सम्पदा लघुवित्तको राहत वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था शाखा कार्यालय रामटारले बाढीपिडितहरूलाई राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । राहत कार्यक्रम सिन्धुली जिल्लाको सुनकोशी गाँपालिका रामटार स्थित संस्थाको शाखा कार्यालय रामटारमा मंसिर २२ गते सञ्चालन भएको थियो । कार्यक्रममा प्रमुख अतिथी सुनकोशी गाँउपालिका वडा नं ५ का वडाध्यक्ष सुरथ कुमार बसेल, अतिथीहरुमा सोही गाँउपालिका वडा नं ५ का चन्द्र बहादुर श्रेष्ठ, वित्तीय संस्थाको असुली मुकाम नार्गाजुनको अधिकृत प्रेम बहादुर कार्की लगायत सुरक्षा निकाय प्रतिनिधी तथा अन्य समाजसेवि लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । अविरल वषाले सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिकाको वडा नं १,२,३,४ र ५ काभ्रे जिल्लाको रोशि गाँउपालिका को वडा नं ११ र १२ र रामेछाप जिल्लाको खाडादेवी गाँउपालिका वडा नं १ र २ का बाढि पहिरोबाट अति प्रभावित शाखा कार्यालय रामटारमा आवद्ध सदस्यहरुलाई राहत स्वरुप जनही १ बोरा चामल, २ किलो दाल, १ लिटर तेल र १ प्याकेट नुन का दरले वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथीले सम्पदा लघुवित्त संस्थाले कर्जा बचत मात्र नभई दुख परेका सदस्यहरूलाई यसरी राहत वितरण गरेकोमा संस्थालाई हार्दिक धन्यवाद व्यक्त गरेक थिए । संस्थाको पहुचँ हाल ४५ जिल्लामा १५५ वटा शाखा कार्यालय मार्फत १ लाख ७८ हजार भन्दा बढि सदस्यहरूमा सेवा प्रवाह रहेको शाखा प्रमुख सविना सेन्चुरीले जानकारी गराइन् ।

कुमारी क्यापिटल र ध्रुव क्यापिटलबीच सम्झौता, वैदेशिक लगानी प्रवर्द्धन गर्न सहकार्य हुने

काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र भारतको प्रतिष्ठित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडबीच बिहीबार एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । अब सहमतिमा हस्ताक्षरपश्चात क्यापिटलले प्रदान गर्ने संस्थागत परामर्श सेवाअन्तर्गत नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्न सहकार्य गर्नेछ। कुमारी क्यापिटलले नेपालमा वित्तीय सेवा, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ र भारतमा अवस्थित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड एक गैर–बैंकिङ वित्तीय कम्पनी हो । साथै यो आरबीआईद्वारा इजाजतपत्र प्राप्त कम्पनी पनि हो, जसले नेपालको सूचीकृत तथा गैर–सूचीकृत कम्पनीहरूमा लगानी गर्ने योजना बनाएको छ । साथै, कम्पनीले सूचीकृत बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक सेयरहरू, अस्पताल, फार्मास्युटिकललगायत जलविद्युत परियोजनाहरूमा समेत लगानी गर्ने उद्देश्य राखेको छ । यी लगानीहरू नेपालको ऊर्जा, वित्तीय र सामाजिक क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउन केन्द्रित हुनेछन् । दुबै कम्पनीबीच भएको यो सम्झौताअन्तर्गत उक्त कम्पनीले नेपालमा गर्ने लगानीहरूलाई व्यवस्थित गर्न, सहजीकरण प्रदान गर्न, नेपालमा वैदेशिक लगानी र रणनीतिक योजना कार्यान्वयनमा कुमारी क्यापिटलले मध्यस्थकर्ताको रूपमा काम गर्नेछ । यस साझेदारीले नेपालमा वैदेशिक लगानीको प्रवाहलाई तीव्र बनाउन र दिगो आर्थिक विकासलाई टेवा पुर्‍याउने विश्वास लिइएको छ । सम्झौताअनुसार कुमारी क्यापिटलले नेपालमा लगानी अवसरहरूको पहिचान, कानूनी र वित्तीय परामर्श, परियोजनाको मूल्यांकन र ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडको लगानी प्रक्रियाको व्यवस्थापनमा सहयोग पुर्‍याउनेछ ।

बीमा प्राधिकरणको कार्यवाहक अध्यक्ष बने दाहाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी मदन दाहालले पाएका छन् । अर्थ मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि अर्थमन्त्रालयका सहसचिव  दाहाललाई कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी दिएको हो । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचार मुद्दामा निलम्बित भएपछि दाहालले कार्यवाहककाे जिम्मेवारी पाएका हुन्। दाहाल प्राधिकरणको सञ्चालक समितिका सदस्य हुन् । मन्त्रालयका अनुसार बीमा ऐन २०७९ को दफा (६) बमोजिम दाहालले प्राधिकरणको अध्यक्षको जिम्मेवारी पाएका हुन् । उनी सञ्चालक समितिको दोस्रो वरीयतामा रहेका छन् ।