व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
दमौली । व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगरपालिकाभित्रका १६ महिनादेखि २३ महिनासम्मका आठ सय २७ बालबालिकालाई सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । १६ महिनादेखि २३ महिनासम्मका सात जना बालबालिकाले खोप लगाउन छुटेकामा उनीहरुलाई पनि यही अवधिमा पूर्ण खोप लगाइएको सोतीले बताए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले घोषणा मात्रै ठूलो कुरा नभएकाले यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ‘पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नका लागि नगरपालिका प्रतिबद्ध छ,’ उनले भने । जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रक्रिया अगाडी बढाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि घिरिङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । भानु नगरपालिका, आँबुखैरेनी कार्यालय, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिकाले पूर्ण खोप सुनिश्चित घोषणाका लागि कार्यालयलाई अनुरोध गरेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । रासस
भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढे
नयाँदिल्ली । बितेका केही दिनयता एसियाका केही देशमा कोरोनाका बिरामी बढेको पाइएको छ । बुधबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १८ हजार ९३०, दक्षिण कोरियामा १८ हजार ५११, पाकिस्तानमा ८७२ जना मलेसियामा तीन हजार ५६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख ६६ हजार ७३९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । चौविस घण्टाको समयावधीमा कोरोना सङ्क्रमणमा ३५ को मृत्यु भएको छ । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ३०५ को मृत्यु भएको छ । हाल भारतमा एक लाख १९ हजार ४५७ सक्रिय सङ्क्रमित रहेका छन् । करिब चार महिनापछि गत हप्ताबाट सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ । पछिल्लो एक दिनमा १४ हजार ६५० कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २९ लाख २१ हजार ९७७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८।६१ प्रतिशत रहेको छ । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८८ लाख डोजभन्दा बढी खोप लगाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड २० लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।
हैजाका बिरामी २३ पुगे
काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको बताए । ती दुवै जनाको अहिले उपचार भइरहेको छ । कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौं–१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको उनले बताए । थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ । उनका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौंका ५८ वर्षीय पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म तीन जनाको उपचार र अन्य उपचारपछि घर फर्किसकेका छन् । रासस