कामना सेवा विकास बैंकको ओडी कार्ड सेवा शुरु

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा ओडी कार्ड सुविधा समेत प्रदान गर्ने गरी असोज २ गते देखि सेवा शुरु गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत बस्नेतले ओडी कार्डको महत्व र यसबाट ग्राहकहरुले प्राप्त गर्न सक्ने सुविधा र फाइदाका बारेमा प्रकाश पार्दै अब बैंकका ग्राहकहरुले उक्त ओडी कार्ड प्रयोग गरी उपलब्ध सीमासम्मको रकम झिक्न सक्नुका साथै सामान खरिद गर्दा पनि कार्ड प्रयोग गर्न सक्ने बताए ।

कामना सेवा र बिओके क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र बिओके क्यापिटल मार्केट लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार कामना सेवा विकास बैंक लिमिटेडको शेयर सम्बन्धी कार्य (शेयर सम्बन्धी कारोवारको रेकर्ड राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु) बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी, काठमाडौंबाट हुनेछ । सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र बिओके क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन् ।

लोक सेवा दिने परीक्षार्थीले एनआईसी एशियामा दस्तुर बुझाउन सक्ने

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र लोक सेवा आयोगबीच लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर बापतको राजश्व एनआईसी एशिया बैंकमार्फत् संकलन गर्ने सम्झौता भएको छ । सो सम्झौता अनुसार लोकसेवा आयोगको परीक्षार्थीहरुले अबदेखि एनआईसी एशिया बैंकको देशभर रहेका २९८ कार्यालयहरु र ७० वटा एक्स्टेन्सन काउण्टरहरुबाट आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दस्तुर बुझाउन सक्ने छन् । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र लोक सेवा आयोगको तर्फबाट सहसचिव जानकीराम शर्मा बरालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतासँगै लोकसेवा आयोगको परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुलाई दस्तुर भुक्तानी प्रक्रिया सहज हुने बैंकल विश्वासे लिएको छ ।