राष्ट्र बैंकले भन्यो- लघुवित्तले १५ प्रतिशत बढी ब्याज लिएको भए गुनासो गर्नुस्
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए गुनासो गर्न गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गरी यदि लघुवित्त वित्तीय संस्थाहरुले १५ प्रतिशतभन्दा बढी ब्याजदर लिएको गुनासो गर्न आग्रह गरेको हो । लघुवित्त वित्तीय संस्थाहरुलाई कर्जाको ब्याजदरमा १५ प्रतिशतको क्याप लगाएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार कुनै पनि लघुवित्तको ब्याजदर १५ प्रतिशत भन्दा माथि छैन । ‘लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको छ, हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैन, लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुनेछ,’ राष्ट्र बैंकले भनेको छ । साथै राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकलाई ‘क’ वर्ग, विकास बैंकलाई ‘ख’ वर्ग, फाइनान्स कम्पनीलाई ‘ग’ वर्ग र लघुवित्त वित्तीय संस्थालाई ‘घ’ वर्गका संस्था हुन् । यी संस्थाहरू नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र पाएका संस्था हुन् । सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था हुन् । यी संस्थाले दिने सेवा र ब्याजदर फरक रहेको बताएको छ ।
नेपाल एयरलाइन्सको टिकटको रकम आइएमई पे मार्फत भुक्तानी गर्न सकिने
काठमाडौं । ‘आइएमई पे’ नेपाल एयरलाइन्सकाे विधुतिय भुक्तानी सेवा प्रधानकर्ताको रुपमा रहने भएको छ । सो सम्झौता अन्तर्गत ग्राहकवर्गहरुले नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न सक्नेछन् । ग्राहकले नेपाल एयरलाइनसको वेबसाईटमा गइ आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिति छानी, मागिएको विवरण भरेर चेकआउट गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।
नेपाल इन्स्योरेन्सका सञ्चालकहरुको समायावधि नथप्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्सका सञ्चालकहरुको समायावधि नथप्न निर्देशन दिएको छ । प्राधिकरणले सोमबार एक पत्र काट्दै इन्स्योरेन्सका अध्यक्ष अर्जुन पौडेल शर्मा र सञ्चालक विष्णु खेतान अग्रवालको कार्यकाल नथप्न सञ्चालक समितिलाई निर्देशन दिएको हो । इन्स्योरेन्स सञ्चालक समितिले गत जेठ ३० गते दुबै सञ्चालकको कार्यकाल थप्ने निर्णय गरेको थियो । यता बीमा प्राधिकरणले पनि मर्जरमा जाने सहमति अनुसार उनीहरुको नियुक्तिलाई स्वीकृति दिएको थियो । तर अब कम्पनी मर्जरमा नजाने भएसँगै प्राधिकरणले उक्त नियुक्तिलाई पुनर्विचार गर्न सञ्चालक समितिलाई पत्राचार गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘मर्जरमा जानको लागि सुविधा दिएका थियौं, अब मर्जरमा नजाने भएसँगै सञ्चालक समितिलाई नै निर्णय गर्न पत्र काटेका हौं,’ कार्यकारी निर्देशक पौडेलले भने । यसअघि नेपाल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने तयारीमा थिए । तर नेपाल इन्स्योरेन्स भने उक्त निर्णयबाट पछि हट्यो भने आईएमई लाइफ इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्जरमा जान प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । बीमा ऐन २०७९ अनुसार कम्पनीका अध्यक्ष तथा सञ्चालकको कार्यकाल ४ वर्षको हुने र आवश्यक परेमा थप एक कार्यकालको लागि पुनः नियुक्त गर्न सकिने व्यवस्था छ । इन्स्योरेन्सका अध्यक्ष शर्मा २०७३ साल साउन १४ गते कम्पनीको अध्यक्ष पदमा नियुक्त भएका थिए । त्यस्तै, सञ्चालक अग्रवाल २०७४ साल कार्त्तिक ६ गते इन्स्योरेन्सको सञ्चालक पदमा नियुक्त भएका हुन् ।