बेलायतका विकासमन्त्रीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन

लुम्बिनी । नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका छन् । बेलायती मन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाको पोषण कार्यक्रमका बारेमा चासो व्यक्त गर्दै सहयोग वृद्धि गर्ने प्रतिबद्धता गरे । अस्पतालले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवाप्रति सराहना व्यक्त गर्दै मिचेलले अस्पतालमा मातृ–शिशु स्वास्थ्य तथा बालबालिकाको पोषणको क्षेत्रमा आर्थिक सहयोग वृद्धि गर्न बेलायत सरकार तयार रहेको बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य सचिव राजु खनाल, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयलगायतको उपस्थितिमा अस्पतालको स्वास्थ्य अवस्थाबारे छलफल भएको थियो । त्यस अवसरमा मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रका बारेमा जानकारी गराएका थिए । अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सुदर्शन थापाले अस्पतालको स्वास्थ्य उपचार र अवस्थाबारे जानकारी गराएका थिए । अस्पतालमा रहेको ओसिएमसी, एनआइसीयू, एसएनसीयू, पिआइसीयू तथा बालबालिकाको पोषण पुनःस्थापना केन्द्रको अवलोकनपछि स्वास्थ्य उपचार सेवाबारे छलफल भएको मेसु डा थापाले जानकारी गराए । यस्तै नगर प्रमुख पाण्डेयले बुटवलले मातृ स्वास्थ्य र शिशु स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर कार्यक्रम अगाडि सारेको जानकारी गराए । त्यस अवसरमा प्रमुख पाण्डेयले मन्त्री मिचेललाई नेपाल–अङ्ग्रेज युद्ध, जितगढी किल्ला र उजिरसिंहका बारेमा जानकारी गराउँदै उजिरसिंहको तस्बिर मायाको चिनोस्वरुप प्रदान गरे ।

डिप्रेसनबाट बच्ने ? ध्यान र प्राणायाम गर्नुस्, मस्त सुत्नुस्

काठमाडौं । अहिले खराब जीवनशैली र खराब खानपानका कारण मानिसमा डिप्रेसनको समस्या बढ्दै गएको छ । यसले मानसिक स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ । कहिलेकाहीँ शारीरिक क्रियाकलापको कमीले पनि यस्तो समस्या हुने गर्छ । हालै ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार स्ट्रेन्थ ट्रेनिङ, योग र हिँड्नेजस्ता गतिविधिमा संलग्न हुँदा डिप्रेसनको जोखिम कम हुन्छ । डिप्रेसनले तपाईंको मानसिक स्वास्थ्यलाई मात्र नभई शारीरिक स्वास्थ्यलाई पनि नराम्ररी असर गर्छ। डिप्रेसनका कारण स्वास्थ्य बिस्तारै बिग्रिन थाल्छ र तपाईं आफ्नो आत्मविश्वास पनि गुमाउन थाल्नुहुन्छ । अध्ययनका अन्वेषकहरूका अनुसार डिप्रेसनको अवस्थामा योग, व्यायाम र स्ट्रेन्थ ट्रेनिङजस्ता गतिविधिमा संलग्न हुनु मानसिक स्वास्थ्यका लागि थेरापीभन्दा कम हुँदैन । यदि तपाईंलाई डिप्रेसनको समस्या छ भने सबैभन्दा पहिले व्यायाममा ध्यान दिनुपर्छ । यसका लागि शोधकर्ताहरूले २ सय १८ अध्ययनहरूको समीक्षा गरे र यो अध्ययन सञ्चालन गर्न डिप्रेसनबाट पीडित १४ हजार १ सय ७० मानिसलाई पनि समावेश गरे । यो अध्ययनले व्यायामले वास्तवमा डिप्रेसनका लक्षणहरू कम गर्न मद्दत गर्ने प्रमाणित गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वभरि ३० करोड मानिस डिप्रेसनको समस्याबाट ग्रसित छन् । अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयको स्कूल अफ साइकोलोजीका वरिष्ठ प्राध्यापक डा। माइकल नोएटेलका अनुसार डिप्रेसनबाट बच्न व्यायाम गर्नु राम्रो र बलियो विकल्प साबित हुन्छ । यसो गर्दा डिप्रेसनको जोखिम निकै कम हुन्छ । डिप्रेसनबाट बच्ने उपाय डिप्रेसनबाट बच्न शारीरिक रूपमा सक्रिय रहनुपर्छ । यसका लागि ध्यान र प्राणायाम गर्नुपर्छ र पर्याप्त निद्रा पनि लिनुपर्छ । डिप्रेसनबाट बच्न खानपानमा ध्यान दिनुपर्छ । यसका लागि सकेसम्म धेरै व्यक्तिहरूसँग कुरा गर्ने र आफ्नो सामाजिक सर्कल बढाउनुपर्छ । एजेन्सी

कोशी प्रदेश सरकारद्वारा १४ स्वास्थ्य स्वयंसेविका सम्मानित

काठमाडौं । प्रजातन्त्र दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले १४ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । सोमबार मुख्यमन्त्री केदार कार्कीले प्रदेशका १४ जिल्लाबाट एक–एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेका हुन् । जनस्वास्थ्यका लागि खटिएका स्वास्थ्य स्वयंसेविकाहरूको खुट्टामा आफैँले जुत्ता लगाइदिएर मुख्यमन्त्री कार्कीले सम्मान गरे । स्वयंसेविकालाई प्रदेशको स्वास्थ्य मन्त्रालय अंकित चाँदीको सिक्का, खादा, सम्मानपत्र र नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेपछि बोल्दै मुख्यमन्त्री कार्कीले आफ्ना सन्तानको हेरचाह छोडेर अरूको सेवा गर्न दौडनेहरूलाई सम्मान गर्न पाउँदा गौरव महशुस भएको बताए । त्यसअघि ७४ औं प्रजातन्त्र दिवसको अवसर पारेर प्रदेश सरकारले विराटनगरमा प्रभातफेरिको आयोजना गरेको थियो ।