बीमा अभिकर्ता र सर्भेयरले असारभित्रै लाइसेन्स नवीकरण गर्नुपर्ने, नत्र खारेज हुने

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरले असार महिना भित्रमा आफ्नो लाइसेन्स नवीरकण गर्नुपर्ने भएको छ । प्राधिकरणका अनुसार २०७९ कार्त्तिक २१ गतेभन्दा अघि दर्ता तथा नवीकरण गरेका सम्पूर्ण अभिकर्ता तथा सर्भेयरले आगामी असार मसान्त भित्र नवीकरण गर्नुपर्ने भएको हो । ‘२०८० साल असार मसान्तसम्म मात्र आफ्नो इजाजत पत्र नवीकरण गराउन सकिने कानुनी व्यवस्था रहेको’ प्राधिकरणका सहायक निर्देशक शम्भु प्रसाद मिश्रले बताए । यदि तोकिएको समयभित्रमा लाइसेन्स नवीकरण नगराउने अभिकर्ता तथा सर्भेयरहरुको लाइसेन्स स्वतः रद्द हुने प्राधिकरणले जानकारी गराएको छ ।

को हुन् सूर्योदय वोमी लघुवित्तको सेयर बेच्ने ५ जना सेयरधनी ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले झण्डै १ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ९७ हजार २९२ कित्ता सेयर बिक्री गर्ने भएको हो । संस्थापक सेयरधनी देवराज चौलागाँईको नाममा रहेको २३ हजार ३१ कित्ता, बिमला घिमिरेको १५ हजार ९२६ कित्ता, मनोज बस्नेतको ९ हजार कित्ता, कल्पना मास्केको ३० हजार १४२ कित्ता र मिना श्रेष्ठको १९ हजार १९३ कित्ता सेयर बिक्रीमा राखेको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुकले संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन लघुवित्तले आग्रह गरेको हो ।

तेह्रथुम पावर कम्पनीले परिवर्तन गर्यो सम्पर्क कार्यालय

काठमाडौं । तेह्रथुम पावर कम्पनीको सम्पर्क कार्यालय परिवर्तन भएको छ । काठमाडौं महानगरपालिका वार्ड नं. २८ बागबजारमा रहेको कम्पनीको कार्यालय अब सोही महानगरको वार्ड नं. ९ बत्तिसपुतलीमा हुने भएको हो । असार १२ गते बसेको कम्पनीको बैठकले कम्पनीको सम्पर्क कार्यालय परिवर्तन गर्ने निर्णय गरेको हो । जुन आगामी साउन १ गतेदेखि लागू हुने छ ।