आईएमई लाइफको नगद लाभांश प्राधिकरणले रोक्यो, वैशाख १९ र २० गतेको कारोबार रद्द गर्न माग

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर मात्र दिने भएको छ । कम्पनीले वितरण गर्न प्रस्ताव गरेको नगद लाभांशमा नेपाल बीमा प्राधिकरणले अंकुश लगाएको छ । सुरुमा कम्पनीले ३४.५ प्रतिशत लाभांश घोषणा गरेको थियो । त्यसमा २५ प्रतिशत बोनस सेयर र ९.५ प्रतिशत नगद लाभांश दिने भनिएको थियो । कम्पनीले वैशाख १९ गते ३४.५ प्रतिशत लाभांश घोषणा गरेको थियो । वैशाख २३ गते नयाँ सूचना जारी गर्दै २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने जनाएको हो । ३४.५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको निणर्य बोदार्थ बीमा प्राधिकरणमा पेश गरेकोमा प्राधिकरणले कर प्रयोजनबाहेक नगद लाभांश वितरणमा रोक लगाएको आइएमई लाइफले जनाएको छ । कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ । बोनस सेयर जारीपछि चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरण उच्च स्रोतका अनुसार सेयर प्रिमियमबाट आर्जीत नाफालाई बोनस सेयरको रुपमा वितरण गर्न स्वीकृत गरिएको हो । कम्पनीले बीमा व्यवसाय गरेर आर्जन गरेको नाफालाई नगद लाभांशमा वितरणमा रोक लगाएको छ । ‘२५ प्रतिशत बोनस सेयर वितरण गरेकै छ । कर प्रयोजनका लागि नगद लाभांश पनि वितरण गर्न भनेका छौं । विगत पाँच वर्षदेखि कमाएको नाफालाई कम्पनीले एकै पटक नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको थियो । यो रकम संचित कोषमा राख्नु, अर्को वर्ष वितरण गर्न मिल्छ भनेका हौ’ उच्च अधिकारीले भने । पुँजी बजारमा सूचिकृत कम्पनीको लाभांश घोषणा हुने र पछि घटाउने अभ्यास गलत भएको, यस्ता कार्यले साधारण सेयरधनीलाई फसाउने गरेको यस्ता कार्यको आलोचना हुँदै आएको छ । कतिपय अवस्थामा पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले दोषीहरुलाई कारवाही समेत गरेको उदाहरण रहेका छन् । लाभांश घोषणापछि वैशाख १९ र २० गते पनि सेयर कारोबार भएको थियो । उक्त सेयर कारोबार रद्द गर्नुपर्ने माग खरिदकर्ताले गरेका छन् ।

प्राइम, एभरेष्ट, नबिलबीच आरओईमा टक्कर, एनएमबी र सानिमाले पच्छ्याउँदै

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकहरूले औसत पौने ९ प्रतिशत प्रतिफल दिन सक्ने क्षमता राखेका छन् । बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसत ८.८४ प्रतिशत रटर्न अन इक्विटी (आरओई) रहेको छ । बैंक कति बलियो छ भनेर रिटर्नअन इक्विटी (आरओई) अर्थात् सम्पत्तिमाथिको प्रतिफल हेरेर थाहा पाउन सकिन्छ । विभिन्न बैंकहरूले अर्बाैं नाफा गरेको देखाएपनि उनीहरूले लगानी गरे अनुसारको कमाए वा कमाएनन् भन्ने विषय जानकारीका लागि सम्पत्तिमाथिको प्रतिफल सूचक हेर्नुपर्ने हुन्छ । १० अर्बदेखि ३५ अर्बको हाराहारीको चुक्ता पुँजी भएका बैंकहरू छन् । बैंकहरूले यथार्थमा कति कमाए ? बैंकको स्ट्रेन्थ कस्तो छ ? भन्ने विषय थाहा पाउन आरओई नै सबैभन्दा अब्बल सूचक हो । लगानीमा कति प्रतिशत नाफा गरेको छ ? भनेर हेर्न रिटर्न अन इक्विटी नै हेर्नुपर्ने हुन्छ । सेयरधनीहरूले बैंकमा गरेको कुल लगानीको प्रतिफल नै रिटर्न अन इक्विटी हो । रिटर्न अन इक्विटीमा सबैभन्दा अब्बल स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएको छ । चैत मसान्तसम्म यस बैंकको आरओई १८.९२ प्रतिशत छ । प्राइम बैंक, एभरेष्ट बैंक, नबिल बैंक, एनएमबी बैंक र सानिमा बैंकबीच आरओईमा प्रतिस्पर्धा देखिन्छ । प्राइमको आरओई १४.१५ प्रतिशत, एभरेष्टको १३.०४ प्रतिशत, नबिलको १२.०३ प्रतिशत, एनएमबीको १०.४३ प्रतिशत र सानिमाको १०.३४ प्रतिशत आरओई छ । साथै बैंकलाई नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंकले पछ्याइरहेका छन् । नेपाल एसबीआई र एनआईसी एशियाको समान आरओआई ८.८८ प्रतिशत छ भने सिद्धार्थको ८.८० प्रतिशत, कृषि विकासको ८.१५ प्रतिशत, सिटिजन्स र ग्लोबल आइएमईको समान ८.०४ प्रतिशत छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.८५ प्रतिशत, हिमालयन बैंकको ७.७३ प्रतिशत, प्रभु बैंकको ७.६१ प्रतिशत, माछापुच्छ्रे बैंकको ७.११ प्रतिशत आरओआई छ । राष्ट्रिय वाणिज्य बैंकको ६.२२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.६४ प्रतिशत, कुमारी बैंकको ४.०३ प्रतिशत र नेपाल बैंकको ०.४८ प्रतिशत रिटर्न अफ इक्वीटी छ ।

तितेपाती निर्यात गरेर डलर कमाइ, कोठाबाट सुरु भएको व्यवसाय फ्याक्ट्रीदेखि अस्पतालसम्म

काठमाडौं । तितेपातीको निर्यात गरेर डलर आम्दानी गर्न सकिन्छ भनेर सुन्दा र पढ्दा तपाईंलाई एकछिन अचम्म लाग्न सक्छ । किनकी नेपालमा तितेपाती प्रयाप्त पाइन्छ र त्यसलाई हामीले कुनै वास्ता गर्दैनौं । जुन वस्तु हामीसँग बढी हुन्छ त्यो विषयको चासो र प्राथमिकतामा पर्दैन । तर, काठमाडौं सितापाइँलाका ईश्वर बलामीले त्यही तितेपातीको प्रयोगले डलर कमाइरहेका छन् । उसो त उनी विद्यार्थीकालमा अकुपंञ्चर विज्ञान पढ्दै गर्दा तितेपातीबाट मोक्जा (तीतेपातीको भुवा)बन्छ भन्ने कुरा थाहा थियो । तर, कस्तो तितेपातीबाट बन्छ, कसरी बन्छ भन्ने अन्योल उनमा थियो । जब उनी थप अध्ययनका लागि जापान गए, उनी सो विषयमा प्रष्ट भए । उनले जापानमा त्यो विषयमा अध्ययन गरे । त्यही बेला उनलाई लाग्यो, ‘म अब नेपाल फर्केर मोक्जा (तितेपातीबाट निकालिएको भुवा) बनाउँछु ।’ सोही बेला उनी नेपाल फर्किए । उनले नेपाल फर्केर घरको कोठाबाट तितेपातीको व्यवसाय सुरु गरे । आफूले तितेपातीको व्यवसाय सुरु गरेको जानकारी जापानको यमोसा कम्पनीलाई दिए । उनको परिवारले पनि सो व्यवसायमा उनलाई प्रोत्साहन गरे । उनले सुरुमा तितेपाती संकलन गरेर जापान पठाए । जापानमा सिकेअनुसार आफैं मोक्जा बनाएर ल्याब टेस्ट गरेर नमुनाका रुपमा जापान पठाए । तितेपातीलाई ल्याबमा टेष्ट गर्दाको अनुभव पनि नमिठो छ । ‘मैले आफैं बनाएको मोक्जा भन्दा धेरैले होइन होला भनेर मजाक बनाए, टेस्ट गरिसकपछि सबैले पत्याए, जापानमा मोक्जा पुग्दा त्यहाँको कम्पनीले राम्रो मोक्जा भन्दै प्रशंसा गरे, सुरुवाती दिनहरू स्मरण गर्दै उनी भन्छन्, ‘त्यसपछि सरकारसँग अनुमति लिएर नियमित तितेपाती निर्यात गरिरहेको छु ।’ …त्यसपछि खुल्यो फ्याक्ट्री १४ वर्षअघि उनले एक कन्टेनर लगभग चार टन तितेपाती संकलन गरेर जापान पठाए । नेपालबाट तितेपाती जापान पुग्न डेढ महिना लाग्छ । तितेपाती विरगञ्ज भन्सार हुँदै कोलकत्ता बन्दरगाहबाट जापान पठाइन्छ ।यताबाट तितेपाती पठाइसकेपछि उनी पनि जापान गए । आफैंले त्यहाँ गएर मोग्जा बनाए । त्यसपछि नेपालको तितेपातीको मोग्जा राम्रो रहेको बताउँदै त्यहाँको कम्पनी नेपालको तितेपाती लिन सहमत भयो । त्यसपछि त्यहाँको यमोसा प्रालि नेपालको तितेपानी लिन तयार भयो र ईश्वरले नेपालमा फ्याक्ट्री सञ्चालन गरेको बताउँछन् । उनलाई सहयोग गर्न त्यहाँको कम्पनी तयार भइसकेपछि ईश्वरले आफ्नै जग्गामा फयाक्ट्री खोले । त्यसका लागि २२ जना कर्मचारी राखे । तितेपाती संकलन गर्नेेखि मोक्जा बनाउन गर्नुपर्ने सबै काम कर्मचारीलाई सिकाए । बिस्तारै सबै कर्मचारीले काम सिके । मोक्जा निर्यात गरेपछि डलर कमाइ हुन थाल्यो । उनी १२/१३ वर्ष परिक्षणकालमै बिताएको बताउँछन् । फ्याक्ट्रीका लागि चाहिने सबै मेसिन उनी आफैंले तयार पारे । जापानमा लिएको तालिमका आधारमा हुबहु त्यहाँ भएजस्तै सामाग्री उनले नेपालमै बनाएको बताउँछन् । ‘फिनिसिङ हुबहु नभयो होला, जुन सामान जापानमा रहेको कम्पनीमा थिए ती सामान मैले आफैं बनाएँ,’ उनले भनी भन्छन्, ‘यसका लागि विदेशबाट कुनै पनि उपकरण ल्याइनँ ।’ के काम गर्छ तितेपातीले ? तितेपातीले औषधिको काम गर्छ । उनले मोक्जिबेसन थेरापी अकुपञ्चर विज्ञानको थेरापी उपचार गर्न सक्ने बताउँछन् । नसर्ने रोग चिसोपाता खाएका रोगहरूको यसले उपचार गर्न सकिने उनको भनाइ छ । विश्व स्वास्थ्य संगठनले पनि यसलाई मान्यता दिइसकेको छ । बाथरोग, झमझमाउने, पोल्ने, टाउको दुख्ने, कम्मर दुख्ने, नशा च्यापिएको र नशा पोल्ने रोग लगायत यस्ता धेरै रोगको यसबाट उपचार गर्न सकिन्छ । यो उपचारबाट कुनै पनि साइड इफेक्ट नहुने उनी बताउँछन् । पूर्वीय चिकित्साको रुपमा यो उपचार चलेको छ । हाम्रो मानव शरीरमा रहेका नसर्ने रोगहरूमा यसबाट उपचार गर्न सकिन्छ । पूर्वी नेपालको तेह्रथुमका उमेश लिम्बु फुटबल खेलाडी हुन् । उनले देशविदेशमा राष्ट्रिय र अन्तराष्ट्रियस्तरका खेल खेलेका छन् । उनलाई आजभन्दा ९/१० वर्ष पहिले प्रेसर बढ्ने समस्या देखियो । उनी अस्पताल पुगे । डाक्टरको सल्लाह लिए केही औषधी खान र नियमित शारीरिक व्यायम गर्न डाक्टरले सल्लाह दियो । उमेशले केही दिनसम्म औषधी निरन्तर खाए । पछि आफैले औषधी खान छोडे । केही समयसम्म औषधी नखाँदा पनि राम्रै थियो । तर, एक्कासी उनलालाई प्यारालाइसिस भयो । उनका हातखुट्टटा नै चल्न छोडे । प्यारालाइसिस् भइसकेपछि उनको हिँडडुल सबै बन्द भयो । उपचारका लागि उनलाई नेपाल र भारतका विभिन्न अस्पताल पुर्याइयो । प्यारालाइसिसको उपचार भनेको अकुपञ्चर थेरापी हो । उनी यसका लागि २ वर्ष पहिले सितापाइलाको रामकोट जानेबाटोमा रहेको दिव्या सञ्जिवनी अस्पताल पुगे । त्यहाँ उनी २ वर्षदेखि निरन्तर अकुपञ्चर थेरापी गरिरहेका छन् । पहिले अस्पताल बोकेर पुर्याउने, लैजानु पर्ने उनी अहिले आफैं हिँडेर अस्पताल आउने/जाने गर्छन् । उनले तितेपातीको मोक्जाबाट बाट थेरापी गरिरहेका छन् । उनी जस्तै अस्पताल आउने धेरै बिरामी अहिले यही विधिबाट उपचार गरिरहेका छन् । अस्पताल पनि सञ्चालनमा २६ वर्ष पहिले दरबार मार्गमा ईश्वरको क्लिनिक थियो । एकदिन क्लिनिकमा आयुर्वेद विज्ञान, प्राकृतिक चिकित्सा, फिजियोथेरापीका साथीहरू जम्मा भए । उनीहरूबीच सबै क्षेत्रको एकै ठाउँमा सेवा दिन मिल्ने गरी अस्पताल सञ्चालन गर्ने छलफल भयो । यो छलफलपछि ईश्वर सहित ४/५ जना साथीहरू मिलेर अस्पताल सञ्चालनमा ल्याउन सहमत भए । अहिले सञ्जिवनी अस्पताल र यामोशा प्रालि एक अर्काका परिपुरक संस्था सञ्चालनमा ल्याए । ‘यामोशाले थेरापीका लागि आवश्यक मोक्जा बनाउँछ, अस्पतालले यसको प्रयोग गर्छ, अकुपञ्चष्टिर, मैले कहीँ न कहीँ उपचार गर्नै पथ्र्यो सँगै अस्पताल हुँदा उपचार गर्न सहज भएको छ,’ उनले भने । एउटा युवाले घरबाट सुरु गरेको व्यवसाय अहिले निर्यातसम्मको अवस्थामा पुगेको छ । यसमा उनी खुस छन् । उनले कक्षा १ देखि १० सम्म बनस्थली पढे । व्यवस्थापनमा स्नातक पास गरे । त्यससँगै मेडिकल साइन्स पनि पढे । उनी आफू अकुपञ्चर पढ्न आफ्नो श्रीमतिको सहयोग रहेको बताउँछन् । उनको श्रीमती पनि उनीसँगै अकुपञ्चर पढ्न साथी थिइन् । घरपरिवारको सहयोगले नै आफू यो अवस्थामा आइपुगेको उनी बताउँछन् । बुबा पनि व्यवसायी ईश्वरको बुवा पन व्यापार गर्थे । उनको घरमा राइस मिल थियो । ईश्वर जापानबाट फर्किसकेपछि तितेपातीको खोजीमा लागे । उनी यसका लागि रामकोटको वरिपरी झाडीमा पस्न थाले । उनले तितेपाती खोज्न थालेको देखेर सबैजना अचम्मित हुन्थे । विगत स्मरण गर्दै उनी भन्छन्, ‘कति जनाले ईश्वर बौलायो पनि भन्थे, त्यसो भन्नेलाई बरु पैसा दिन्छु, मलाई तितेपाती ल्याइदिनु भन्थेँ, अरुको कुरा नसुनेर आफ्नो काम गरेँ ।’ फ्याक्ट्री सञ्चालनमा ल्याएको १४ वर्ष भएपनि उनी तितेपातीको व्यवसायमा लागेको भने ३० वर्ष भइसकेको छ । उनी अहिले अकुपञ्चेरिष्ट मात्रै होइन व्यवसायी पनि बनेका छन् । उनलाई देशका अन्य ठाउँमा पनि फ्याक्ट्री खोल्ने मन छ । अहिले १०/११ जिल्लाका किसानले तितेपाती खेति नै गरिरहेका छन् । ईश्वरलाई २० टन तितेपाती उत्पादन गर्न सक्ने किसान चाहिएको छ । ‘मलाई अन्य जिल्लामा पनि फ्याक्ट्री खोल्ने याजना छ,’ उनी भन्छन्, ‘यसका लागि २० टन तितेपाती उत्पादन गर्न सक्छु भन्ने किसान हुनुपर्यो, अहिले यमोशा प्रालीलाई पनि प्रयाप्त मोक्जा पुर्याउन सकेको छैन, माग धेरै छ, उनी भन्छन्, ‘खाडीमा २०/३० हजार कमाउन गएका साथीहरूले झाडीमा पसेर तितेपाती खोजिदिएको भए देशको लागि पनि र सो व्यक्तिको लागि पनि राम्रै हुने थियो ।’ जनशक्तिको अभाव उनले गाउँमा गएर तितेपाती संकलन गर्ने मान्छे पाएका छैनन् । अहिले ताप्लेजुङ, सखुवासभा, पाँचथर, धादिङ, नुवाकोट, दोलखा, सिन्धुपाल्चोकमा व्यावसायिक रुपमा तितेपाती उत्पादन भइरहेको उनले बताए । उनले ठूलो परिमाणमा छ भने ट्रक र थोरै छ भने बस वा अन्य सवारी साधनमा ल्याइने गरेको बताए । उद्योग दर्ता भइसकेपछि वैदेशिक लगानी ल्याउन सबै भन्दा गाह्रो हुने उनको अनुभव छ । नेपालमा अथाह सम्भावना हुँदा पनि युवा विदेशिएको देख्दा उनलाई बिरक्त लाग्छ । नेपालमा धान, गहुँ, मकै, कोदो परम्परागत खेतीबाटै भविष्य रहेको उनको भनाइ छ । सबै वस्तु विदेशबाट आउने गरेको बताउँदै यस्ता खेतिहरू बैज्ञानिक तरिकाले गर्न सक्ने हो भने खाडीको घाम खान नपर्ने उनी बताउँछन् ।