास्थ्य प्राविधिकहरु जान नमान्दा स्वास्थ्य क्षेत्रमा समस्या आइरहेको उनको भनाई थियो । उनले सबै स्वास्थ्यकर्मीहरुले जुनकुनै बेला कुनै क्षेत्रमा पनि जानुपर्नेछ भन्ने मानसिकताको विकास गर्न जरुरी रहेको समेत बताए । अहिले सरकार संघीयताको कार्यान्वयनमा रहेको उल्लेख गर्दै समायोजनमा पनि अनेक समस्या सिर्जना भइरहेको उनले गुनासो गरे । मन्त्री खापुङले स्वास्थ्यकर्मीहरुको जुनकुनै क्षेत्रमा जान हिचकिचाहट नगर्ने प्रवृतिको विकासले संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्ने कुरामा थप बल पुग्ने विश्वास व्यक्त गरे ।
कुमारी बैंकका ग्राहकलाई माया मेट्रो अस्पतालमा विशेष छुट
काठमाडौ । कुमारी बैंकका ग्राहकलाई धनगढीको कैलालीस्थित माया मेट्रो अस्पतालमा विशेष छुट हुने भएको छ । दुई संस्थाबीच बैंकका ग्राहकलाई माया मेट्रो अस्पतालबाट प्रदान गरिने स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट दिने समझदारी भएको हो । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा ल्याब, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, एन्डोसकोपी, बेड चार्जमा १० प्रतिशत छुट र ओटि, अम्बुलेन्स सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । बैंकले हाल १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४५ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।
बढ्न थाले कोरोना संक्रमित, २४ घण्टामा ६२ जनामा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो केही दिन यता कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार केही दिन यता कोरोना संक्रमितको संख्यामा बृद्धि हुन थालेको हो । मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक हजार ६२० जनामा परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयको तथ्यांक अनुसार एक हजार ८ पीसीआर परीक्षणमा ५१ जना र ६१२ एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण देखिएउको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् ।