बैंकहरूले कर्जा प्रवाह गर्ने छाडे, ‘ठूला र नयाँ परियोजनालाई कर्जा दिन सक्ने अवस्था छैन’
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले असार महिनामा कर्जा प्रवाह नगर्ने भएका छन् । असार महिना बैंकहरूको प्राथमिकता कर्जा प्रवाहमा भन्दा असुलीमा केन्द्रीत हुने र एक प्रतिशत प्रोभिजनका कारण प्राथमिकतामा नपरेको नेपाल बैंकर्स एशोसिएनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए । ‘कर्जा प्रवाह नै रोक्ने त होइन, उनले भने ‘यद्यपी हाम्रो प्राथमिकता भने रिकभरिमा हुन्छ ।’ राष्ट्र बैंकले असल कर्जामा एक प्रतिशत प्रोभिजन राख्नु पर्ने व्यवस्था गरेको छ । असारमा कर्जा प्रवाह गर्दा राख्नु पर्ने प्रोभिजनले गर्दा हाम्रो ध्यान कर्जा असुली र वित्तीय विवरणमा हुने ढुंगानाले बताए । आर्थिक वर्षको अन्त्यमा प्राय: बैक तथा वित्तीय संस्थाको ध्यान कर्जा प्रवाहमा भन्द पनि असुलीमा बढी हुने नेपाल क्रेडिट एण्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बताए । ‘हाम्रो टिम नै यो महिनामा असुलीमा केन्द्रीत हुन्छ,’ उनले भने ‘हामी यो महिनामा बढीभन्दा बढी निक्षेप संकलन गर्नेतिर लाग्छौं ।’ अर्यालका अनुसार असार निक्षेप संकलन गर्ने महिना हो भने साउन आक्रमक कर्जा प्रभाव गर्ने महिना हो । वित्तीय बजारमा जेठदेखि नै लगानी योग्य पुँजी केही सहज भएपनि ठूला र नयाँ परियोजनामा लगानी गर्ने सक्ने अवस्थामा नरहेको उनले जानकारी दिए । ‘साना र कर्जा प्रवाह गर्न सम्झौता गरिएका परियोजनलाई मात्र केही कर्जा दिइरहेका छौं,’ उनले भने ‘ हामी यो समयमा प्रोभिजनका कारण पनि त्यति कर्जा प्रवाह गर्ने सोचमा हुँदैनौ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) भुवन दाहालले बैंकहरू पछिल्लो समय केही सहज अवस्थामा भएपनि बैंकको ध्यान भने रिकभरीमा हुने बताए । ‘हाम्रो टिम नै यसमा केन्द्रीत हुन्छ,’ आर्थिक वर्षको अन्त्यमा यस वर्षमात्र होइन जहिले पनि यस्तै हो । कर्जा नै रोकेको अवस्था भने होइन ।’ यतिबेला बैंक तथा वित्तीय संस्थाहरूले आगामी आवको योजना बनाउन समय खर्चने गरेको दाहालले बताए । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले एक त बैंकहरू असारमा कर्जा प्रवाह गर्न त्यति उत्साहित हुँदैनन् भने अर्कोतर्फ बैंकहरू लगानी गर्न सक्ने अवस्थामा छैनन् । कर्जा तथा प्राथमिक पुँजी र निक्षेपको योग अनुपात(सीसीडी रेसियो) कसिएको छ । ८० प्रतिशतको हाराहारीमा रहेका छन्,’ उनले भने ‘धेरै बैंकको यो रेसियो ७८ प्रतिशतभन्दा माथि छ । विद्यमान व्यवस्थाअनुसार एक सय रुपैयाँ निक्षेप संकलन गरेर ८० रुपैयाँमात्र कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । आज आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूले ३२ खर्ब तीन अर्ब निक्षेप संकलन गरेका छन् भने २८ खर्ब ६८ करोड कर्जा प्रवाह भएको राष्ट्र बैंकले बताएको छ । जेठदेखि नै दैनिक चार अर्बको हाराहारीमा सरकारी खर्च भएपनि बैंकहरूले भने माग अनुसारको कर्जा प्रवाह गर्न सकिरहेका छैनन् ।
सगरमाथा इन्स्योरेन्स र कामना सेवाको शेयरमूल्य समायोजन, कस्को कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा आज सगरमाथा इन्स्योरेन्स कम्पनी र कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । नेप्सेका अनुसार सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशत बोनसपछि प्रतिकित्ता ६८१.७२ रुपैयाँ शेयरमूल्य समायोजन गर्दै १०१५.८६ पैसा निर्धारण भएको छ । यता, कामना सेवा विकास बैंकको १.५० प्रतिशत बोनसपछि प्रतिशेयर १६२ रुपैयाँ ५६ पैसा समायोजित गर्दै १६९ रुपैयाँ २८ पैसा कायम गरेको नेप्सेले जनाएको छ ।
बजेटदेखि बजेटसम्मः शेयर बजार ‘हाफ सेञ्चुरी’ कम
काठमाडौँ । सातै प्रदेश सरकारले आज नयाँ आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दैछन् । संघीय सरकारले बजेट सार्वजनिक गरेको १५ दिनपछि प्रदेशहरुले केन्द्रले दिएको अनुदानलाई समेत जोडेर नयाँ आर्थिक वर्षको बजेट ल्याउन लागेका हुन् । संघीय र प्रदेश सरकारको बजेट सार्वजनिक हुने दिनको बीचमा खुलेको शेयर बजार करिब ‘हाफ सेञ्चुरी’ले घटेको छ । आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बजारप्रति सकारात्मक सोचका साथ नीति तथा कार्यक्रम समावेश गरे पनि त्यसको प्रभाव पर्न नसक्दा बजारमा निराशा देखिएको हो । यही जेठ १५ गते आगामी आवको बजेट सार्वजनिक भएपछि शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ४४.३२ बिन्दुले ओरालो लागेको छ । बजेटपछि बजार नौ दिन खुला रह्यो । बजेटले केही नीतिगत व्यवस्था गरेपनि बजार भने निरन्तर ओरालो लागेको छ । गतसाता पनि बजारको मापक सूचक ओरालो लागेरै बन्द भएको छ । केही कम्पनीको शेयर भने निरन्तर वृद्धि भइरहेको छ । गत बिहीबार अर्थात् यही जेठ २३ गते एक हजार २८४.५९ अङ्कमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम दिन २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ । अघिल्लो बिहिबारदेखि गतसाताको बिहिबारसम्म बजार १५.०४ बिन्दुले घटेको छ । आइतबार काठमाडौँ उपत्यकमा सार्वजनिक बिदा परेका कारण शेयर बजार बन्द रह्यो । सोमबार खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक ८.७८ अंकले घट्यो । उक्त दिन विकास बैंक, उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोष उपसमूहमा सामान्य सुधार आएपनि बाँकी सूचक ओरालो लागेका थिए । कूल १७३ वटा कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता शेयर रु ५८ करोड ८८ लाख २२ हजार ६२५ मूल्यमा खरीद बिक्री भए । यस्तै मंगलबार कारोबार मापक नेप्से परिसूचक ०.१७ बिन्दुले बढेर एक हजार २७५.९८ अङ्कमा थामियो । सो दिन कूल १७४ कम्पनीका १५ लाख नौ हजार ८८५ कित्ता शेयर रु ४८ करोड आठ लाख ७६ हजार ९८६ मा खरीद बिक्री भए । बुधबार पुन कारोबार मापक नेप्से परिसूचक ३.५० बिन्दुले घटेर एक हजार २७२.४८ अङ्कमा पुग्यो । कूल १७४ कम्पनीका १८ लाख ७१ हजार ८०९ कित्ता शेयर रु ५० करोड २६ लाख ८२ हजार ८८१ मा खरीद बिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये तीन उपसमूहको मात्रै शेयर बढ्यो । बिहिबार पनि बजारले ओरालोको यात्रा तय गर्यो । उक्त दिन नेप्से परिसूचक २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरी बजार बन्द भयो । कूल १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता शेयर रु ४५ करोड ६५ लाख छ हजार ९४५ मूल्यमा खरीद बिक्री भए । गतसाता स्वाभिमान लघुवित्त वित्तीय संस्थाको छ लाख १८ हजार ६१० कित्ता साधारण शेयर, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ५२ हजार ६४० कित्ता शेयर लाभांश र यूनियन हाइड्रो पावरको कूल ७५ लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएका छन् ।