आइएमई जनरल इन्स्योरेन्सको ३३औं शाखा काठमाडौंकोे टेकूमा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३३औं शाखा काठमाडौंकोे टेकू स्थित अम्बे कम्पलेक्समा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन मंगलबार बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका हुन् । यस शाखा सहित कम्पनीले ३३ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने भएको छ । उक्त अवसरमा बीमा क्षेत्रको विकास र विस्तारको लागि सात वटै प्रदेशको विभिन्न भागमा आफनो उपस्थिती जनाउने कम्पनीले जनाएको छ । साथै, कम्पनीले लघुबीमा लगायत सम्पूर्ण निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ । सोही अवसरमा अध्यक्ष चापागाईले सबैले आआफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यावसाय विस्तार गर्न पनि आग्रह गरेका छन् । कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सम्पूर्ण बीमा सेवा प्रदान गर्ने जानकारी गराएका छन्। कम्पनीले आ.ब. २०७४/०७५ को दोश्रो त्रैमास सम्ममा ४३ करोड बीमा शुल्क आर्जन र कूल लगानी ८५ करोड रुपैयाँ गरेको छ । सो अवधिमा कम्पनीले खुद नाफा ४ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको जानकारी दिइएको छ ।

कुमारी बैंकले गर्याे अत्याधुनिक कोर बैंकिङ सफ्टवेयरको सुरुवात

काठमाडौं । कुमारी बैंक लिमिटेडले अत्याधुनिक कोर बैंकिङ(सीबीएस) सफ्टवेयर फिनाकल–१०.२.१९ सेवाको सुरुवात गरेको छ । ग्राहकवर्गलाई आधुनिक, गुणस्तरिय तथा सुरक्षित सेवा दिने उद्देश्यले उक्त नयाँ प्रविधि भित्र्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुरेन्द्र भण्डारीले अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यले बैंकले नयाँ कोर बैंकिङ सफ्टवेर खरिद गरेको बताए । बैंकहरुमध्ये कुमारी बैंक फिनाकल प्रविधिको पछिल्लो संस्करण (सीबीएस) प्रयोग गर्ने पहिलो बैंक भएको उनले जानकारी दिए । उनका अनुसार सफ्टवेयर खरिद गर्नका लागि विश्व प्रख्यात सूचना प्रविधि कम्पनी इन्फसाइस इण्डीयासँग सम्झौता गरिएको थियो । ‘विगतदेखिनै देशको बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन कुमारी बैंकले अग्रणी भूमका निर्वाह गरेको छ,’ उनले भने ‘यस बैंकले नेपालमा सबैभन्दा पहिले इन्टरनेट बैंकिङ सेवा सुरुवात गरेको थियो ।’ बैंकको डेपुटीसीईओ उमेशसिंह भण्डारीले वर्षदिन लाग्ने उक्त सफ्टवेयर बैंकले अत्यन्त छोटो अबधि ५ महिनामै प्रयोगमा ल्याउन सफल भएको बताए । ‘यति छिटो समयमा नयाँ प्रविधि फिनाकल सफ्टवेयर सफलतापूर्वक कार्यान्वयन ल्याउनेमा विश्वका बैंकमध्ये नेपाल पहिलो हो,’ उनले भने ‘बैंकभित्र भएको दक्ष जनशक्तीको प्रयत्नले यो सम्भव भएको हो । बैंकको अनुसार फिनाकल प्रविधि संसारभरी चल्तीमा रहेको उच्चस्तरीय बैंकिङ सफ्टवेयर मध्ये एक हो । हाल सो प्रविधि विश्वका ४५ वटा देशहरुमा प्रयोग भइरहेको छ ।

सेञ्चुरी कमर्सियल बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सोमबार बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।