अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सचेतक बराल

  काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गरेकीे छन् । नागरिकहरु आज पनि सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै सो अवस्था हटाउन सरकारको ध्यनाकर्षण गराएकी हुन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ओपिडी काउण्टर बढाएर भएपनि बिरामीहरुलाई समयमै उपचार गर्नुपर्ने अवस्था बनाउन माग गरिन् । उनले बिरामी दर्ता, रिपोर्ट बुझ्दा, डाक्टरलाई रिपोर्ट बुझाउँदा बारम्बार लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न आग्रह गरिन् । उनले स्वास्थ्य बीमा गरेका नागरिकहरुले अर्को दर्जाको नागरिकमा दर्ता हुनु जस्तो गरेर व्यवहार गरिने भन्दै सो व्यवहार अन्त्य गर्न आग्रह गरिन् । ‘आज हाम्रा सर्वसाधारण नागरिकहरु सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था छ । बिरामी दर्ता गर्दा एक पटक लाइन बस्ने, रिपोर्ट लिँदा अर्को पटक लाइन बस्ने, डाक्टरलाई फेरि रिपोर्ट देखाउँदा अर्को पटक लाइन बस्ने, पटक पटक लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ’, उनले भनिन् । उनले संवेदनशील क्षेत्र र विषयलाई सुझबुझपूर्ण ढंगले सहज र सरलीकरण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै

गलकोट । जिल्लाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगमी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ। ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । यसअघि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको जिल्ला अस्पतालमा रूपान्तरण गर्ने योजनाअनुसार भौतिक पूर्वाधार निर्माण गरिएको भए पनि त्यो पूरा भएको थिएन । तत्कालीन बागलुङ जिल्ला अस्पताल खारेज भएर बागलुङ बजारमा धौलागिरि अस्पताल बनेपछि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पताल बनाउन भवन निर्माण गरिएको थियो । कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखेर मङ्गलबार गण्डकी प्रदेशसभा बैठकमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बागलुङको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपीपल अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने जनाइएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले बागलुङको बुर्तिवाङ र गोरखाको आँपपिपलमा ५० शय्याको प्रदेश अस्पताल बनाउन गत फागुन ६ गते मन्त्रिपरिषदले निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्य केन्द्र ५० शय्याको अस्पताल भएमा ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका स्थानीय लाभान्वित हुनेछन् । विसं २०५२ मा स्थापना भएको उक्त स्वास्थ्य केन्द्रबाट नियमित रूपमा बहिरङ्ग सेवा, गर्भ जाँच, सुत्केरी सेवा, आधारभूत प्रयोगशाला परीक्षण, खोप सेवा, परिवार नियोजन, क्षयरोग र कुष्ठरोगको उपचार हुँदै आएको छ । यस क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले जिल्ला अस्पताल बनाउने निर्णय गरी ३२ करोड रुपैयाँको लागतमा संरचना निर्माण भइसकेका छन् । स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पताल बनाउने निर्णयपछि संघीय सरकारले प्रदेश सरकार मार्फत आगमी आर्थिक वर्षका लागि १५ करोड बजेट विनियोजन गरेको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव थापाले जानकारी दिए । उक्त बजेट बुर्तिावाङ स्वास्थ्य केन्द्र र गोरखाको आँपपिपलमा अस्पतालको हो । तीन शय्याको प्राथमिक स्वास्थ्य केन्द्रलाई ढोरपाटन नगरपालिका स्थापना पछि १५ शय्याको पालिका अस्पतालका रूपमा सञ्चालन गरिरहेको छ । हाल स्वास्थ्य केन्द्रमा दुई जना विशेषज्ञ र तीन जना मेडिकल अधिकृत कार्यरत छन् । नीति तथा कार्यक्रममा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न मनाङ र मुस्ताङ अस्पताललाई २५ शय्या, पर्वत, स्याङ्जा, दमौली, मध्यबिन्दु र मातृशिशु मितेरी अस्पताललाई ५० शय्या क्षमतामा र अमरापुरी स्वास्थ्य चौकी, गैंडाकोटलाई स्तरोन्नति गरिने उल्लेख छ ।

नेपालका ८०९ वडाका स्वास्थ्य संस्थामा मात्र सर्पदंश सेवा उपलब्ध

काठमाडौं । पछिल्लो समय देशभरि गर्मी बढेको छ । गर्मीयाममा सर्प डसाइकाे जोखिम बढी हुन्छ । तराईदेखि हिमाल, पहाड जुनसुकै स्थानमा सर्पले मानिसलाई डस्छ ।  सर्पको डसाइबाट धेरैकाे मृत्यु हुने गरेकाे तथ्यांकले पनि देखाउँछ ।  अन्य समयभन्दा गर्मीमा सर्पले डसेका बिरामीको अस्पतालमा बढी भीड लाग्छ । तर, नेपालमा सर्पले डसेका नागरिकले समयमै उपचार पाउँदैनन् । जसका कारण उनीहरूले अकालमै ज्यान गुमाउन पुग्छन् । अहिले काठमाडाैंका  टेकु लगायत अन्य अस्पतालमा सर्पदंशका बिरामीको संख्या बढिरहेकाे छ । बर्सेनि विश्वमा २० लाख मानिसको मृत्यु सर्पको डसाइबाट हुने तथ्यांकले देखाउँछ । नेपालमा पनि सर्पको डसाइबाट बर्सेनि तीन हजार बढीले  ज्यान गुमाउँछन् । तर, यसको उपचार भने सहज छैन । नेपालको जनगणना २०७८ को तथ्यांकले नेपालका ८०९ वटा वडाका स्वास्थ्य संस्थामा मात्र सर्पदंशको उपचार हुने देखाएकाे छ । बाँकी वडाका स्वास्थ्य संस्थामा यसको उपचार छैन । जनगणानाअनुसार १२ प्रतिशत नागरिकले सर्पदंश सेवा लिएका छन् । नागरिकले स्वास्थ्य संस्थाबाट अन्य सेवाभन्दा बढी खोप सेवा लिने गरेको पाइएको छ । सरकारले स्वास्थ्य संस्थामा उपलब्ध गराउने विभिन्न सुविधामध्ये नागरिकले धेरै खोप सेवा पाउने गरेको तथ्यांकले देखाएकाे छ । नेपालको जनगणना २०७८ मा संकलन गरिएको विवरणअनुसार ७ सय ५३ वटा स्थानीय तहमा रहेका ६ हजार ४ सय १८ वडाबाट ९५.२ प्रतिशतले खोप सेवा लिएका छन् । प्रदेशगत हिसाबमा हेर्दा कोशी प्रदेशका वडामा सबैभन्दा बढी खोप सेवा लिएको पाइएको छ भने कर्णाली प्रदेश बाहेक अन्य प्रदेशका वडामा ९५ प्रतिशतले खोप लिएको पाइएको छ । यस्तै कर्णाली प्रदेशमा ९२.८ प्रतिशत वडामा नागरिकले खोप सेवा लिएको पाइएको छ । यस्तै, अन्य सेवामध्ये प्रसुतिपछिको स्वास्थ्य सेवा ६० प्रतिशत, निःशुल्क औषधी वितरण सेवा ८४.४ प्रतिशत, रेबिज उपचार भ्याक्सिन सेवा १७.४ प्रतिशत, सर्पदंश उपचार सेवा १२ प्रतिशत, पोषण सेवा ८५.७ प्रतिशतले लिएका छन् । यसैगरी आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवा २४.४ प्रतिशत, सामान्य आकस्मिक ७७ प्रतिशत, मेलेरियाको औषधी उपचार सेवा ४६.५ प्रतिशत, झाडापखालाको औषधी उपचार सेवा ८९.४ प्रतिशत, स्वास्थ्य प्रावधन सेवा ८१.१ प्रतिशत, खोप सेवा ९५.२ प्रतिशत, परिवार नियोजन सेवा ५६ प्रतिशत, प्रसुति सेवा सुविधा ४९.९६ प्रतिशत, गर्भावस्थाको परामर्श तथा गर्भावस्थाको स्वास्थ्य सेवा ८१.२ प्रतिशतले  लिएकाे तथ्यांकले देखाएकाे छ ।