बागमती प्रदेशमा ११ हजार डेंगु संक्रमित 

बागमती । बागमती प्रदेशमा पछिल्लो समय डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेंगु संक्रमित फेला परेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म बागमती प्रदेशमा ११ हजार ४ सय ९ जना नयाँ डेंगु संक्रमित फेला परेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढी धादिङमा ३ हजार ५ सय १ र सबैभन्दा कम रसुवामा दुई जना नयाँ डेंगु संक्रमित भएको स्वास्थ्य निर्देशानलयका स्रोत व्यक्ति उत्तमप्रसाद प्याकुरेलले जानकारी दिए । उनका अनुसार यस अवधिमा काठमाडौंमा ३ हजार, चितवनमा १ हजार ७ सय ८, मकवानपुरमा ८ सय ५७, भक्तपुरमा ४ सय ९४, काभ्रेपलाञ्चोकमा १ सय ६७, नुवाकोटमा ८१, दोलखामा ७९, रामेछापमा २७, सिन्धुपालञ्चोकमा ३२ र सिन्धुलीमा २३ जना नयाँ डेंगु संक्रमित फेला परेका छन् । डेंगु संक्रमणबाट हालसम्म मकवानपुरमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । गर्मी मौसम सुरु भएसँगै डेंगु संक्रमित अझै बढ्न सक्ने भएकाले जनचेतनामूलक सन्देश प्रवाहसँगै प्रदेशभर लामखुट्टे लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशक दिपकप्रसाद तिवारीले बताए ।

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं । आईतबार फेरि काठमाडौं वायुप्रदूषणका हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ७७ पुगेको छ । गत बिहीबार वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ९५ पुगेको थियो । शनिबार भने घटेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ८५ रहेको थियो । ‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार पहिलो प्रदूषित सहरका रुपमा भने भारतको दिल्ली सहर सूचीकृत भएको छ । डिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) दुई सय ४५ रहेको छ । यसैगरी तेस्रो स्थानमा चीनको बेइजिङ सहर विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । सुक्खायामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खायामसँगै मुलुकका विभिन्न स्थानमा लागिरहेको डढेलो नियन्त्रण हुन नसक्दा काठमाडौं उपत्यकालगायतका मुख्य सहरमा प्रदूषण बढेर वायु नै अस्वस्थ रहेको छ । नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदूषण बढ्ने गरेको भन्दै सतर्कता अपनाउन वातावरण विभागले अनुरोध गरेको छ । मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोको धुवाँका कारण वायु अस्वस्थ्य भएको भन्दै विभागले सावधानी अपनाउन आग्रह गरेको हो । विभागका अनुसार यस अवधिमा विशेष गरी बढ्दो तापमान, कम सापेक्षित आद्र्रता र सुक्खा मौसमजस्ता प्राकृतिक कारणबाट हुने डढेलो, मानवीय कारण जस्तै फोहर तथा कृषि अवशेष जलाउँदा तथा उद्योग कलकारखाना, सवारी साधन, भौतिक निर्माण आदिबाट निस्कने प्रदूषित धुवाँ धुलोबाट वायुप्रदूषण हुने गरेको पाइएको छ । विभागका महानिर्देशक भूपाल बराललले पछिल्लो समय बढ्दै गइरहको वन डढेलोको कारण प्रदूषण बढेको भन्दै अन्तरनिकायबीचको समन्वय बढाएर डढेलो नियन्त्रणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । ‘हाल देशका अधिकांश भूभागमा डढेलो तथा आगलागीका घटना बढिरहेको तथा डढेलोको कारणले धन जनको क्षतिका विवरण प्राप्त भइरहेका छन्’, उनले भने, ‘भू–उपग्रहको तथ्याङ्क विश्लेषणबाट प्राप्त विवरणबमोजिम सन् २०२४ को सुरुआतबाट हालसम्म एक हजार छ सय ५३ वटा डढेलो तथा आगलागीका घटना भएको देखिन्छ । पछिल्लो दिनमा डढेलो तथा आगलागीका घटना बढेसँगै नेपालको अधिकांश भूभागमा वायुप्रदूषण बढेको पाइएको छ ।’ डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागि रहेको वन डढेलोसँगै प्रदूषण पनि बढिरहेको भन्दै डढेलो नियन्त्रणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआइ ५० राम्रो अर्थात्  हरियो चिन्हले चिनिन्छ । ‘५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार होऔँ अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसै गरी १०१ देखि १५० सम्मलाई अस्वस्थ्य जसमा श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ ।’ उनले भने, ‘१५१ देखि २०० देखिको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वथका रुपमा लिइन्छ र ३०१ देखि चार सयलाई खतरनाक र चार सय एक देखि ५० लाई धेरै खतरा मानिएको छ ।’ काठमाडौं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रुमर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ । रासस

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा बिस्तार हुनुपर्छ : उपकुलपति बस्नेत

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तीन सय शैय्या भन्दा माथिका देशभरका सबै अस्पतालमा बिस्तार हुनुपर्ने बताएका छन् । आईतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मात्र नभइ देशभरका तीन सय शैय्या भन्दा माथिका सबै अस्पतालमा हुनु अनिवार्य रहेको बताए । देशको आवश्यकता, संविधानले प्रत्याभुत गरेको स्वास्थ्य सम्बन्धी हकलाई कार्यान्वनय गर्न अझै धेरै जनशक्तिको आवश्यक रहेको पनि जानकारी दिए । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अझै धेरै तालिम, अध्ययन, अनुसन्धानको पाटोहरुलाई अघि बढाउनुपर्ने अवस्था रहेको पनि बताए । उनले भइरहेको जनशक्ति, भौतिक पूर्वाधार र सरकारबाट प्राप्त ५७० रोपनी दुवाकोटको जग्गाको गुरुयोजना बनिसकेको र प्रधानमन्त्री पुष्पकमल दाहालबाट गुरुयोजना अघि बढाउने प्रतिवद्धता आइसकेको जानकारी दिए । ‘देशको आवश्यकता, संविधानले प्रत्याभुत गरेको स्वास्थ्य सम्बन्धी हकलाई कार्यान्वनय गर्न अझै धेरै जनशक्तिको आवश्यकता छ । चिकित्सा शिक्षा आयोगले गरेको अध्ययन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गरिएको आँकलनमा पनि आइसकेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अझै धेरै तालिम, अध्ययन, अनुसन्धानको पाटोहरुलाई अघि बढाउनुपर्ने अवस्था छ ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मात्र नभइ देशभरका सबै अस्पताल जुन ३ सय बेड भन्दा माथिका छन्, तिनीहरुमा बिस्तार हुनेछ’, उनले भने । उनले भरतपुर एवं वीर अस्पतालमा एमबीबीएस कार्यक्रमलाई ल्याउने र प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता प्रधानमन्त्रीबाट आएको भन्दै खुशी व्यक्त गरे ।