सेयर बजार अत्याधिक बढेपछि सर्किट ब्रेकर

काठमाडौं, २५ साउन । सोमवार ५ प्रतिशतले घटेपछि स्वभाविक समयभन्दा डेढघण्टा पहिला नै बन्द गराइएको सेयर बजार मंगलवार एक घण्टामै ५ प्रतिशतले बढेपछि कारोवार बन्द गरिएको छ । मंगलवार सवा १२ बजेसम्ममा नेप्से पसिुचक ५ दशमलब ०४ अंकले बढेपछि कारोवार बन्द गरिएको हो । एकै दिनमा ५ बजार ५ प्रतिशतले बढे वा घटेमा सो दिनको कारोवार बन्न गर्ने ब्यवस्था छ । मंगलवार बजार खुलेसँगै परिसुचक तिब्र गतिमा बढ्न थालेको थियो । छोटो समयमा नै परिसुचक ८४ दशमलब ५१ अंकले बढेर १७६० दशमलब ४२ अंकमा पुगेको छ । मंगलवार बैंकिङ समुह ९६ अंकले, होटल समुह ११९ अंकले, विकास बैंक समुह ४४ अंकले, जलविद्युत समुह १३८ अंकले, फाइनान्स कम्पनी समुह १२ दशमलब ६९ अंकले, बीमा कम्पनी समुह ५११ दशमलब ३९ अंकले र अन्य समुह १५ अंकले बढेको छ । सो दिन २० करोड ८३ लाख रुपैयाँ बराबरको कारोवार भएको छ ।

कर्मचारी संचय कोषका सामाजिक सुरक्षा योजना सबैका लागि खुला गरिदै, स्वरोजगारलाई नयाँ अवसर

काठमाडौं, २५ साउन । ५४ वर्षपछि कर्मचारी सञ्चयकोष ऐन २०१९ संशोधन हुने भएको छ । विभिन्न दफाहरुमा दफादार छलफल पश्चात व्यवस्थापिका–संसद् अन्तर्गतको अर्थसमितिले ‘कर्मचारी सञ्चय कोष नवौं संशोधन विधेयक–२०७१’ पारित गरेको थियोे । समितिबाट विधेयक पास भइसके पनि संसदमा भने अझै छलफल हुन बाँकी छ । कृष्णप्रसाद आचार्य यसअघि सरकारी कर्मचारी, सार्वजनिक संस्थान र निजी उद्योग प्रतिष्ठानमा कार्यरत व्यक्तिले मात्र कोषको अवकाश योजनामा सहभागी हुन पाउने व्यवस्थालाई संशोधन गर्दै नियमित आयस्रोत भएका व्यक्ति सोझै कर्मचारी सञ्चयकोषको अवकाश योजनामा सहभागी हुन पाउने नयाँ व्यवस्था लागू गर्ने लागेको छ । सामाजिक सुरक्षाका योजनाहरूमा सहभागी हुन पाउने आम नागरिकको हक हो । सो हकलाई सुनिश्चित गर्न नियमित आयस्रोत भएका स्वरोजगार व्यक्तिहरूलाई कोषले सञ्चालन गर्ने अवकाश योजनाभित्र समेट्न ऐन संशोधन गर्न लागेको कोषका प्रशासक कृष्णप्रसाद आचार्यले बताए । नेपालको अन्तरिम संविधान–२०६३ ले प्रत्याभूत गरेको सामाजिक सुरक्षाको हकलाई साकार पार्न ऐनलाई संशोधन गर्न लागिएको हो । ‘स्थायी कर्मचारीहरुको हक सर्वथा कायम हुने गरी निजी क्षेत्रका स्वरोजगारमा सम्लग्न व्यक्तिलाई सामाजिक सुरक्षाको सञ्जालभित्र ल्याउन आवश्यक देखिएको थियो,’ उनले भने ‘ संशोधित ऐन नयाँ व्यवस्थासहित आउने छ ।’ ऐन कार्यान्वयनमा आउने भएपछि स्वरोजगारमा संलग्न व्यक्तिहरूको कोष कट्टीसम्बन्धी अन्य व्यवस्थालाई विस्तृत रूपमा नियमावलीद्वारा संशोधन गर्नु पर्ने यनले बताए । मूल ऐनको दफा २ को खण्ड (ख—१) पछि थप गरिएको प्रावधानअनुसार स्वरोजगारमा संलग्न व्यक्तिको व्याख्या गर्दै निजी रूपमा सञ्चालित व्यवसाय वा रोजगारीबाट आय आर्जन गर्ने इञ्जिनीयर, चिकित्सक, कानून व्यवसायी, लेखापरीक्षक लगायत पेशा व्यवसाय गर्ने व्यक्ति वा निजसँग सम्बद्ध कर्मचारीका साथै वैदेशिक रोजगारमा संलग्न व्यक्ति, अस्थायी वा सेवा करारमा कार्यरत व्यक्ति, घरेलु कामदार, कृषक, असङ्गठित क्षेत्रमा कार्यरत मजदूर तथा चिया बगानका कामदार समेतलाई समेटिएको विधेयकमा उल्लेख गरिएको छ । कोषले अनौपचारिक क्षेत्र तथा वैदेशिक रोजगारीमा काम गर्ने व्यक्तिहरूको सम्भावित बचतकर्ताहरूका विषयमा छुट्टाछुट्टै अध्ययन गरिरहेको छ । यस सम्बन्धमा कोषले अध्ययन गरी केही तथ्याङ्क सङ्कलन पनि गरिसकेको छ । ‘अनौपचारिक तथा विदेशमा काम गर्ने सबै श्रमिकको भविष्य सुनिश्चित गर्नु आवश्यक देखिएकाले त्यस्ता व्यक्तिसमेत कोषमा सञ्चयकर्ता हुन पाउने प्रावधान राखेर विधेयक प्रस्ताव गरिएको थियो,’ उनले भने ‘ उक्त प्रस्तावलाई समितिले पारित गरिसकेको छ ।’ चिया बगानका श्रमिक तथा सहकारी सङ्घ संस्थामा कार्यरत कर्मचारीले समेत कोषमा आफ्नो आम्दानीको कोष कट्टा गर्न सक्ने व्यवस्था विधेयकमा समावेश गरिएको र सो पनि पारित भएको छ । साथै, ऐनमा भएको मजदूर तथा कामदारको स्थानमा श्रमिक भन्ने शब्द संशोधन गरिएको छ । सञ्चयकर्ताले मासिक पारिश्रमिक रकमबाट कोषमा जम्मा गर्ने र कानुनअनुसार थप हुने रकम कोषमा जम्मा गर्ने जिम्मेवारी लिएको कर्मचारीले दाखिला गरेको नपाइएमा त्यो व्यक्तिबाटै रकम असुल गर्ने व्यवस्था गरिएको छ । उक्त व्यक्तिबाट सञ्चयकर्ताको सम्पूर्ण रकम असुल हुन नसकेमा त्यस्तो कर्मचारीको अन्य चलअचल सम्पत्तिबाट सरकारी बाँकी सरह असुल गर्ने प्रावधानका लागि सिफारिश गरिएको छ । पारित विधेयकको दफा ७ मा राखिएको संशोधन प्रस्तावअनुसार मूल ऐनको दफा १२ ख को उपदफा १ मा रहेका दश वा दशभन्दा बढी कर्मचारी काम गर्ने संस्थाले भन्ने शब्दको सट्टा सङ्गठित संस्थाले भन्ने शब्दावली राखिएको छ । प्रस्तावित नयाँ प्रावधानअनुसार स्वरोजगारमा संलग्न व्यक्तिले तोकिए बमोजिम रकम कोषमा जम्मा गर्न तथा कोषमा जम्मा रहेको रकमको सङ्कलन तथा भुक्तानी सुविधा पाउन सक्नेछ ।

पूँजी बजारलाई अप्राकृतिक ढंगले घटाउने प्रयास भैरहेको छः अम्बिकाप्रसाद पौडेल

अम्बिकाप्रसाद पौडेल, प्रबन्ध निर्देशक, हाथवे इन्भेष्टमेन्ट लिमिटेड हाथवे इन्भेष्टमेन्ट कम्पनी विगत लामो समयदेखि नै सेयर बजारको सक्रिय लगानीकर्ताका रुपमा रहेको छ । हामीले राम्रो नाफा कमाएका छौं र पोर्टफोलियो पनि राम्रो छ । हामी पुँजी बजारबाट बहिर्गमन भएका छैनौं । असार मसान्तभन्दा आजको मितिमा मैले २५ देखि ३० प्रतिशत भन्दा बढी सेयर किनिरहेको छु । म के मान्यतामा विश्वास राख्छु भने अहिले नेपालको पुँजी बजार हिजोको अवस्थामा जस्तो छैन् । २१/२२ बर्षको मेरो अनुभवमा पुँजी बजारमा तीन/चार वटा उचारचढाव व्यहोरेको छु । पुँजी बजारमा आरोह अवरोह आउन तीन/चार वटा फ्याक्टरले काम गरेको हुन्छ । तर अहिलेको अवस्थामा त्यस्तो कुनै पनि फ्याक्टर देखा परेको छैन् । पहिले बजार घट्दा देखापरेका कुनै पनि कारण अहिलेको बजारमा देखापरेका छैनन् । त्यसकारण पुँजी बजार घट्नु पर्ने अवस्था छैन् । पहिले बजार घट्दा बजारमा तरलता अभाव भैसकेको थियो । बैंक तथा वित्तिय संस्थाको परफरमेन्स घट्दो अवस्थामा थियो । कतिपय वित्तिय संस्था त खारेजीमा लैजानु पर्ने भैसकेका थिए । त्यस नतिजाका रुपमा पुँजी बजार विस्तारै घट्दै गएको थियो । हिजो र आजको तुलना गर्दा आज प्रत्येक बैंक तथा वित्तिय संस्थाको ग्रोथ विगत वर्षको भन्दा धेरै राम्रोसँग वृद्धि भएको देखिन्छ । हामीले गत वर्ष ठूलो भूकम्प र नाका बन्दी खेप्यौं । तै पनि कम्पनीहरुको परफरमेन्स राम्रो छ । भवितव्य भूकम्प त आउला तर नाकाबन्दी त अब हुने छैन । हामीले आजको दिनमा हेर्दा निकट भविष्यमै त्यति ठूलो संकट आउने सम्भावना देखिन्न । भूकम्प र नाका बन्दीका बावजुद बैंक तथा वित्तिय संस्थाहरुको बिजनेश ३० देखि ४० प्रतिशतसम्म बढेको छ । यो बर्ष कति बढ्ला हामीले नै अनुमान गर्न सक्छौं । अर्काे कुरा भनेको अहिले बैंक तथा वित्तिय संस्थाहरुसँग पर्याप्त मात्रामा तरलता छ । हिजो बैंक तथा वित्तिय संस्थाहरु सेयरको सर्टिफिकेट देख्दा डराउँथे । अहिले कोसँग सेयरको सर्टिफिकेट छ भनेर खोजेर हिडिरहेका छन् । अनि हामी किन डराउने ? विगतमा बैंक तथा वित्तिय संस्थाहरुको संख्या पनि बढ्ने र सेयर संख्या पनि बढ्ने क्रम थियो । तर अहिले बैंक तथा वित्तिय संस्थाहरु पनि मर्ज हुने क्रम बढेको छ । हिजो एक सय कित्ता सेयर हुनेहरुको सेयर संख्या अहिले मर्ज भएर घट्दै ५० कित्तामा झरेको छ । बोनस र राइट सेयरले सेयर संख्या बढ्यो भन्ने भन्दा पनि समग्र बजारमा कति कित्ता बढ्यो भनेर हेर्नु पर्छ । सेयरको संख्या घटेकै देखिन्छ । मार्जिन ल्याण्डिङको ऋण लिएर सेयरमा लगानी गर्नेहरुको संख्या निकै कम देखिन्छ । यो कसैले पनि कल्पनासम्म गरेका थिएनन् । नेपाल राष्ट्र बैंकले तोकेको भन्दा कम मात्रामा ऋण गएको सेयर बजारमा मात्रै हो अन्यत्र धेरै गएको छ । अहिले सेयर बजारमा भएको लगानी सबै रिजर्भ बेस र सेभिङ बेसका लगानीकर्ताको हो । ऋण लिएर लगानी गर्नेहरुको संख्या कम छ । नेपालमा सेयर बजार पहिलो क्षेत्र हो जहाँ ५० प्रतिशत महिलाहरुको सहभागीता रहेको छ । अरु क्षेत्रमा नियम बनाएर आउनुस भन्दा पनि महिलाहरुको सहभागीता कम छ, पुँजी बजारमा स्वतः ५० प्रतिशत भन्दा बढिको उपस्थिती छ । महिलाहरु जहिले पनि राम्रो बुझेर लगानी गर्नुहुन्छ । ऋण लिएर भन्दा पनि बचत गरेको पैसा लगानी गर्नुहुन्छ । त्यसकारण पनि अहिले सेयर बजार जोखिममा छैन् । सात/आठ बर्ष पहिलेसम्म एउटा ब्रोकर कहाँ जम्मा २० देखि २५ जना लगानी कर्ता हुन्थ्यौं । आज एउटै ब्रोकर कहाँ दुई तीन सय लगानी कर्ता झुम्मिरहनु भएको छ । घरैबाट डिजिटल माध्यमबाट लगानी गर्नेको संख्या पनि बढेको छ । लाखौं लाख लगानी कर्ता थपिएका छन् । पहिले पहिले प्लेयरले बजार घुमाए भन्ने सुनिन्थ्यो । अहिले बजारमा कोहि पनि प्लेयर छैनन् । लाखौं लगानी कर्ता थपिएका छन् । आज सबै लगानी कर्ता बजारका प्लेयर हुन् । बजार माग र आपुर्तिका सिद्धान्तका आधारमा अघि बढेको छ । त्यसैले नेप्से परिसूचक २९२ बाट १८ पुग्दा पचासौं पटक इन र आउट भएको छ । पछिल्लो चार दिनदेखि बजारको प्राकृतिक नियमलाई तोडमोड गरेर बजार घटाउने चलखेल भैरहेको छ । बजारमा साना र ठुला लगानी कर्ताको चर्चा चलाईएको छ । लगानी कर्ता साना र ठुला हुँदैनन् । कसैले आफुसँग भएको दुई लाख रुपैंयाँ सबै सेयर बजारमा लगानी गर्यो भने उसलाई साना लगानीकर्ता भन्न मिल्छ ? मेरो विचारमा ऊ सबै भन्दा ठूलो लगानीकर्ता हो । आफुसँग भएको कुल नेटवर्थ नै बजारमा लगानी गर्नेलाई साना लगानी कर्ता भन्न मिल्दैन् । अर्काे कुरा धन पनि कालो र सेतो हुन्न । श्रोत मात्रै कालो र सेता हुन सक्छ तर धन आफैंमा कालो र सेता हुनै सक्दैन् । के हो कालो धन भनेको ? मैले त कालोधन देखेकै छैन् । सेयर बजार कालो धन लगाउने ठाउँ हो र ? फेरी कालोधन र सेतो धन कुन हो भनेर छानविन गर्ने अधिकार पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको होइन् । कालोधन को अनुसन्धान गर्ने सम्पति सुद्धिकरण विभागले हो । राजश्व अनुसन्धान विभाग पनि छ, अख्तियार पनि छ । यी निकायले आफ्नो क्षेत्राधिकार प्रयोग गरेर कालोधनको छानविन गर्न सक्छन् । बोर्डले इनसाइडर टे«डिङ, खरिद प्रक्रिया मिलेको छ की छैन भनेर हेर्ने हो । बोर्डले अरु तरिकाबाट पुँजी बजारलाई अतिरञ्जित बनाउने र लगानी कर्तालाई हतोत्साहित गर्न पाउँदैन् । मेरो निष्कर्ष के हो भने पुँजी बजार हिजोको भन्दा धेरै सुरक्षित छ । कम्पनीहरुको छनौट लगानी कर्ताले राम्रोसँग गर्नु पर्छ । ब्यालेन्ससिट हेर्ने, गत वर्षको अवस्था, अहिलेको अवस्था, भावी अवस्था के हुन सक्छ भनेर हेर्ने अनि लगानी गर्ने हो । केहि नबुझी लगानी गर्ने हो भने त जुवाको खाल छँदै छ नी । पुँजी बजार त सूचनाको बजार हो । सबै कुरा बुझेर विवेक सम्वत ढंगले लगानी गर्नुपर्छ । आजको दिनमा नेपालको पुँजी बजार सुरक्षित छ । यो विन्दुको पुँजी बजार भनेको नेपालका सन्दर्भमा ठिकै हो । तरलता, न्युन ब्याजदर र लगानीको उपयुक्त विकल्प नभएकाले यो अवस्थामा पुँजी बजार लगानीको उपयुक्त क्षेत्र हो र यो लगानीको उपयुक्त समय पनि हो । (सेयर लगानीकर्ता संघको घोषणा सभामा पौडेलले व्यक्त गरेको विचार)