ललितपुरका १० सहकारी संस्थाको इजाजत खारेज
काठमाडाैं । ललितपुरका १० वटा सहकारी संस्थाको इजाजत खारेज भएकाे छ । ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्थाको इजाजत खारेज भएकाे हाे । ललितपुर महानगरपालिकाले शनिबार सूचना जारी गर्दै आफ्नो मातहतमा रहेका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेकाे जानकारी दिएकाे हाे । महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईले खारेजका संस्थाले अबदेखि आर्थिक कारोबार गर्न नपाउने बताए । ‘त्यी संस्थाका कार्यालय कहाँ छ थाहा छैन, हामीले जम्मा १२ वटा संस्थालाई लक्षित गर्दै सूचना निकालेका थियौं, तर दुई वटा संस्था भने सम्पर्कमा आए, त्यसपछि हामीले १० वटा सहकारीको मात्र इजाजत खारेज गर्यौ,’ उनले भने । सो संस्थामा कसैको पैसा भए सहकारीले फिर्ता गर्नुपर्ने गुरागाईले बताए ।
आइएमई पेमा बैंक खाता लिंक गर्दा १०० रुपैयाँ पाइने
काठमाडौ । आइएमई पेले पे विथ लिंक बैंक सुविधा थप गरेको छ । यो सुविधा अन्तर्गत अबदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो खाता लिंक गरि आइएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सकिनेछ । यो सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैंक खाता लिंक गरे वापत १०० रुपैयाँ र बैंक खाता लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका अतिरिक्त विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्यूआर भुक्तानी एवम् क्यूएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा २ सय ५० देखि ७ सय रुपैयाँसम्मको क्यासब्याक बैंक लिंक गरि कारोबार गर्दा प्राप्त हुने कम्पनीले जनाएको छ । थपिएको यस सेवाले बैंक प्रयोगकर्ताहरूलाई लिंक बैंकबाट नै सजिलोसँग भुक्तान गर्न मिल्ने विशेषता प्रदान गर्दछ भने ठूलो रकमको भुक्तानीमा पनि सिधैं पे विथ लिंक बैंक छनोट गरि भुक्तान गर्न सकिनेछ ।
मेरो माइक्रोफाइनान्सको प्रभावकारी फिल्ड व्यवस्थापन तालिम सम्पन्न
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले फिल्ड कर्मचारीका लागि ‘प्रभावकारी फिल्ड व्यवस्थापन’ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । दुई दिने तालिममा संस्थाका अनुगमन कार्यालय बट्टार, नुवाकोट र कटुन्जे, भक्तपुर अन्तर्गतका १६ शाखा कार्यालयका ४८ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । तालिमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कर्मचारीहरुलाई तालिममा सिकेको ज्ञानलाई ब्यवहारमा उतार्ने र मनोबल उच्च बनाइ सेवा प्रवाह गर्न आग्रह गरे । तालिममा संस्थाले दिँदै आएको सेवा तथा सुबिधा, वर्तमान परिस्थितीमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावकारीता, सम्भावना र चुनौती, कर्मचारीको व्यक्तित्व विकासका विषयमा तालिम दिईएको थियो। तालिम योजना तथा तालिम बिभागका प्रमुख उमेश मान डङ्गोल, कर्जा विभागका रवि प्रसाद आचार्य लगायतले प्रशिक्षण दिएको थियो । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।