पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था हुनुपर्छः स्वास्थ्यमन्त्री खापुङ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारको योजना अन्तर्गत हरेक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने बताएका छन् । सोमवार नेपाल चिकित्सक आयुर्वेद संघको २५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताएका हुन् । उनले सरकारको योजनामा प्रत्येक वडामा कम्तिमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्ने प्रावधान रहेकोले योजना अनुसार नै सरकार अघि बढीरहेको बताए । उनले प्रत्येक वडामा नसके पनि एउटा पालिकामा कम्तिमा १५ बेड क्षमताको अस्पताल निर्माण गर्ने लक्ष्य सरकारको रहेको बताए । मन्त्री खापुङले वृद्धवृद्धाहरुको माग आँखा र दाँतको उपचारका लागि धेरै हुने गरेको भन्दै त्यसलाई मध्यनजर गरेर सरकार अघि बढेको बताउँदै सरकारले निर्माण गर्ने पालिकाका अस्तालमा आयुर्वेदिक चिकित्साको पनि छुट्टै सेवा हुन आवश्यक रहेको जानकारी गराए । मन्त्री खापुङले सरकार जनताको स्वास्थ्यको क्षेत्रमा संवेदनशील रहेको उल्लेख गर्दै सरकारको महत्वपूर्ण आर्थिक हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी रहेको बताए । ‘वैद्यखाना आयुर्वेदको कुरा चलेको छ । मैले सुनेको थिएँ, त्यहाँ १३५ थरिका औषधि उत्पादन हुन्छन् भन्ने अझ त्यहाँ २४५ को संख्यामा औषधि उत्पादन हुन्थे भन्ने कुरा छ । नेपालमा सिंहदरबार वैद्य खाना धेरै पुरानो हो । अहिले त्यसको हालत दुःख लाग्दो छ । नाजुक छ । त्यसको नेतृत्व भर्खरै चेन्ज भएको छ । नेपाल चिकित्सक आयुर्वेद संघका अध्यक्ष नै गएका छन् । अब आश छ यो राम्रो हुनेछ । त्यसमा सरकारको तर्फबाट के गर्नुपर्छ । छलफल गरौँ । धेरुै सुधार गर्नुपर्ने अवस्थाहरु छन् । स्वास्थ्यको क्षेत्रमा अहिले सरकार धेरै संवेदनशील छ । सरकारको महत्वपूर्ण आर्थिक हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी छ । अहिले हामी संघीयताको अभ्यासमा छौँ । प्रत्येक वडामा कम्तिमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्छ भन्ने सरकारको घोषणा छ । प्रत्येक पालिकामा १५ बेडसम्मको हस्पिटल हुनुपर्छ भन्ने सरकारको घोषणा छ । योजना छ । त्यो योजना अनुसार नै सरकार अघि बढीरहेको छ । सम्भावना भयो भने एउटा स्वास्थ्यचौकीमा वा पालिका हस्पिटलमा आँखाको उपचार गर्ने पनि एउटा कोठा हुन आवश्यक छ, माग त्यस्तो छ । एउटा दाँतको र एउटा आयुर्वेदिक चिकित्साको कोठा हुनुपर्छ । यसमा सहयोग गर्न सरकार तयार छ ।’ मन्त्री खापुङले भने । मन्त्री खापुङले सिंहदरबार वैद्यखानाको मर्मतसम्भार र संवद्र्धन हुन नसक्दा नाजुक स्थितिमा पुगेको बताए । उनले वैद्यखानाको सुधारका लागि नयाँ नेतृत्व पुगेकोले अबका दिनमा सुधार हुनेमा आफू विश्वस्त रहेको बताए । रासस
ट्रमा सेन्टरले साउनदेखि २४ घण्टा विशेषज्ञ सेवा दिने
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले २४सै घण्टा बिरामीलाई विशेषज्ञसहिताको सुविधा उपलब्ध गराउने भएको छ । आगामी साउनदेखि बिरामीलाई २४सै घण्टा विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवले जानकारी दिए । ‘हामीसँग धेरै विशेषज्ञ चिकित्सक छन्’, उनले भने, ‘आफ्नै आन्तरिक स्रोतबाट ती विशेषज्ञ चिकित्सकबाट २४सै घण्टा बिरामीलाई उपचार गर्दछौँ ।’ अस्पतालमा अहिले १०० भन्दाबढी विशेषज्ञ चिकित्सक छन् । ती चिकित्सकलाई पालैपिलो ड्युटीको समय मिलाइनेछ । यस्तै उक्त सेन्टरले अब आफैँ बिरामी र कुरुवालाई खानाको व्यवस्था गर्ने भएको छ । यसअघि वीर अस्पतालबाट बिरामी र कुरुवाका लागि खानाको व्यवस्था गरिँदै आइएकामा अबदेखि सेन्टरबाट नै खानाको व्यवस्था गर्न थालिएको पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद जोशीले बताए । उनका अनुसार सेन्टरमा दैनिक १५० बिरामीलाई दुई छाक र तिनका कुरुवालाई एक छाक खाना उपलब्ध गराइनेछ । यस्तै सेन्टर अप्रेशन थिएटर र फार्मेसी पनि सञ्चालनको तयारीमा छ । शल्यक्रिया गर्न बिरामीलाई सजिलो होस् भनेर शल्यक्रिया कक्ष नजिक नै सेन्टरले अप्रेशन थिएटर र फार्मेसी सञ्चालन गर्न थालेको पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा जोशीले जानकारी दिए । डा. जोशी हालै ट्रमा सेन्टरबाट धनगढीस्थित गेटा मेडिकल कलेजमा निर्देशकरुपमा सरुवा भएका छन् । ‘ओरल म्याक्सिलो फेसियल सर्जन’ सेवा यस्तै सेन्टरले ‘ओरल म्याक्सिलो फेसियल सर्जन’ सेवा पनि सुरुआत गरेको छ । दाँतको माथिल्लो र तल्लो भागको शल्यक्रिया गरेर उपचार गर्नका लागि यस्तो सुरु गरिएको उनले जानकारी दिए । दाँतमा धेरैजसो अग्लो ठाउँबाट खसेर यस्तो समस्या आउने गर्दछ । उक्त सेवाका लागि दुई विशेषज्ञ दन्त चिकित्सकको टोली रहेको छ । यसैगरी अस्पतालले ‘वन स्टेप क्राइसिस म्यानेजमेन्ट’ सेवा पनि सुरु गरेको छ । बिरामीको उपचारदेखि पुनःस्थापनासम्मका लागि सेन्टरले उक्त सेवा सुरु गरेको हो । विसं २०७१ देखि सञ्चालनमा आएको ट्रमा सेन्टरमा दैनिक ४५० बिरामी उपचारका लागि आउने गर्दछन् । घाइतेको उपचार गर्नका लागि स्थापना गरिएको सेन्टरमा २०० शय्या, ११ सघन उपचार कक्ष (आइसियु), ३२ आकस्मिक शय्या रहेको छ । रासस
सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार
सुदूरपश्चिम । सेती प्रादेशिक अस्पताल धनगढीमा मिर्गौला बिरामीका लागि डायलासिस सेवाको विस्तार गरिएको छ । बढ्दै गएका मिर्गाैला रोगीको सहज उपचारका लागि उनीहरुले भोग्नुपरेको समस्यालाई मध्यनजर गरी अस्पतालले आफ्नै नवनिर्मित भवनबाट १२ शैय्याको डायलासिस सेवा सुरु गरेको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए । अस्पतालले आफ्नै आन्तरिक स्रोत जुटाएर उक्त सेवा विस्तार गरेको हो । दुई शैय्या थप्ने तयारी भइरहेको छ । यसबाहेक विरङ्ग हेल्थ केयर नामको निजी स्वास्थ्य संस्थाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग गरेको सम्झौता बमोजिम ठेक्का (करार) मार्फत यसै अस्पतालमा १० शै्याको डायलासिस उपचार सेवा सञ्चालन गर्दै आएको छ । ‘विरङगले उपलब्ध गराइरहेको डायलासिसको उपचार सेवामा अस्पतालको प्रत्यक्ष संलग्नता छैन । उसलाई हामीले कोठा मात्र उपलब्ध गराएका हौँ’, सूचना अधिकारी श्रेष्ठले भने, ‘’उपचार निःशुल्क रुपमा भइरहेको र प्रति बिरामीमा लाग्ने खर्च उसले मन्त्रालयबाट लिने गरेको छ ।’’ अस्पतालमा विसं २०७२ देखि डायलासिसको उपचार सेवा निःशुल्क रुपमा हुँदै आएको छ । विरङ्ग हेल्थ केयरको डायलासिस उपचार सेवाका व्यवस्थापक दीपक भट्टले यस क्षेत्रमा मिर्गाैलाका बिरामी पछिल्ला वर्षमा बढ्दै गएको अवस्थामा अस्पतालमा गरिएको डायलासिस सेवाको विस्तारले बिरामीको उपचार सेवा थप सहज हुने देखिएको बताए । ‘पहिले हप्तामा दुई÷तीन मिर्गाैलाका बिरामी उपचारार्थ आउँथे, हाल दैनिक दुई/तीन आउन थालेका छन्’, भट्टले भने, ‘आफ्नो स्वास्थ्य परीक्षण गराउने मान्छे पहिलेको भन्दा बढेको, रक्तचाप र मधुमेह रोगका बिरामी बढेको, बजारमा पाउने ड्राइफुड र जङकफुड जस्ता खानामा मान्छेको ध्यान जाँदा मिर्गौला रोगी बढेको हुनसक्छ ।’ यो सेवाको विस्तार गरिएसँगै डायलासिसको उपचारका क्रममा रगत चढाउनुपर्ने अवस्थाका कतिपय बिरामीमा बेलाबखत देखिने हेपाटाइटिस बी र सी पोजेटिभको उपचार व्यवस्थापनमा सहजता आउने स्वास्थ्यकर्मीले बताएका छन् । रगत चढाउँदा देखिने हेपाटाइटिस बी र सी का बिरामीले उपचारका लागि यसअघि काठमाडौं वा भारतमा जानुपर्ने बाध्यता रहेको थियो । मानिसको शरीरभित्र जम्मा हुने विकारलाई बाहिर निकाल्ने महत्वपूर्ण अङ्ग मिर्गाैलाले काम नगर्दा यसलाई विषेश प्रकारको मेसिनमार्फत बाहिर निकालेर उपचार व्यवस्थापन गर्ने पद्धतीलाई डायलासिस भनिन्छ । कोरोना भाइरसको महामारी फैलिएयता यो अस्पतालमा आइसियु, भेन्टिलेटर, अक्सिजन कन्सन्टे«टर जस्ता स्वास्थ्य उपकरणको व्यवस्थापनमा पहिलेको तुलनामा सुधार देखिएको भए पनि विषेशज्ञ र अनुभवी स्वास्थ्यकर्मी र चिकित्सको अभाव खड्किने गरेको छ । अनुभवी जनशक्ति नहुँदा उपचारका क्रममा प्रयोग गर्नु पर्ने स्वास्थ्य उपकरण कतिपय बेला सञ्चालन गर्न नसकेर त्यसै थन्किने गरेको बताइएको छ । रासस