स्वास्थ्य मन्त्रालयको परिसरमै डेंगी फैलाउने लामखुट्टेको बासस्थान !

गण्डकी । डेंगी सङ्क्रमणविरुद्ध उक्त रोग सार्ने लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्नै मन्त्रालय परिसरको सरसफाइमा भने बेवास्ता गरेको पाइएको छ । मन्त्रालयको वरिपरि यत्रतत्र रुपमा रहेका पुराना टायर, चर्के–फुटेका भाँडावर्तन, खाली बोतल, कवाडी सामग्री, भान्छाको फोहर आदि नहटाउँदा मन्त्रालयमै डेंगी सङ्क्रमणको जोखिम बढेको हो । मंगलबार अपरान्हपख मन्त्रालय परिसरमा पुग्दा पार्किस्थलको छेउमा रहेका साना टहराको चेपमा रहेका पुराना टायरमा सफा पानी जमेको देखिन्थ्यो । स्वास्थ्यकर्मीका अनुसार डेंगी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ । पुराना टायर, ड्रम, खाली बट्टा, पुराना भाँडाकुँडालगायतमा रहेको सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन भइरहेको हो । तर, सिंगो गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रको जिम्मा लिएको मन्त्रालय नै डेंगीको सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान नष्ट गर्नमा चुकेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट अलग्गिएर छुट्टै मन्त्रालयको अस्तित्वमा आएको स्वास्थ्य मन्त्रालय अहिले प्रदेश स्वास्थ्य निर्देशनालयको भवनबाट सञ्चालन भइरहेको छ । मन्त्रालयका भित्री कक्ष र कोठा सफा र चिटिक्क देखिएपछि बाहिरी परिसर भने अव्यस्थित देखिन्छ । मुख्य भवनको अगाडिपट्टि रहेको उद्यान पनि सरसरफाइ नहुँदा घाँसको झाडीले ढाकिएको छ । चमेनागृहबाट निस्कने फोहर पनि भवनको पछाडिपट्टि लगेर जथाभावी फाल्ने गरिएको भेटिएको छ । पत्रु परेका गाडी, फर्निचरलगायत सामग्री समयमा लिलाम नगरी भद्रगोल अवस्थामा राखिएको छ । पार्किङ परिसरमै थन्किएको मिनिट्रकभरि टायर, कार्पेटलगायत कवाडी सामान अलपत्र छाडिएको छ । खुला ठाउँमा राखिएका ती सामानमा पनि आकाशबाट परेको पानी जमेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले प्रदेशको स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना सार्वजनिक गरेकै दिन मन्त्रालयको सरसफाइको अवस्था दयनीय थियो । हातमुख धुने बेसिनको पाइप फुटेपछि पानीको निकासका लागि तलपट्टि फोहर राख्ने भाँडो थापिएको थियो । पुराना फलामका सामान, जस्ता पाता, प्लाष्टिक, पानीका खाली बोतल जहीतहीँ छरिएको अवस्थामा थिए । अरुलाई सरसफाइको सबक सिकाउने स्वास्थ्य मन्त्रालयकै सरसफाइको अवस्था किन त्यस्तो ? मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले मन्त्रालयलमा नियमित सरसफाइ गर्ने गरिएपनि कतै छुटेको हुन सक्ने बताए । ‘सरसफाइमा कमी भएको रहेछ भने हामी सम्बन्धित कर्मचारीलाई कुरा गर्छौँ, नयाँ मन्त्रालय भएकाले पनि केही व्यवस्थापकीय काम गर्न बाँकी छ’, उनले भने । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले डेंगी फैलाउने लामखुट्टको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने बताए । महानगरपालिकाले लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गरेको भएपनि डेंगी रोकथाम चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ । ‘वर्षा रोकिएको केही दिनपछि डेंगीको सङ्क्रमण फैलने जोखिम उच्च हुने हुनाले समुदायका सबैले सजगता अपनाउनुपर्छ’ रेग्मीले भने । जमेको सफा पानीमा बस्ने र दिउँसोमा मात्र मानिसलाई टोक्ने उक्त लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी नियन्त्रणको उत्तम उपाय भएको उनले बताए । डेंगीको शंका लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने उनको भनाइ छ । डेंगीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने गरेको रेग्मीले बताए । डेंगीले मानिसको ज्यानैसम्म लिने भएकाले सामान्य रुपमा लिन नहुने स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार प्रदेशभर हालसम्म झण्डै १२ हजार जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकामा मात्रै गत पुसयता पाँच हजार बढीमा सङ्क्रमण पुष्टि भएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । जनघनत्व बढी भएका ठाउँमा डेंगी छिटो फैलने हुँदा मुख्य सहरी क्षेत्रमा सङ्क्रमण तीव्र बनेको हो । आगामी कात्तिक महिनासम्म डेंगी सङ्क्रमणको जोखिम कायम रहने भएकाले यो वर्ष सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने देखिएको महाशाखाका जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । उनका अनुसार डेंगी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ । महानगरपालिकाको वडा नं. ५, ८ लगायतका वडा डेंगीबाट बढी प्रभावित भएको रेग्मीले जानकारी दिए । रासस

मानवीय स्वास्थ्यमा खेलबाड गर्ने औषधि पसल परे कारबाहीमा

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले विभिन्न औषधि पसल (फार्मेसी)हरुलाई कारबाही गरेको छ । भक्तपुरका सहायक जिल्ला प्रमुख अधिकारी डोलेन्द्रप्रसाद निरौलाको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय, औषधि व्यवस्था विभाग, नेपाल प्रहरी, उद्योग वाणिज्य संघसहितको टोलीले सुरु गरेको यहाँका औषधि पसलहरुको अनुगमनमा अवैध रुपमा सञ्चालितलाई कारबाही गरेको हो । भक्तपुरमा अवैध रुपमा औषधि पसल सञ्चालनमा रहेका, अदक्ष व्यक्तिद्वारा औषधि बिक्री हुने गरेको, म्याद गुज्रेका औषधि बिक्री गर्ने गरेको, औषधि पसलबाट अवैध औषधि बिक्री भइरहेको लगायतका गुनासो आएपछि प्रशासनको नेतृत्वमा अनुगमन सुरु गरेको सहायक प्रजिअ निरौलाले जानकारी दिए । अनुगमनका क्रममा भक्तपुर नगरपालिका–१ दूधपाटीमा सञ्चालित समृद्धि फार्मेसीबाट ३० हजार रुपैयाँ बराबरका औषधि जफल गरी  १० रुपैयाँ जरिवाना गरिएको उनले जानकारी दिए । उक्त फार्मेसीले औषधि व्यवस्था विभागमा दर्ता नवीकरण नगरेको, तोकिएको तामक्रममा राख्नुपर्ने औषधिलाई जथाभावी राखिएको, निर्धारित मूल्यभन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि मिति नाघेका औषधि नष्ट गर्नाका साथै जरिवाना लगाइएको हो । त्यस्तै, दूधपाटीकै न्यातापोल फार्मेसीले औषधिको बिल देखाउन नसकेपछि कारबाहीस्वरुप पाँच हजार रुपैयाँ जरिवाना लगाएको छ । खरिद बिल र बिक्री बिल देखाउन नसकेको उक्त फार्मेसीले तापक्रम मिलाएर राख्नुपर्ने औषधि जथाभावी राखेको र मिति नाघेका ५० हजार रुपैयाँ बराबरको औषधि बिक्रीमा राखेका पाइएपछि उक्त औषधि जफत गरी नष्ट गरेको छ । त्यसैगरी, सोही ठाउँका मेरिल्यान्ड फार्मेसी एन्ड क्लिनिकले अनुमति नै नलिई अकुपञ्चर सेवा सञ्चालन गरेको पाइएको छ । टोलीले अनुमतिपत्र लिएर मात्रै अकुपञ्चर सेवा सञ्चालन गर्न, साइनबोर्ड राख्न, सेवा शुल्कको लिष्ट बनाएर देखिने गरी राख्न र १५ दिनभित्र जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ । यहींको भीमेश्वर फार्मेसीलाई औषधिको बिल काट्दा म्यादसमेत उल्लेख गर्न निर्देशन दिएको छ । सूर्यविनायक नपा–६ पाण्डुबजारको कल्पना फार्मेसीले औषधि विभागमा दर्ता नै नभएको औषधि बिक्रीमा राखेको पाइएपछि एक हजार ५०० रुपैयाँ बराबरको औषधि नष्ट गरेको छ । सोही ठाउँको मातृभूमि फार्मेसीले पनि बिग्रिएको फ्रिजमा औषधि राखेको पाइएपछि त्यहाँका औषधि जफत गरी नष्ट गरिएको छ । टोलीले सूर्यविनायक नगर अस्पतालमा नेपाल सरकारले तोकिएको सबै औषधि राख्न निर्देशन दिएको छ । अनुगमन नियमित रहने जनाउँदै सहायक प्रजिअ निरौलाले अधिकांश औषधि पसलमा औषधिहरु तापक्रम मिलाएर नराखेको, जथाभावी औषधि बिक्री गरेको, म्याद गुज्रेका औषधि बिक्रीमा राखेको पाइएको भन्दै मानवीय स्वास्थ्य माथि खेलबाड गर्ने औषधि पसललाई अब कडा कारबाही गरिने बताए । रासस

पर्सामा बने दुई अस्पताल, दुई अधुरै

वीरगञ्ज । संघीय सरकारले पर्सामा चारवटा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेकामा हालसम्म दुई अस्पताल भवनमात्र निर्माण छन् भने दुईवटाको काम अधुरै छ । पटेर्वा सुगौली गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आइसकेको छ भने र ठोरी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पटेर्वा सुगौलीमा निर्माण भएको आधारभूत अस्पतालबाट सेवा प्रवाह भइरहेको छ । पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेशकुमार चौधरीले निरन्तरको पहलकदमीका कारण आधारभूत अस्पताल भवन निर्माण गरेर सेवा प्रवाह भएको बताए । ठोरी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवनमा धमाधम रङरोगनको काम भइरहेको छ । उक्त गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीको १५ शय्याको अस्पताल भवन निर्माण प्रायः पूरा भएको बताए । पर्सामा निर्माण हुनुपर्ने अन्य दुई आधारभूत अस्पतालको काममा भने प्रगति भएको छैन । धोबिनी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल निर्माणमा ढिलासुस्ती भएको छ । धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानले पालिकामा निर्माणाधीन आधारभूत अस्पतालको भौतिक प्रगति २५ प्रतिशत भएको बताए । यसैगरी जिराभवानीमा निर्माणाधीन १० शय्याको अस्पतालको प्रगति पनि २० प्रतिशतभन्दा अधिक भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा २०७७ साल मङ्सिर १५ गते मुलुकभरका तीन सय ९६ वटा पालिकामा पाँचदेखि १५ शय्याको आधारभूत अस्पताल निर्माणको एकसाथ शिलान्यास गरेका थिए । त्यसबेला तीन सय ९६ वटा अस्पताल दुई वर्षभित्रै निर्माण सम्पन्न गर्न ५८ अर्ब रुपैयाँ बजेट लाग्ने बताइएको थियो । सरकारले सुरुमा १५ शय्याको अस्पतालका लागि १८ करोड छ लाख ८२ हजार रुपैयाँ, १० शय्याका लागि १० करोड ८३ लाख ३६ हजार रुपैयाँ र पाँच शय्याको अस्पतालको लागि सात करोड ११ लाख ९७ हजार रुपैयाँ लाग्ने बताएको थियो । रासस