सिद्धार्थ बैंकले सार्वजनिक गर्‍यो पर्यटकीय गन्तव्य समेटिएको क्यालेन्डर

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पुऱ्याउने उद्देश्यका साथ २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डरको मुख्य विषयवस्तु ‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन’ को साथै सो गन्तव्यहरूमा जिम्मेवार पूर्वक अन्वेषण गर्नु रहेको छ । बैंकले यस क्यालेन्डरको माध्यमबाट नेपालको सातै प्रदेशमा अवस्थित कम परिचित तर आकर्षक पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने प्रयास गरेको छ । क्यालेन्डरमा सोलुखुम्बु जिल्लामा अवस्थित दूधकुण्ड, पर्सा जिल्लामा अवस्थित घडिअर्वा पोखरी, दोलखा जिल्लामा अवस्थित सैलुङ्ग र छो रोल्पा ताल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित पाँच पोखरी, लम्जुङ्ग जिल्लामा अवस्थित भुजुङ्ग गाउँ, मनाङ्ग जिल्लामा अवस्थित नार फु उपत्यका, पूर्वी रुकुम जिल्लामा अवस्थित टकसेरा गाउँ, सल्यान जिल्लामा अवस्थित कुपिन्डे ताल, डोल्पा जिल्लामा अवस्थित अपर डोल्पा, बाजुरा जिल्लामा अवस्थित बडिमालिका र कञ्चनपुर जिल्लामा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जस्ता मनमोहक पर्यटकीय गन्तव्यहरू समावेश गरिएको छ, जसले नेपालको प्राकृतिक र पुरातात्त्विक सौन्दर्यतालाई उजागर गर्दछ । बैंकको यस प्रयासले आन्तरिक तथा विदेशी पर्यटकहरूलाई नेपालका अति आकर्षक तर कम पहिचानमा रहेका पर्यटकीय गन्तव्यहरूको भ्रमण गरी पृथक् अनुभव प्राप्त गर्न उत्प्रेरित गर्नुका साथै नेपालको पर्यटन उद्योगको प्रवर्द्धनमा सहयोग पुऱ्याउने बैंकले विश्वास लिएको छ ।

कुमारी बैंकले ल्यायो नयाँ वर्षको लागि क्यासब्याक अफर

काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । यस योजना अन्तर्गत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैँया वा कारोबार रकमको २५ प्रतिशत जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउने छन् । साथै, क्यु.आर. भुक्तानी मार्फत कारोबार गर्ने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले पनि यो आकर्षक क्यासब्याक अफरको फाइदा उठाउन सक्नेछन् । यो योजना २०८१ वैशाख १ गते बिहान ८ः०० बजे देखि राति ११ः५९ बजेसम्म लागु हुने बैंकले जनाएको छ भने तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलोे चालिस जना कार्ड प्रयोगकर्ता र पहिलो चालिस जना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यासब्याक प्राप्त गर्न सक्नेछन् । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले यो विशेष अफरप्रति उत्साह व्यक्त गर्दै भने, ‘नयाँ वर्षको शुभारम्भमा हामी हाम्रा ग्राहकहरूलाई यो विशेष क्यासब्याक अफर प्रदान गरेर नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहन्छौं । यसले ग्राहकहरुमा डिजिटल भुक्तानी प्रणलीमा आवहद हुन प्रत्साहन गर्नेछ ।’ कुमारी बैंक पछिल्लो समयमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहित गर्न, समय सापैक्षिक ग्राहकमूखी सेवाहरू प्रदान गर्न र वित्तीय समावेशीतालाई बढावा दिनको लागि प्रतिबद्ध रहेको देखिन्छ भने भुक्तानीका लागि डिजिटल माध्यममा जोडिन प्रोत्साहन गर्दै आएको छ ।

नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने एडीबी प्रक्षेपण, मौद्रिक नीति लचिलो हुनुपर्ने

काठमाडौं । नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०/०८१ मा क्रमशः सुधार हुँदै जाने अध्ययनले देखाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशियाली विकास बैंक (एडिबी) को प्रकाशन एशियन डेभलपमेण्ट आउटलुक (एशियाली विकास परिदृश्य) २०८० ले आर्थिक वर्ष २०८०/८१ मा नेपाली अर्थतन्त्र ३.६ प्रतिशत (बजार मूल्यमा) ले वृद्धि हुने प्रक्षेपण गरेको हो । जुन गत आर्थिक वर्ष २०७९/८० को अनुमानित १.९ प्रतिशत वृद्धिको तुलनामा केही बढी हो । मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहीत हुने अपेक्षा गरिएको छ । सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तिब्रता र आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म थप जलविद्युत परियोजनाको उत्पादन सुरु भई आर्थिक औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ । कर्जा नियन्त्रणमा सहजता, व्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले गति लिने अध्ययनको निष्कर्ष रहेको छ । धान उत्पादनमा वृद्धि भएपनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि आर्थिक वर्ष २०७९/८० को २.७ प्रतिशतको तुलनामा २.८ प्रतिशतको सीमान्त वृद्धि हुनसक्ने अध्ययनले देखाएको छ । नेपालमा औसत मुद्रास्फिति आर्थिक वर्ष २०७९/८० को ७.७ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा ६.५ प्रतिशतमा झर्ने प्रक्षेपण रहेको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा वचतमा रहेपनि चालु खाता पुनः घाटामा जानसक्ने अध्ययनले देखाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आर्थिक वर्ष २०८०/८१ मा ४.७ प्रतिशतले घटेको छ भने सो अवधिमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएको छ भने चालु खाता वचत १.२ बिलियन अमेरिकी डलर पुगेको छ । यद्यपि यस आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले आर्थिक वर्ष २०८०/८१ मा चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ०.७ प्रतिशत प्रतिशत पुग्ने प्रक्षेपण छ । प्रतिवेदन सार्वजनिक गर्दै एडिबीका सिनियर इकोनोमिक अफिसर (वरिष्ठ आर्थिक अधिकारी) मानवर एस खड्काले यस आर्थिक वर्षमा कृषिको उत्पादन सन्तोषजनक रहने बताए । उनले मलखादरको व्यवस्थापनमा विगतमा जस्तो समस्या नरहेकाले र विपद्बाट पनि धेरै क्षति नभएकाले कृषि उत्पादन सन्तोषजनक रहने बताए । उर्जा क्षेत्रमा सबस्टेशन, ट्रान्समिसन लाइन बनिरहनुले पनि अर्थतन्त्रमा सकारात्मक उर्जा प्रवाह गरेको जानकारी दिए । कन्ट्रक्शन म्यानुफ्याक्चरिङमा स्लो डाउन रहेको बताए । पर्यटकको आवागमनबाट पनि अर्थतन्त्रमा उर्जा थपिएको बताए । विदेशी पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रलाई सबल बनाउनुका साथै रोजगारी वृद्धि भइरहेको जानकारी दिए । ‘यो प्रक्षेपण हो । विश्व बैंकले गरेको प्रक्षेपणमा पनि ३.३ भन्ने आएको छ । एडिबीको ३.६ हामीले भनेका छौँ । यो आर्थिक वर्षको राष्ट्रिय तथ्यांक कार्यालयले पनि जिडिपीको तथ्यांक निकालिसकेको छ । यो अफिसियल तथ्यांकलाई हामीले मान्नु नै पर्छ । त्यसलाई सुधार गर्न औजारहरु मौद्रिक नीतिबाट, त्यस्तै गरी यो अर्धवार्षिक समीक्षाबाट पनि आएका छन् । पर्यटन क्षेत्र महत्वपूर्ण छ । कोभिडको भन्दा धेरै नै राम्रो भएको छ । होटलहरु बन्ने क्रम जारी छ, पर्यटकीय गन्तव्य बढिरहेका छन्, यसले सकारात्मक उर्जा पैदा भइरहेको छ । विदेशी पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रमा पनि सहयोग भइरहेको छ’, उनले भने । एडिबीले गरिबी निवारणको आफ्नो पहललाई कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एशिया प्रशान्त क्षेत्र हासिल गर्न प्रतिवद्ध रहेको बताएको छ । अहिलेसम्म एडिबीले नेपालका लागि ४९४ सरकारी ऋण, अनुदान तथा प्राविधिक सहायता गरी कुल ७.७ बिलियन डलरको प्रतिवद्धता जनाएको छ । सञ्चित ऋण र अनुदान गरी नेपाललाई कुल ४.९१ बिलियन डलर निकासा गरेको छ ।