गाउँमै स्वास्थ्य सेवाको पहुँच

बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिका अन्य पालिकाको तुलनामा सुगम मानिन्छ । सुगम पालिकामा आधा दशक अगाडिसम्म स्वास्थ्यको सहज पहुँच नहुँदा स्वास्थ्योपचारमा समस्या थियो । काठेखोलाका गाउँहरूबाट नागरिक स्वास्थ्योपचारका लागि घण्टौँ लगाएर बागलुङ बजार पुग्नुपर्ने अवस्था थियो । गाउँमा कोही बिरामी हुँदा अस्पतालभन्दा धामी–झाँक्रीकहाँ पुग्ने गर्थे । गाउँ नजिक स्वास्थ्य संस्था थिएनन् । तर अहिले गाउँपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । पालिकाका ७ वडामा ७ स्वास्थ्यचौकी, ४ स्थानमा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी सञ्चालनमा छन् । साविकका रेश, भिमापोखरा, बिहुँकोट, लेखानी, धम्जा, तङ्ग्राम र लेखानी गाविसमा १/१ वटा स्वास्थ्यचौकी भए पनि नागरिकले सहजरूपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् । ठाउँ–ठाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि निकै सहज भएको स्थानीय पुतली थापाले बताइन्। उनले गाउँमा स्वास्थ्य संस्था नहुँदा सामान्य उपचारका लागि पनि घण्टौँ लगाएर ऋण खोजेरै बागलुङ पुग्ने गरेको अनुभव सुनाइन्। गाउँपालिकाले आफूहरूको समस्या बुझेको उनी बताउँछिन् । ‘ज्वरो आयो भने, हातखुट्टामा चोट लाग्यो भने पनि बागलुङ बजारमै पुग्नुपथ्र्यो, अहिले साना–तिना बिरामी यही गाउँमै उपचार हुन्छ, यहाँ उपचार गराउन पाउँदा खुसी लाग्छ, अब पहिलेको जस्तो बागलुङ बजारै जान नपर्ने भयो, सरकारले हाम्रो समस्या बुझेछ,’ उनले भनिन् । गाउँमा स्वास्थ्यको सहज पहुँच नहुँदा पहिले धेरैले अकालमा ज्यानसमेत गुमाउने गरेको जनाउँदै अहिले बिरामी हुँदा बित्तिकै स्वस्थ्यचौकी पुगेर जाँच गर्ने र ठूलो उपचारका लागि सुविधासम्पन्न अस्पतालमा जान स्वास्थ्यकर्मीले सुझाउने हुँदा समयमै उपचार पाउने गरेको उनको भनाइ छ । पहिले–पहिले स्थानीयवासी बिरामी हुँदा अस्पताल जानुको सट्टा धामी–झाँक्री खोज्न जाने गरेको स्मरण गर्दै अहिले धेरैजसो बिरामी पर्दा साथ अस्पताल जाने गरेको उनले सुनाइन्। नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि गाउँपालिकाले विभिन्न स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताए। नागरिक बिरामी परे घण्टौँ लागेर स्वास्थ्य संस्था पुग्ने बाध्यतालाई केही रूपमा सहज गराउनका लागि सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको उनको भनाइ छ । ‘काठेखोलाका धेरैजसो गाउँमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको थिएन, नागरिक सामान्य उपचारका लागि पनि बागलुङ, पोखरा जानुपर्ने अवस्था थियो, यहाँको समस्यालाई मध्यनजर गरी पालिकाले विभिन्न स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेर सेवा दिन थालेका छौँ, अब नागरिकलाई सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ,’ थापाले भने । गाउँपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यचौकीको स्तरवृद्धि गर्ने र आधुनिक उपकरण तथा औषधि व्यवस्थापनमा जोड दिएको उापाध्यक्ष थापाको भनाइ छ । पहिले घण्टौँ लगाएर स्वास्थ्य संस्थामा आउने नागरिक अहिले १५ मिनेट आउन सक्ने भएको उनले बताए। आफूहरू निर्वाचित भएर आएपछि वडा नं ८ मा कादेस स्वास्थ्य एकाइ, वडा नं १ दोबिल्ला स्वास्थ्य एकाइ, वडा नं ४ मा फापरखेत स्वास्थ्य एकाइ र वडा नं ५ मा बिहुँ स्वास्थ्य आधारभूत स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको उनको भनाइ छ । ‘हामीहरू नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका लागि स्वास्थ्य संस्थामा आवश्यक उपकरण जडान, औषधि र दक्ष जनशक्ति व्यवस्थापनमा लागिरहेका छौँ, पहिले घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्ने बिरामी अब बढीमा आधा घण्टामै उपचार गराउन पुग्नुहुने छ, स्वास्थ्य सेवालाई सहज र सर्वसुलभ बनाउने अभियानमा हामीहरू छौँ,’ उनले भने। गाउँपालिका स्थापना हुनु पहिले सातवटा स्वास्थ्यचौकी थिए ।  गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामचन्द्र लामाले गाउँपालिकाले केही स्वास्थ्यचौकीबाट एक्सरे सेवासहित ल्याब सेवा पनि सञ्चालनमा ल्याएको बताए। अहिले सातवटै स्वास्थ्यचौकीमा ल्याब लेखानी र रेश स्वास्थ्यचौकीमा ल्याबसहित एक्सरे सेवा रहेको उनको भनाइ छ । उनका अनुसार सातवटै वडामा बर्थिङ सेन्टर सञ्चालनमा छन् । ३ वर्षदेखि शून्य ‘होम डेलिभरी’ पछिल्लो ३ वर्षयता काठेखोला गाउँपालिकामा होम डेलिभरी शून्य छ । नागरिकस्तरमा चेतनाको अभिवृद्धि र पालिको प्रभावकारी कार्यक्रमले गर्दा काठेखोलामा शून्य होम डेलिभरी हुन सफल भएको स्वास्थ्य संयोजक रामचन्द्र लामाले बताए। गर्भवती  नियमित गर्भ परीक्षण गर्न आउने र उनीहरूलाई स्वास्थ्यकर्मीले परामर्श दिइराखेको उनको भनाइ छ । ‘काठेखोला ग्रामीण क्षेत्र हो, पहिले यहाँका नागरिक कम शिक्षित र जनचेतना पनि वृद्धि हुनसकेको थिएन, सरकारको ‘नीति’ उनीहरूसमक्ष पुगेको थिएन, तर अहिले सरकारका हरेक कार्यक्रम नागरिकसम्म पुगेको छ, गर्भवतीलाई पनि नियमित गर्भ परीक्षण गराउनुपर्छ भन्ने ज्ञान बढेपछि होम डेलिभरी शून्य भएको हो जस्तो लाग्छ,’ उनले भने । दीर्घरोगीलाई मासिक ५ हजार भत्ता गाउँपालिकाले यस वर्षदेखि पालिकाभित्रका दीर्घरोगीलाई प्रतिमहिना भत्ता दिने व्यवस्था मिलाएको छ । पालिकाले दीर्घरोगीको लगत सङ्कलन गरी उनीहरूको जीवन निर्वाहमा टेवा पु¥याउनका लागि हरेक महिना ५ हजार भत्ता प्रदान गर्ने व्यवस्था गरेको गाउँपालिकाका प्रवक्त टीकासङ्गम विकले जानकारी दिए। ‘बिरामी धेरैथरि हुनुहुन्छ, पहिले चरणमा गाउँपालिकामा जो नागरिक दीर्घरोगी छ, पहिचान गरेर उहाँहरूको जीवन निर्वाहमा सानो भए पनि राहत पुगोस् भन्ने हिसाबले हामीले यो कार्यक्रम सञ्चालन गर्न थालेका हौँ, यसलाई पनि यो समस्या पर्न सक्छ, हामीले उहाँहरूलाई स्थानीय सरकारले थोरै भए पनि आभास गराउनु छ, दुःख, सुखमा साथ दिनु छ,’ उनले भने । रासस

तालिम प्राप्त कर्मचारीबाट स्वास्थ्य बीमा दाबी भुक्तानी अगाडि बढाउन बोर्डको अनुरोध

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले तालिम प्राप्त कर्मचारीहरुबाट मात्रै स्वास्थ्य बीमा प्रकृया अगाडि बढाउन स्वास्थ्य संस्थाहरुलाई अनुरोध गरेको छ । आज एक सूचना जारी गर्दै बोर्डले अस्पतालहरुले दाबी प्रविष्ट गर्दा विभिन्न त्रुटी हुने गरेकाले तालिम प्राप्त व्यक्तिहरुबाट मात्रै सो काम गराउन अनुरोध गरेको छ । बोर्डका बरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवालीले सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले बीमितलाई दिएको सेवाहरुको खर्च बोर्डको ऐन, नियम, कार्यविधि र सुविधा थैली अनुसार सम्पूर्ण कागजातहरु बीमा व्यवस्थापन प्रणालीमार्फत प्रविष्ट गर्नुपर्ने बताएका छन् । आधिकारिक रकम नखुलेको बिल भरपाई पेश गर्दा बोर्डलाई भुक्तानी गर्न समस्या भएको उनले बताए ।

नेत्रज्योति संघद्धारा नेपालगंजमा २८ सय बिद्यार्थिको निःशुल्क आँखा जाँच

काठमाडौं । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगंजको आयोजनामा बाँकेका विभिन्न ४ बिद्यालयका दुई हजार ८६८ जना बिद्यार्थिहरुको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल सरकारको सहयोगमा आयोजना गरिएको उक्त निःशुल्क बिद्यालय आँखा जाँच शिविर कार्यक्रम नेपालगंज महानगरपालिकाका ४ वटा सामुदायिक बिद्यालयमा सम्पन्न गरिएको हो । फुलटेक्रा माध्यामिक बिद्यालयका ४०० जना, महेन्द्र माध्यामिक बिद्यालयका ४०४ जना, युद्ध संस्कृत माध्यामिक बिद्यालयका २१४ जना र धम्बोझि माध्यामिक बिद्यालयका १ हजार ८५० जना बिद्यार्थिहरुको निःशुल्क आँखा जाँच गरिएको अस्पतालका बाह्य कार्यक्रम प्रमुख उमर सादिकले जानकारी दिए । आँखा जाँच गरिएका बिद्यार्थिहरु मध्यमा दृष्टिदोषको समस्या देखिएका ७१ जना बिद्यार्थिहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएको सादिकले बताए । बिद्यालय बढ्ने बिद्यार्थिहरुलाई आँखाको समस्याका कारण कुनै कठिनाई नहोस् भन्ने उद्देश्यले संघले नियमित रुपमा बिद्यार्थिहरुको बिद्यालयमा गई आँखा जाँच गर्दै आइरहेको छ भने दृष्टिदोषको समस्या देखिएका बिद्यार्थिहरुलाई निःशुल्क चस्मा समेत वितरण गर्दै आइरहेको छ । नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् । नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।