एनआईसी एशिया बैंककोे चार नयाँ शाखा एकै साथ सञ्चालन

काठमाडौँ । एनआईसी एशिया बैंकको चार नयाँ शाखाहरु र एक शाखारहित बैंकिङ्ग सेवा आइतबारदेखि सञ्चालनमा आएको छ । रुकुम पूर्व जिल्ला, सिस्ने गाउँपालिका वडा नं ६ पूर्व रुकुमस्थित रुकुमकोट शाखाकोे उद्घाटन सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले गरिन् । त्यस्तै चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं १८ स्थित चनौली शाखाको बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख विश्व पौड्यालले उद्घाटन गरे । चितवन जिल्लाकै राप्ती नगरपालिका वडा नं ५ स्थित भण्डारा शाखाको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईँले उद्घाटन गरे । साथै काठमाडौं जिल्ला कागेश्वरी मनहरा नगरपालिका वडा नं ९ काँडाघारीस्थित काँडाघारी शाखाको बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख वन्दना पोखरेल उद्घाटन गरेकी हुन् । यसैगरी, झापा जिल्लाको कचनकवल गाउँपालिका वडा नं. ३ को पथरिया नयाँबजारमा बैंकको ४२औंं शाखारहित बैंकिङ्ग सेवा आइतबारदेखि संचालनमा आएको छ । बैंकले संचालनमा ल्याएको पथरिया नयाँबजार शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन कचनकवल शाखाका शाखा प्रबन्धक प्रविण खड्काको उपस्थितिमा सम्पन्न भयो । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरिप्रसाद दंगाललाई नियुक्त गरिएको छ ।

लघुवित्त संघको अध्यक्षमा वसन्तराज लम्साल, उपाध्यक्षमा भेषराज पन्थी

काठमाडौं । लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु आवद्ध नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएशन (एनएमबिए) को अध्यक्षमा वसन्तराज लम्साल निर्वाचित भएका छन् । एशोसिएशनको आइतबार भएको साधारणसभामा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत समेत रहेका लम्साल ‘निर्विरोध’ निर्वाचित भएका हुन् । अध्यक्षका आकांक्षी समेत रहेका प्रकाशराज शर्माले अन्तिम समयमा उम्मेदवारी नदिएपछि उनी निर्विरोध भएका हुन् । उनले निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदै अध्यक्षको मैदान छाडेको बताइएको छ । शर्माले छाडेपछि लम्साल निर्विरोध निर्वाचित भएका हुन् । लम्सालसहित उपाध्यक्षमा भेषराज पन्थी समेत निर्विरोध निर्वाचित भएका छन्, उनी फस्र्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत हुन् । महासचिवसहित अन्य ९ पदाधिकारीका लागि भने छलफल भइरहेको नवनिर्वाचित अध्यक्ष लम्सालले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष लम्सालले लघुवित्त संघको नेतृत्वमा रहँदा आफूले लघुवित्त संघको पहिचान र यसको स्वायत्तता बढाउने र लघुवित्त संघको प्रभावकारिता वृद्धि गर्दै जाने कुरामा जोड दिने बताए । उनले लघुवित्त आफ्ना संस्थालाई थप सशक्त बनाउने र कुनै न कुनै रुपमा प्रदेशगत रुपमा उपस्थिति जनाउने प्रतिवद्धता व्यक्त गरे ।

सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीद्वारा सपथ ग्रहण, आइतबारबाटै सम्हाले पदभार

काठमाडौँ । सिटिजन्स बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले आइतबार सपथ ग्रहण गरेका छन् । आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच असोज १० गते बसेको बैंकको संचालक समितिको ३१४ औं बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका भण्डारीलाई गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । बैंकको स्थापनाकालदेखि २०७५ पुससम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यकाल पूरा गरेका भण्डारीले सञ्चालक समितिको अध्यक्ष पदमा आगामी ४ बर्षको कार्यकालका लागि आइतबारबाटै पदभार ग्रहण गरेका हुन् ।