मेडिकल व्यवसायी भन्छन् : बैंकको ब्याज कम हुँदा लगानी गर्नुहुन्थ्यो, सरकारले वातावरण नै बनाएन

काठमाडौं । आठौं मेडिकल तथा ल्याब एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियसन अफ नेपाल (केमसन)  एस.डी प्रोमोको संयुक्त आयोजनामा एक्सपो सुरु भएको हो ।  बिहीबारदेखि सुरु भएको एक्सपोमा नेपाल र भारतका मेडिकल व्यवसायीहरूले मेडिकल तथा ल्याब क्षेत्रका उपकरणहरू प्रदर्शन गरिरहेका छन् । तीन सयभन्दा बढी स्टल रहेको प्रदर्शनीमा व्यवसायीहरूले आ-आफ्नो क्षेत्रका सामग्रीहरू प्रदर्शनीमा राखेका छन् ।  जहाँ मेडिकल तथा ल्याबमा आएका नयाँ प्रविधि र उपकरणबारे मेडिकल व्यवसायी र चिकित्सक र नर्स लगायत स्वास्थ्यकर्मीले प्रत्यक्ष अवलोकन गर्न सक्ने छन् । एक्स्पोमा देशभरका चिकित्सक तथा स्वास्थ्यसँग सरोकार राख्ने व्यक्ति सहभागी भएका छन् । उनीहरूले मेडिकल उपचारमा नयाँ प्रविधिहरू बारे प्रत्यक्ष सहभागी भएर हेर्न सक्ने केमसन नेपालका अध्यक्ष भक्त बहादुर हमालले  बताए ।   ‘यो भन्दा पहिले यस्तो एक्स्पो हुँदैन थियो, सामग्रीबारे जानकारी लिन कि अनलाइन हेर्नुपर्थ्याे, कि क्याटलग हेर्नुहेर्नुपर्थ्याे, यसरी प्रत्यक्ष सामान देख्ने-हेर्न पाइँदैन्थ्यो, यो एक्स्पोमा उहाँहरू आफै आएर उपकरणको बारेमा जानकारी लिन सक्नुहुन्छ,’  उनले भने । हमालले एक्स्पोले स्वास्थ्य क्षेत्रमा लागेकाहरूलाई नवीन प्रविधिबारे अवलोकनसँगै एक अर्का व्यवसायी बिच चिनजान तथा सम्बन्ध बढाउने अवसर समेत दिएको बताए  ।  ९९ प्रतिशत सामग्री आयात नेपालका अस्पतालमा प्रयोग हुने अधिकांश सामाग्री आयातित हुन् । केमसन नेपालका अध्यक्ष हमालले औषधी बाहेक मेडिकल र ल्याबका ९९ प्रतिशत सामग्री आयात हुने गरेको जानकारी दिए ।  उनले नेपालको एक प्रतिशत कम्पनीले केही सामग्री उत्पादन गरेपनि अधिकांश सामग्री विदेशबाट आयात भइरहेको बताए । विभिन्न व्यवसायीले विश्वका अधिकांश देशबाट आयात गरेका सामग्री नेपालका मेडिकल र ल्याबमा प्रयोग भइरहेका छन् । व्यवसायीहरूले जर्मन, जापान लगायत विभिन्न देशबाट आयात गरेका नविनतम् उपकरण तथा सामग्री प्रदर्शनीमा राखेका हुन् । नेपालमा यस्ता सामग्री किन उत्पादन हुन सकेको छैन भन्ने प्रश्नमा हमालले भने,‘ नेपालमा ठूलो मार्केट छैन, हामीले नेपालमै उत्पादन गर्नुपर्छ भन्ने आवाज पहिलेदेखि नै उठाउँदै आएका हौं, तर यहाँ वातावरण नै छैन ।’    अहिले नेपालमा सिरिञ्ज लगायत केही सामग्री उत्पादन हुँदै आएका छन् । हमाल अब नेपालमै ३०/४० प्रतिशत पुर्याउन सक्नुपर्ने बताउँदै यसका लागि सरकारले त्यो खालको वातावरण बनाउनुपर्ने बताउँछन् । उनले राम्रो वातावरण नहुँदा व्यवसायीहरू लगानी गर्न इच्छुक नरहेको बताए । ‘अहिले देशमा लगानी नभइरहेको अवस्था छ,’ उनी भन्छन्,‘ बैंकमा पैसा छ  ब्याज पनि कम छ, तर लगानी गर्न  कोही पनि व्यवसायी उत्साहित छैनन्, यो उत्साहित हुने वातावरण बनाउन नेपाल सरकारले सक्नुपर्छ ।’   

दुई सिफ्ट अपरेशन थाल्ने वीरको तयारी, प्रयोगशालाको क्षमता वृद्धि

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले बताए । ‘अहिले एक सिफ्टमा भैरहेको छ,’ उनले भने, ‘एक साताभित्र दुई सिफ्ट अपरेशन गर्ने गरी व्यवस्था मिलाएका छौं ।’ ल्याब क्षमता वृद्धि निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरणहरु थपिएको बताए । ‘ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौं,’ उनले भने, ‘बाहिर प्रयोगका लागि गैरहेका परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ ।’ डा. गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भैरहेकामा क्षमता वृद्धि गरेर ३२ पुर्याइसकेको बताए । ‘अहिले दैनिक भएको भन्दा बढी एमआरआई सेवा उपलब्ध भएको छ,’ उनले भने, ‘अब पहिलेभन्दा महिनामा दुई सय जनाले बढी सेवा लिन पाउनेछन् ।’ अस्पतालको सफाइका लागि काम शुरु वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाईमा खेप्ने गरिरहेको छ । शौचालय सफा नभएका भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेको भन्दै यसको व्यवस्थापनका लागि समेत काम भैरहेको निमित्त निर्देशक गौतमले बताए । ‘हामीले कसरी अझ बढी सफा गर्न सकिन्छ भनेर टोलीलाई अनुगमन तथा सुधारका लागि खटाएका छौं,’ उनले भने, ‘यसको नतिजा पनि चाँडै देखिनेछ ।’ डा. गौतम एक साता अघि वीरको निमित्त निर्देशकको जिम्मेवारीमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ निर्देशक नियुक्त नहुँदासम्म गौतमलाई वीरको निमित्त दिएका हुन् । यस अवधिमा पनि वीरमा नतिजा देखिने गरी सुधार गर्न मन्त्री पौडेलले भनेका थिए । यसैअनुसार सुधार अघि बढाइरहेको डा. गौतमले बताए ।

स्वास्थ्य मन्त्रालयको सचिवका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त सचिव पदका लागि तीनजनाको नाम सिफारिस गरिएको छ । मन्त्रालयका सचिव डा. रोशन पोख्रेलको समयावधि सकिएपछि रिक्त रहेको पदका लागि डा. टंक बाराकोटी, डा. विकास देवकोटा र डा. संगीता कौशल मिश्रको नाम सिफारिस भएको हो । लोक सेवा आयोगका अध्यक्ष माधव शर्माको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । डा. संगीता कौशल मिश्र सचिव बन्दा स्वास्थ्य क्षत्रमा पहिलो महिला सचिव हुनेछिन् ।