चन्द्रसिंह साउदको गुनासो- ‘सुबिसुमा आगो लाग्दा समेत नेप्सेलाई दोष दिए’
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेपाल स्टक एक्सचेञ्जको सिस्टमका बारेमा अनाश्यक होहल्ला र टिकाटिप्पणी हुने गरेको गुनासो गरेका छन् । उनले नेप्सेको सिस्टम सञ्चालनका लागि विभिन्न पक्षहरु एकैपटक जिम्मेवार रहने गरेको भन्दै तर जुनसुकै समस्यामा पनि नेप्सेलाई दोष दिने गरेको भन्दै आर्थिक पत्रकारहरुसँग दुखेसो समेत पोखे । ‘अस्ति सुविसुमा आगो लाग्दा इन्टरनेट चल्न छाडेछ तर साथीहरुले नेप्सेको सिस्टम बिग्रियो भन्ने हल्ला गरेछन् ।’ उनले पत्रकारहरुले समेत सोही हल्लाको पछि लागेर समाचार लेख्ने गरेको भन्दै वास्तविक समस्या के रहेछ भन्ने पत्ता लगाएर मात्रै समाचार लेख्न आग्रह समेत गरे । ‘अनलाइन ट्रेडिङ सुरु भएपछि अनलाइनमा समस्या आयो भन्दै कति पत्रकारले मलाई फोन गरे, यहाँ भएका कम्तीमा पनि ३० प्रतिशत पत्रकारलाई म आफैंले स्पष्टिकरण दिएको छु, तर तपाईँ आफैंले चलाएर हेरेको हो भन्दा होइन फलानोले भनेको भन्नुहुन्छ, म तपाईँहरुलाई कम्तीमा समस्या कहाँनिर रहेछ बुझेर मात्रै समाचार लेख्न आग्रह गर्छु’ साउदले भने । उनले अहिले नेपालीहरुको वित्तीय साक्षरताको अवस्था त्यति सबल भइनसकेको भन्दै अन्तराष्ट्रिय स्तरको प्रणाली भित्र्याउने हो भने त्यसलाई धेरै नेपालीहरुले चलाउनै नसक्ने दाबी समेत गरे ।
बीमा कम्पनीको शाखा २ हजार ५ नाघ्यो, साढे ९ हजारले पाए प्रत्यक्ष रोजगार
काठमाडौ । बीमा व्यवसाय बढ्दै जाँदा बीमा व्यवसाय गर्ने कम्पनीहरूले शाखा विस्तारमा तिव्रता दिएका छन् । गत आवको अन्त्यसम्म ३९ वटा जीवन तथा निर्जीवन बीमा कम्पनीले दुई हजार ५ सय २३ शाखा विस्तार गरेका छन् । गत आर्थिक वर्ष २०७५/७६ सम्म जीवन बीमा गर्ने १९ बीमा कम्पनीले १ हजार ६ सय ५४ शाखा कार्यालय स्थापना गरेका छन् । निर्जीवन बीमा व्यवसाय गर्ने २० कम्पनीको शाखा विस्तार पनि ८ सय ६९ पुगेको छ । गत आवसम्म बीमा कम्पनीमा प्रत्यक्ष रुपमा ९ हजार चार सय ८१ जनाले रोजगारी पाएका छन् । सोमध्ये जीवन बीमा कम्पनीतर्फ ४ हजार ७ सय ९८ जनाले रोजगारी पाएका छन् भने निर्जीवन बीमातर्फ ४ हजार ६ सय ८३ ले रोजगारी पाएको बीमा समितिले जानकारी दिएको छ । सबै भन्दा धेरै शाखा यूनियन लाइफ इन्स्योरेन्सको जीवन बीमा तर्फ सबैभन्दा धेरै १ सय ७८ वटा कार्यालय यूनियन लाइफ इन्स्योरेन्स कम्पनीकोे रहेको छ । शाखा विस्तारमा दोस्रो स्थानमा प्राइम लाइफ इन्स्योरेन्सले लिएको छ । गत आवसम्म प्राइम लाइफले १ सय २७ शाखा विस्तार गरेको छ । निर्जीवन बीमातर्फ भने सबैभन्दा धेरै ९२ वटा कार्यालय शिखर इन्स्योरेन्स कम्पनीले विस्तार गरेको छ । निर्जीवन बीमातर्फ ७६ शाखा कार्यालय विस्तार गरेर सिद्धार्थ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा पुगेको छ । जीवन बीमा गर्ने कम्पनीहरूमा सबैभन्दा धेरैलाई रोजगारी एशियन लाइफ इन्स्योरेन्स कम्पनीले दिएको छ । उक्त कम्पनीमा ४ सय जनाले रोजगारी पाएका छन् । युनियन लाइफ इन्स्योरेन्समा ३ सय ८३ कर्मचारीले रोजगारी पाएका छन् । निर्जीवन बीमा कम्पनीतर्फ सबैभन्दा धेरै ६ सय १० कर्मचारी शिखर इन्स्योरेन्स कम्पनीको रहेका छन् । निर्जीवन बीमा तर्फ दोस्रो स्थानमा नेको इन्स्योरेन्स कम्पनीमा रहेको छ । उक्त कम्पनीमा ३ सय ६३ कर्मचारी रहेको बीमा समितिको तथ्यांक छ ।
नेशनल लाइफले घोषणा गर्यो १४.५ प्रतिशत लाभांश, कर पनि तिरिदिने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७४७५ को नाफाबाट नेशनलले १२ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर सहित उक्त परिमाणमा लाभांश दिने घोषणा गरेको हो उक्त लाभांशमा कर प्रयोजनको लागि लाग्ने रकम समेत कम्पनीले ब्यहोर्नेछ । नेशनल लाइफको बिहीबार बसेको सञ्चालक समिति बैठकले त्यस्तो निर्णय गरेको कम्पनीले जनाएको छ । यो बनेनस बीमा समितिको स्वीकृति र वार्षिक साधारणसभाको अनुमोदनपश्चात् लागु हुने पनि कम्पनीले स्पष्ठ पारेको छ ।