सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्टबीच सम्झौता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंको बालुवाटारमा रहेको सांग्रिला डेभलपमेन्ट बैंक र नगरकोट भक्तपुरमा स्थित होटल भ्यु पोइन्टबीच बैंकका ग्राहक, सेयरधनी र बैंकका कर्मचारीहरुलाई होटलसंग सम्बन्धित सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका काठमाडौं क्लष्टर प्रमुख सुप्रिया श्रेष्ठ र होटलको तर्फबाट होटलका प्रबन्धक निर्देशक दिनेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी होटल भ्यु पोइन्टमा बैंकका ग्राहकलाई सेवामा २० प्रतिशत तथा बैंकका सेयरधनी र कर्मचारीहरुलाई सेवामा २५ प्रतिशत कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
महालक्ष्मी विकास बैंक र केबी चित्रकार एन्ड कम्पनी चार्टर्ड एकाउन्टेनबीच सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंक र केबी चित्रकार एन्ड कम्पनी चार्टर्ड एकाउन्टेनबीच सम्झौता भएको छ । बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप एनएफआरएस- ९ एक्सपेटेड क्रेडीट लस (ईसीएल) मोडल कार्यान्वयनका लागि केबी चित्रकार एण्ड कम्पनी चार्टर्ड एकाउन्टेनसँग समझदारी गरेको छ । उक्त समझदारीबाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ । साथै यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरु पूरा गर्न सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनहरुको प्रभावकारी रुपमा कार्यान्वयनरअनुपालन गर्न तथा वित्तीय अनुशासन तथा रिर्पोटिङ अभ्यासलाई अझ सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
सानिमाका यी ३ म्युचुअल फन्डको प्रतिफल पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?
काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्डहरूको लाभांश प्रयोजनार्थ बुक क्लोजको मिति तय भएको छ । सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डले भदौ २६ गते बुक क्लोज गर्ने भएको हो । भदौ २५ गतेसम्म कायम इकाईधनीहरूले मात्रै लाभांश पाउनेछन् । सानिमा क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको प्रतिफल घोषणा गरेको थियो । जसअनुसार इकाइधनीहरूलाई करसहित इक्विटी फन्डमा १५ प्रतिशत, लार्ज क्याप फन्डमा १० प्रतिशत र ग्रोथ फन्डमा १० प्रतिशत नगद प्रतिफल वितरण गर्ने क्यापिटलले निर्णय गरेको छ । घोषित प्रतिफलअनुसार इकाइधनीहरुलाई इक्विटीमा १९ करोड ५० लाख रुपैयाँ, लार्ज क्याप फन्डमा १२ करोड रुपैयाँ र ग्रोथ फन्डमा ६ करोड ७२ लाख ५३ हजार २६० रुपैयाँ नगद प्रतिफल वितरण गरिनेछ । यी ३ वटै म्युचुअल फन्ड बन्दमुखी योजना हुन् ।