बाढीले १६ जलविद्युत आयोजनामा ठुलो क्षति, लाङटाङ खोलाका ७० कर्मचारी सम्पर्कविहीन

ऊर्जा मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार १६ जलविद्युत आयोजनामा ठुलो क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ । 

इप्पानका अध्यक्ष मोहन डाँगी र लाङटाङ खोला हाइड्रोपावरका अध्यक्ष मोहन भट्टराईका अनुसार बाढीले ठुलो संख्यामा भौतिक संरचना ध्वस्त पार्नुका साथै मानवीय क्षति समेत गराएको छ । तीमध्ये धेरैजसो आयोजनाहरू पूर्ण रूपमा बगाएको अवस्थामा रहेको इप्पानका अध्यक्ष डाँगीले बताए । 

अध्यक्ष डाँगीले क्षतिको पूर्ण विवरण र सम्पर्कविहीन भएकाहरूको संख्या संकलन भइरहेको जानकारी दिए । यस विषयमा थप छलफल र आधिकारिक धारणा तय गर्न ऊर्जा मन्त्रालयमा आकस्मिक बैठकसमेत बोलाइएको छ ।

विपद्को सबैभन्दा भयावह रूप लाङटाङ खोला हाइड्रोपावरमा देखिएको छ । आयोजनाका अध्यक्ष मोहन भट्टराईले दिएको जानकारीअनुसार आयोजनाको भौतिक संरचना पूर्ण रूपमा नष्ट भएर शून्यको अवस्थामा पुगेको छ । 

उनका अनुसार उक्त आयोजनामा कार्यरत करिब ७० जना कर्मचारी तथा कामदारहरू हालसम्म सम्पर्कविहीन छन् । ‘मेरो इन्जिनियरिङ टिमका २५ जना र सुरुङभित्र काम गरिरहेका अन्य २५ जना गरी ठुलो संख्यामा मानिसहरू सम्पर्कविहीन,’ उनले भने ।

बाढीको सतह खोलाभन्दा १५० देखि २०० मिटर माथिसम्म आएकाले खोलाबाट १०० मिटर उचाइमा रहेको टनेल भित्र समेत पानी पसेर कामदारहरूलाई बगाएको अनुमान गरिएको छ ।

विपद्को प्रभाव आयोजना क्षेत्रमा मात्र सीमित नभई आसपासका बस्तीमा पनि परेको छ । भट्टराईका अनुसार स्याफ्रुबेँसी बजारको अस्तित्व नै संकटमा परेको छ । उनले यस घटनालाई सामान्य विपद् नभई महाप्रलयको संज्ञा दिए ।

‘प्रोजेक्ट त म फेरि बनाउन सकुँला, तर मेरा ७० जना मानिसहरू फर्किएर आउँदैनन् । यो संसारमै नहुने खालको विपद् हो,’ भट्टराईले भावुक हुँदै भने । 

अध्यक्ष भट्टराईले माथिल्लो भेगका सडक र बस्तीहरू पूर्णरूपमा ध्वस्त भएकाले बाढीमा परेर देशभर १ हजारभन्दा बढी मानिसहरू सम्पर्कविहीन भएको हुनसक्ने आशंकासमेत व्यक्त गरे ।

जलविद्युत प्रवर्द्धकहरूले अहिलेको अवस्थामा भौतिक क्षतिभन्दा पनि मानवीय जीवनको खोजी र उद्धारलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

अहिले जलविद्युत क्षेत्रका प्रतिनिधि र सरकारी निकायहरू क्षतिको विस्तृत विवरण संकलन र राहत तथा उद्धार कार्यमा जुटिरहेका छन् ।

null

Share News