महानगरको स्वास्थ्य विभागद्वारा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ । महानगर क्षेत्रमा सञ्चालित अधिकांश अस्पतालले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन नगरेकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र अनिवार्य रूपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको महानगरपालिकाको स्वास्थ्य विभागका निमित्त विभागीय प्रमुख सजिना महर्जनले जानकारी दिए । उनले भने, ‘महानगरभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिलाई फार्मेसी सञ्चालन गर्न दिँदा उपभोक्त गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधिजन्य सामग्री बिक्री भइरहेको भन्ने गुनासो बढेपछि आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको हो ।’
देशकै उत्कृष्ट अस्पताल, डा. गौतमको इन्ट्रीले फेरियाे तस्बिर
भक्तपुर । सेतो लामो एकतले भवन । जस्ताको छानो भए पनि राणाकालीन शैलीझैँ देखिने उक्त भवनमा आजभन्दा एक सय २० वर्ष अगाडि ‘श्री चन्द्रलोक डिस्पेन्सरी’को नामबाट स्वास्थ्य सेवा सुरु गरेको नेपालकै दोस्रो पुरानो अस्पताल हो ‘भक्तपुर अस्पताल’ । स्थापनाको सय वर्ष पार गरिसक्दा पनि सेवा विस्तारदेखि स्तरोन्नतिमा पछाडि पर्दै आएको यस अस्पताल मेडिकल माफियाका चुङ्गुलमा पर्दा वर्षौंसम्म ‘रिफर सेन्टर’का रूपमा परिणत भएको थियो । भ्रष्टाचारसम्बन्धी विवाद आइरह्यो, जनताको विश्वास गुम्दा बिरामीले भक्तपुर अस्पताल रोज्न छाडे । भक्तपुर अस्पताल आफैँ बिरामी भनेर कयौँपटक समाचार आए पनि । तर कोरोना महामारीको सङ्कटमा भक्तपुर अस्पतालको नेतृत्व सम्हाल्न आइपुगेकी एक महिला प्रमुखको अथक मेहनत र प्रयासले अहिले यो अस्पताल लगातार दुईपटक देशका सात प्रदेशमध्येका उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । यस वर्ष पनि देशभरमा अस्पतालमध्ये उत्कृष्ट अस्पताल बन्न सफल भयो । भ्रष्टाचार, कमिसन र माफियाको चुङ्गुलबाट अस्पताललाई जोगाउने र निश्चित नियम एवं मापदण्डको परिधिभित्र रहेर अस्पताल सञ्चालन गर्ने हो भने भौतिक पूर्वाधारदेखि स्वास्थ्य सेवामा समेत जनताको मन जित्ने गरी फड्को मार्न सकिन्छ भन्ने उदाहरण भक्तपुर अस्पतालमा तेस्रोपटक मेडिकल डाइरेक्टर भएर आएकी डा. सुमित्रा गौतमले चरितार्थ गरेर देखाएकी छन् । सेवा विस्तार गर्न नसक्दा, आइसीयू नहुँदा, आकस्मिक कक्षमा आएका बिरामीलाई सामान्य जाँचपछि निजी अस्पतालमा पठाउने परम्पराले क्लिनिकको रूपमा बदनाम बन्दै आएको यस अस्पतालको नेतृत्वमा इच्छाशक्ति बलियो भएको प्रमुख आउँदा अस्पतालको स्वरुप परिवर्तन हुन्छ भन्ने भनाइलाई डा गौतमले चरितार्थ गरेको भक्तपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष नवराज गेलाल बताउँछन् । उनी भन्छन्, ‘म दुई वर्ष भक्तपुर अस्पतालको अध्यक्ष भइरहँदा दुई जना मेसु फेरिए, मैले पटकपटक मन्त्रालय धाएर पाँच शय्याको आइसीयू सञ्चालनका लागि सबै सामान ल्याएँ तर तत्कालीन मेसुले आइसीयू सञ्चालन गर्न नै चाहनुभएन ।’ अहिले कमिसन र भ्रष्टाचारको दलदलबाट अस्पताललाई जोगाउन सकिएको उनको भनाइ छ । अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष प्रेम खड्का भक्तपुर अस्पताललाई प्रदेश नभई सरकारले केन्द्रीय अस्पतालको रुपमा विकास गर्नुपर्ने बताउँछन् । आफू अध्यक्ष हुँदा त्यसको लागि निकै पहल गरेको भए पनि असफल भएको भन्दै केन्द्रीय सरकारको छायाँमा परेको र आफ्ना स्वार्थमात्रै हेर्ने प्रमुख आउँदा अस्पताल समस्यामा पर्ने गरेको बताउँछन् । अहिले अस्पतालको मुहार फेरिएको देख्दा आनन्द आउने बताउँदै उनले केही गर्छु भन्ने व्यक्तिलाई सम्बन्धित मन्त्रालयले अनावश्यक सरुवा गर्न नहुने बताउँछन् । अस्पताल विकास समितिको अध्यक्ष रमन कायस्थले अस्पताल एउटा जिल्लाको लागि मात्रै नभई पूर्वी जिल्लाका बिरामीका लागि भरोसाको केन्द्र बनिरहेको बताए । बिरामीमा यस अस्पतालप्रति बढिरहेको बिश्वास र भरोसालाई टुट्न नदिन सरकारले मेडिकल माफियाको चुङ्गलमा परेर अस्पतालका निर्देशक छिटो फेर्ने प्रचलन बन्द गर्नु पर्ने उनी बताउँछन् । तत्कालीन श्री ३ प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६१ असार १७ गते आफ्नै नाम जोड्दै १५ शय्याको ‘श्री चन्द्रलोक डिस्पेन्सरी’ नामबाट स्थापना गरेको भक्तपुर अस्पताल अहिले नेपालकै दोस्रो जेठो अस्पतालको रुपमा परिचित छ । १९४७ साउन १२ गते श्री ३ वीरशमशेरले स्थापना गरेको नेपालकै पहिलो वीर अस्पतालपछि स्थापना भएको भक्तपुर अस्पताल जन्मिएको भवन यतिखेर भक्तपुर क्यान्सर अस्पतालले प्रयोग गरिरहेको छ । विसं २०५१ मा क्यान्सर केयर सेन्टरको नाममा नेपाल अबुर्द रोग निवारण संस्थाले भक्तपुर अस्पतालसँगको समन्वयमा उक्त भवन लिएर नेपालकै पहिलो क्यान्सर रोग विशेषज्ञ एवं शल्य चिकित्सक डा अञ्जनीकुमार शर्माको नेतृत्वमा क्यान्सर रोगको परीक्षण सुरु गरिएको थियो । २०५६ असोज २१ गते तत्कालीन राजा श्री ५ वीरेन्द्रले उद्घाटन गरेको उक्त क्यान्सर केयर सेन्टर अहिले नेपाल सरकारको सुविधासम्पन्न क्यान्सर अस्पताल बनिसक्दा पनि एक सय २० वर्ष पुरानो त्यो भवन अस्पतालकै रुपमा उपयोगमा आइरहेको छ । भक्तपुर नगरपालिका–१, दूधपाटीमा रहेको भक्तपुर अस्पताल ६७ वर्षपछि २०२८ सालमा ५० शैय्यामा विस्तार भई जिल्लास्तरीय अस्पतालको पहिचान बनाएको थियो । २०५८ जेठ १९ गते आकस्मिक (इमर्जेन्सी) सेवाको लागि अमेरिकी सैनिक सहयोगमा छुट्टै भवन निर्माण गरिदिएपछि आकस्मिक उपचार सेवा सुरु गरेको थियो । २०६१ भदौ २८ गते २५ शय्याको प्रसूति सेवा थप भई ७५ शय्यामा विस्तार हुँदै २०७६ चैत ३ गते अस्पताल व्यवस्थापन समितिले २५ शय्या थप गरी १०० शय्यामा विस्तार गरी सञ्चालनमा आएको थियो । कोरोना महामारीमा उपचार नपाउने अवस्थामा पहिलोपटक अस्पतालको जिम्मेवारी सम्हाल्न २०७६ मङ्सिर २० गते सिन्धुली अस्पतालबाट सरुवा भई आएकी डा सुमित्रा गौतमले अगाडि चौरमा तत्कालै अस्थायी कोरोना वार्ड स्थापना गरेर उपचार सुरु गरिन् । कोरोना महामारीमा राख्ने शय्याको अभाव । न आइसीयू, न भेन्टिलेटर, न त जनशक्ति नै पर्याप्त थियो । उनको पहलमा अस्पताल स्थापना भएको एक सय १५ वर्षपछि पहिलोपटक कोभिडकालमा भक्तपुरमा आइसीयू सेवा सुरु भयो । बागमती प्रदेश सरकारले कोभिडका बिरामीहरुको उपचारका लागि भन्दै सुरुमा छ र पछि १० शय्या थप गरी १६ शय्याको सघन उपचार कक्ष (आइसीयू) सञ्चालन भयो । त्यसपछि आइसोलेसन वार्ड, नवजात तथा बालबालिकाको जटिल उपचारका लागि २० शय्याको पिआइसीयू र एनआइसीयूसहित एक सय ८८ शय्यामा सेवा विस्तार गर्दै सङ्कटकालमा पनि गुनासो नआउने गरी अस्पतालले सेवा सञ्चालन गर्यो । चीनबाट पहिलोपटक उद्धार गरेर सरकारले खरिपाटीस्थित आइसोलेसन सेन्टरमा नेपाली विद्यार्थी ल्यायो । सर्वत्र त्रास फैलिएको बेलामा आइसोलेसनमा जाने चिकित्सक टोली तयार भएनन् । त्यो सङ्कटमा प्रदेश सरकारको आग्रहलाई स्वीकार्दै तत्कालीन मेसु डा गौतमको नेतृत्वमा भक्तपुर अस्पताल, क्यान्सर अस्पताल र मानव अङ्गका स्वास्थ्य टोली तयार पारेर चिकित्सकसहितको टोली आइसोलेसन सेन्टरमा खटियो । विसं २०७७ साउन २५ गते सङ्घीय मन्त्रालयको निर्णयअनुसार एक सय नौ शय्या थप गरी यो अस्पताल दुई सय नौ शय्या सञ्चालनका लागि स्वीकृति प्राप्त भई कोभिड–१९ को महामारीकै समयमा कोरोनाको उपचार, अक्सिजन प्लान्ट सञ्चालनदेखि आइसीयूमा रहेका बिरामी कुरुवा घरसमेत निर्माण भयो । कुरुवा घर, सुन्दर बगैँचा, बिरामी र आफन्त बस्ने विश्रामस्थललगायतका संरचना निर्माण हुँदा अस्पतालप्रति बिरामीको र कुरुवाले ठूलै राहत महसुस गरे । निजी अस्पतालको भर परेका बिरामीसमेत यहाँ आउन थालेपछि बहिरङ्गतर्फ दैनिक तीन सय बिरामी आउने अस्पतालमा दैनिक आठ सय बिरामीको चाप पुगेको छ । ‘रिफरल सेन्टर’का रूपमा परिचित भक्तपुर अस्पताल गुणस्तरीय सेवाका कारण सरकारको मूल्यांकनमा पहिलोपटक बागमती प्रदेशको उत्कृष्ट अस्पताल घोषणा हुन सफल भयो । अहिले बागमती प्रदेश सरकारले यस अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरी एक हजार छ सय ६९ जना (प्राविधिकसहित) कर्मचारीको सङ्गठन संरचना स्वीकृत गर्दै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले यसै आर्थिक वर्षमा खरिद गर्ने गरी करिब आठ करोड रुपैयाँ मूल्यको सिटी स्क्यान मेसिन खरिद गर्ने भएको छ । अस्पतालकी निर्देशक डा गौतम अस्पताल आएका कुनै पनि बिरामी उपचार नपाइ फर्किनु नपरोस् भनेर अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, स्त्रीरोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको बताउँछिन् । अहिले अस्पतालमा दूरबिन प्रविधिबाट शल्यक्रिया, अल्जाइमर्स, सर्जरी, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियोथेरापी, आँखा तथा चश्मा जाँच, स्वास्थ्य बीमा सेवा, अल्ट्रासाउण्ड सेवा, पाठेघरको निःशुल्क शल्यक्रिया तथा निःशुल्क प्रसूति सेवालगायत विभिन्न सेवा विस्तार भएको छ । अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएर औषधि खरिदमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । त्यसैगरी लैङ्गिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानुनी सेवासमेत दिने व्यवस्था गरेको निर्देशक डा गौतम बताउँछिन् । अस्पतालले पेइङ क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको ओपिडी सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र बिहान ९ बजे अगाडि पेइङ सेवा सञ्चालनमा ल्याएको हो । साथै विभिन्न जटिल शल्यक्रिया, खुट्टा, छाती, पेटलगायत विशेष अङ्गहरूको भिडियो एक्सरे सेवा र प्रत्येक दिन बुधबार ३ बजेपछि अपाङ्ग बच्चा नजन्मियोस् भनेर गरिने भिडियो एक्सरे अर्थात् एनोमली स्क्यान र दूरबिन प्रविधिबाट शल्यक्रिया सेवासमेत सञ्चालनमा ल्याएको छ । दुई वर्षमा अस्पतालको मुहार फेरेपछि दैनिक दुई सय ५० देखि तीन सय बिरामीको उपचारमा आउने यस अस्पतालमा अहिले दैनिक आठ सयभन्दा बढी बिरामी आउने गरेका छन् । अस्पतालको सेवा खस्किएको भन्दै चौतर्फी आलोचना भएपछि पुनः २०७९ भदौ २९ गते भक्तपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टमा काज सरुवा भएर आफू आएपछि बन्द भएका बच्चाको आइसीयू, एनआइसीयूलगायत विभिन्न सेवाहरु सञ्चालन गरी प्रसूति सेवालाई समेत गुणस्तरीय बनाएपछि सरकारको मूल्याङ्कनमा पुन ९८ दशमलव सात प्रतिशत अंक ल्याएर सातै प्रदेशका प्रदेशस्तरीय अस्पतालमध्ये उत्कृष्ट अस्पतालको पहिचान बनाउन सफल भएको बताइन् । अस्पतालकी निर्देशक डा. गौतमले आफ्नो योजना, विकास समिति, सबै डाक्टर, नर्स, कर्मचारीको अथक प्रयास र सेवा सुधारले आफ्नै कार्यकालमा पहिलोपटक २०७७ मा ७४ अंक, २०७८ मा ८४ अंक ल्याउन सफल हुँदै पहिलो अस्पताल र २०८० को मूल्याङ्कनमा ९७ अंक र यस वर्ष ९८ अंक आएर देशकै उत्कृष्ट अस्पताल बनेकामा आफूलाई खुसी लागेको बताउँछिन् । अस्पतालको निर्देशक डा. गौतमको लगनशीलता, सेवामा गुणस्तरीयता र कर्मचारीको भरपर्दो साथले यस वर्ष पनि उत्कृष्ट अस्पताल घोषणा भएको भन्दै अध्यक्ष कायस्थले छिटोछिटो अस्पतालको नेतृत्व फेरबदल गरिनु नहुने धारणा राख्छिन् । रासस
जलवायु परिवर्तनले बालबालिकामा दमको रोग बढ्दै
पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपाल सहित विश्वभर वायुप्रदुषण बढ्दै गएको छ । वायुप्रदुषण र जलवायु परिवर्तनका कारण मौसम समेत राम्रो हुन सकेको छैन । धुवाँ, धुलो, वायुप्रदुषण, वंशाणुगत गुण, घरमा धूम्रपान, मोटोपना, कम तौल जन्मिनु आदि कारणले बालबालिकामा दमको समस्या अत्याधिक बढेको पाईन्छ । ग्राण्डी अस्पतालमा आउने १०० जना विरामी मध्ये ५ देखि १० जना विरामी दमका हुने गरेको छ । बालबालिकामा मौसम परिवर्तन, चिसोका कारण, रूघाखोकि, भाईरल ज्वरो हुँदा, श्वासप्रश्वास नली साँघुरिंदा दमको समस्या हुने गरेको छ । श्वासप्रश्वास नली साँघुरिंदा खोकी बढी मात्रामा लाग्ने समेत गर्दछ । रुघाखोकी बारम्बार लाग्ने, सुत्ने र उठ्ने बेलामा लाग्ने, दौडिँदा, हाँस्दा, खेल्दा बोल्दापनि बढी खोकी लाग्ने, एन्टिवायोटिक खादाँ एक दुई हप्ता ठिक हुने र बल्झिने, घ्यारघ्यार आवाज आउने यस्तो भएमा दम भएको हुनसक्छ । यस्तो भएमा तत्काल विशेषज्ञ चिकित्सककोमा लैजानुपर्छ । दमलाई औैषधीले ठिक गर्ने होइन, ठिक समयमा दम भएको पत्ता लागेमा दमको उपचार गर्न सकिन्छ । अन्यथा, दम दिर्घरोग भएर जान सक्छ । दमबाट हुने समस्यालाई कम गर्न इन्हेलरको प्रयोग गर्न सकिन्छ । इन्हेलर विभिन्न खालका हुन्छन् । जसलाई डाक्टरको सल्लाह बमोजिम प्रयोग गर्नु पर्ने हुन्छ । बच्चाहरूमा मुख्यत दम एलर्जीबाट हुने हुंदा ठीक संग औषधी लिएमा पछी गएर आफै हराउँन सक्छ र लामो समय इन्हेलर लिइ रहनु पर्ने आवश्यकता रहँदैन । दमका विरामीबाहेक अस्पताल आउने अन्य विरामीमा रुघाखोकी, निमोनिया, टन्सिलाइटिस र ज्वरोका विरामी बढी आउने गरेका छन् । रुघाखोकीका विरामी अत्याधिक रुपमा बढेको छ । बिरामी बच्चाहरु स्कुलमा पठाउँदा अन्य बच्चा समेत विरामी हुने गरेको पाइन्छ । मौसम परिवर्तन र खानपानमा विशेष ध्यान नदिँदा श्वासप्रश्वासका विरामी अत्यधिक बढेका छन् । (बाल, एलर्जी तथा दमरोग विशेषज्ञ डा. सञ्जयराज थापा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल कार्यरत छन् )