कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत असोज ३० गते १८ औं वार्षिक साधारणसभा गरी उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरी कुल १२ प्रतिशत लाभाशं पारित गरेको थियो । उक्त ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएको बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ । नगद लाभाशं वापतको रकम साधारण सभाबाट पारित भएलगत्तै सम्बन्धित बैंक खातामा जम्मा गरिसकिएको बैंकले जनाएको छ । यदि कुनै सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा भएको नदेखिएमा वा कुनै जिज्ञासा भएमा कामना सेवा विकास बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्ने बैंकले बताएको छ ।
कुमारी बैंकद्वारा कीर्तिपुरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । युएसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले महिला सशक्तिकरण केन्द्र कीर्तिपुरसँगको समन्वयमा कीर्तिपुरमा महिला उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरि वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रवर्द्धन तथा विकासमा टेवा पु-याउदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
माछापुच्छ्रे बैंकबाट १ जना सञ्चालक बाहिरिए, २ जना भित्रिए
काठमाडौं । माछापुच्छ्रे बैंकबाट १ जना सञ्चालक बाहिरिँदा २ जना भित्रिएका छन् । बैंकका संस्थापक सेयरधनी श्रीराम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रालिको प्रतिनिधित्व गर्ने सञ्चालक हरिभक्त सिग्देलले सञ्चालक पदबाट राजीनामा दिएका हुन् । सिग्देलले मंसिर १४ गते सञ्चालक समितिमा राजीनामा दिएका थिए । उनको राजीनामा मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको बैंकले जनाएको छ । यस्तै, मंसिर २० गते नै बसेको सञ्चालक समितिको बैठकले राम जानकीको तर्फबाट मुकुन्द महतलाई नियुक्त गरेको छ । यस्तै, सोही दिनको सञ्चालक समितिले अनिल साहलाई सञ्चालकमा नियुक्त गरेको छ ।