माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनि सप्ताह
काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्धेश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनी विक माछापुच्छ्रे बैंकले मनाएको छ । मार्च २० तारिख देखि २६ तारिखसम्म ग्लोबल मनी विक २०२३ अन्तर्गत माछापुच्छ्रे बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गरेको थियो । बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल, कलेज, क्लबहरुसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै अन्तरकृया कार्यक्रमहरुको आयोजना गरी ग्लोबल मनी विक २०२३ मनाएको हो । माछापुच्छ्रे बैंकले आम ग्राहक वर्गलाई लक्षित गर्दे यसअघिपनि विभिन्न समयमा विभिन्न माध्यमहरु मार्फत वित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आएको थियो । हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
लगानी व्यवस्थापनमा काम गर्दै नेशनल एकेडेमी, वैशाखबाट सेवा सञ्चालन हुने
काठमाडौं । लगानी व्यवस्थापनमा नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेजले वैशाखबाट सेवा दिने भएको छ । पूर्व बैंकर र विशेषज्ञहरुको टिमले संचालमा ल्याएको एकेडेमीले बैंक र ऋणीबीच बढ्दो दुरी र असमझदारीलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सेवा सुरु गर्न लागेको कम्पनीका संस्थापक अध्यक्ष रमेश कुमार भट्टराईले बताए । ’यस्तो संकटपूर्ण र एक अर्का प्रति अविश्वास भएको बेला विश्वासिलो माध्यस्थकर्ताको आवश्यकता हुन्छ, त्यही आवश्यकता पूर्तिको लागि पूर्व बैंकर र विशेषज्ञहरुको टिम बनाएर आउँदो बैशाखबाट कारोबार संचालन गर्न लागेका हौं,’ उनले भने । ‘आर्थिक मन्दीको कारण देशमा बन्द तथा समस्यामा परेका उद्योग व्यवसायलाई सल्लाहकार सेवा दिने तथा विशेषत बैंक र ऋणी वीचको असमझदारी हटाउन समन्वय कर्ता तथा मध्यस्थकर्ताको भूमिका खेल्ने र खराव कर्जा व्यवस्थापनमा विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य लिएका छौं,’ उनले थपे । नेशनल एकेडेमीको टिममा नेपाल बैंक र कृषि विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप साह, महालक्ष्मी फाइनान्स र विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, प्रुडेन्सियल फाइनान्स, यूनाइटेड फाइनान्स र सिद्धार्थ विकास बैंकमा पूर्व प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र, विरगंजका चार्टर्ड एकाउन्टेन्ट अरविन्द खेतान, अधिवक्ता छविलाल घिमिरे, आइटी इन्जिनियर रितेश भट्टराईको टिम बनाएको कम्पनीले जनाएको छ । एकेडेमीले मुलतः संचालनमा रहेको कम्पनी र संघ संस्थाको विकासको लागि काउन्सलिङ, कन्सलटेन्सी र कोचिङ गर्ने उद्देश्य लिएको छ । यसका साथै संभावना अनुसारको नयाँ व्यवसायको खोजी गर्ने, स्टार्टअप व्यवसायलाई सघाउ पुर्याउने र संचालनमा रहेको कम्पनी, संघ संस्थालाई बलियो बनाउन आफ्नो टिमबाट विशेषज्ञ सेवा दिने एकेडेमीको उदेश्य रहेको भट्टराईले बताए ।
नेप्सेमा जीवन विकास र एनएमबि लघुवित्तको बोनस सेयर मूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न २ लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले जीवन विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । यी दुई लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । जीवन विकास लघुवित्तको १४.२८५ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता १ हजार ३७०.२६ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ५६६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै, एनएमबि लघुवित्तको १० प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ५०९.०९ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ५६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।