किसान र जाल्पा सामुदायिक लघुवित्तले आजदेखि एकीकृत कारोबार गर्दै
काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’ले बिहीबारदेखि एकीकृत कारोबार सुरु गर्दैछ । लम्कीचुहा कैलालीमा मुख्य कार्यालय रहेको किसान लघुवित्त र बुलटल रुपन्देहीमा मुख्य कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्तलाई आपसमा गाभिन गत जेठ २९ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय लम्कीचुहा कैलालीमा र कर्पोरेट कार्यालय बुढानीलकण्ठ काठमाडौंमा रहने कम्पनीले जनाएको छ । साथै, डाटा माइग्रेशन प्रयोजनका लागि बुधबार दुईवटै संस्थाले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार बन्द गरेका थिए ।
सुधार हुँदै अर्थतन्त्र, यस्ता छन् देशको अर्थतन्त्रका सूचक
काठमाडौं । उद्योगी व्यवसायीहरूले अर्थतन्त्रमा संकुचन रहेको बताउने गरेको भएपनि तथ्याङ्कले भने ठिकठाक रहेको देखाएको छ । विभिन्न सार्वजनिक कार्यक्रममा उद्योगी व्यवसायीहरूले आर्थिक गतिविधि बढ्न नसकेको र थप अर्थतन्त्र खस्किन नदिनका लागि पहल चाल्नु पर्ने माग गरिरहेका हुन्छन् । तर, नेपाल राष्ट्र बैंकले भने अर्थतन्त्र भने सहज भइरहेको देखाएको छ । राष्ट्र बैंकले बुधबार देशको वर्तमान आर्थिक स्थितिको तथ्यांक सार्वजनिक गर्दै आर्थिक सूचकहरू सकारात्मक बन्दै गएको सन्देश प्रवाह गरेको हो । सार्वजनिक तथ्यांकअनुसार महँगी घट्दै छ भने कुल विदेशी विनिमय सञ्चिति बढ्दै गएको छ । जेठसम्म मूल्यवृद्धि ४.१७ प्रतिशत रहेको छ । विप्रेषण आप्रवाह १९.३ प्रतिशत बढेको छ । शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड र अमेरिकी डलरमा १४ अर्ब ७२ करोड छ । सरकारको खर्च ११ खर्ब ८१ अर्ब ३० करोड र राजस्व परिचालन ९ खर्ब १९ अर्ब १९ करोड छ । मूल्यवृद्धि ४.१७ प्रतिशतमा सीमित चालू आर्थिक वर्षको जेठसम्म मूल्यवृद्धि ४.१७ प्रतिशत कायम छ । गत वर्षको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ । यस्तै खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६.०२ प्रतिशत, दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.४७ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.४८ प्रतिशत र यातायातको ०.१८ प्रतिशतले घटेको छ । काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२५ प्रतिशत, तराईको ३.८२ प्रतिशत, पहाडको ४.६३ प्रतिशत र हिमालको ४.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ७.१९ प्रतिशत, ६.९३ प्रतिशत, ६.२८ प्रतिशत र ६.३९ प्रतिशत रहेको थियो । शोधनान्तर स्थिति सवा ४ खर्ब बचत राष्ट्र बैंकले सार्वजनिक तथ्याङ्कअनुसार चालु खाता र शोधनान्तर स्थितिमा बलियो बन्दै गएको छ । जेठसम्म २ खर्ब ३९ करोडले चालु खाता बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको छ । ११ महिनाको अवधिमा पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई ५ अर्ब ४६ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १६ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ३५ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड रुपैयाँले धनात्मक रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २४ अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको छ । १९ खर्ब ६७ अर्ब विदेशी मुद्रा सञ्चिती चालु वर्षको जेठसम्मको तथ्याङ्क अनुसार कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । वि.सं २०८० असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । समीक्षा अवधिमा विदेशी मुद्रा २७.८ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति जेठसम्म १४ अर्ब ७२ करोड पुगेको छ । गत २०८० असारसम्म ११ अर्ब ७१ करोड थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ ३०.२ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ प्रतिशतले वृद्घि भई २ खर्ब १४ अर्ब ४२ करोड रुपैयाँ कायम छ । २०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए । भित्रियो १३ खर्ब २७ अर्ब रेमिट्यान्स ११ महिनाको अवधिमा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.३ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो । जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो । ११ महिनाको अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो । आयात निर्यात घट्यो समीक्षा अवधिमा कुल वस्तु निर्यात ३.० प्रतिशतले कमी आई १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २२.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ४.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, अन्य मुलुकतर्फको निर्यातमा १.७ प्रतिशतले कमी आएको छ । साथै आर्थिक वर्ष २०८०/८१ को जेठसम्म कुल वस्तु आयात १.८ प्रतिशतले कमी आई १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.० प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकमध्येभारतबाट भएको आयात ३.१ प्रतिशतले घटेकोमा चीनबाट भएको आयात ३४.८ प्रतिशतले बढेको छ र अन्य मुलुकबाट भएको आयात २० प्रतिशतले घटेको छ । व्यापार घाटामा कमी आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले कमी आई १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ३७ अर्ब १३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ३८ अर्ब ४७ करोड रुपैयाँ बराबरको भएको थियो । ११ खर्ब ८१ अर्ब कुल खर्च सरकारको कुल खर्च ११ खर्ब ८१ अर्ब ३० करोड रुपैयाँ भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको ११ महिनामा १३.६ प्रतिशतले वृद्घि भएकोमा, समीक्षा अवधिमा ०.४ प्रतिशतले मात्र वृद्धि भएको छ । समीक्षा अवधिमा चालु खर्च ८ खर्ब २२ अर्ब ८१ करोड, पँुजीगत खर्च १ खर्ब ३४ अर्ब ९८ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च २ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ९ खर्ब १९ अर्ब १९ करोड रुपैयाँ भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११.२ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ९.८ प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व ८ खर्ब २९ अर्ब ४ करोड रुपैयाँ र गैर कर राजस्व ९० अर्ब १५ करोड रुपैयाँ परिचालन भएको छ । राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब ५१ अर्ब ५५ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब३६ करोड रुपैयाँ थियो ।
ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबीच त्रिपक्षीय समझदारी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बीच जापान जाने विद्यार्थीलाई कर्जा दिने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको छ । समझदारीपत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र जाल्सानका अध्यक्ष रमेश देवकोटाले संयुक्तरूपमा हस्ताक्षर गरेका थिए । समझदारीअनुसार जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । बैंकले जाल्सानबाट सिफारिस भएका विद्यार्थीहरूलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक शैक्षिक कर्जा प्रवाह गर्नेछ । बैंकले प्रदान गर्ने उक्त शैक्षिक कर्जाले जापान जान इच्छुक विद्यार्थीहरूलाई वित्तीय व्यवस्थापनमा सहयोग पुग्नेछ । जाल्सानमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरूले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपछि बैंकले शैक्षिक कर्जा प्रवाह गर्नेछ । यसैगरी, आइएमई लिमिटेडले उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरूको कलेज शुल्क, भिसा शुल्क लगायत भुक्तानीका लागि विद्यार्थीहरूलाई बैंक तथा जाल्सानसँगको समन्वयमा सहजता प्रदान गर्नेछ । जापान गएपछि विद्यार्थीहरुले जापानबाट आफ्नो देशमा आइएमईबाटै सहज रूपमा पैसा पठाउन सक्नेछन् ।