सिटिजन्स बैंकको ८५औं शाखा काठमाडैंको कमलादीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको कमलादीमा ८५औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । करिव १३ वर्ष अघि कमलादीबाट नै यस बैंकले बैंकिंग कारोवारको शुभारम्भ गरेकोमा र १० वर्षको सफल बैंकिंग कारोवारपछि २०७३ सालमा नारायणहिटीपथमा स्थित बैंकको आफ्नै भवनबाट बैंकिंग सेवा दिंदै आएको छ । यस बैंकले ८५ वटा शाखा, ८२ वटा एटिएम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै, यसले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
नेशनल लाइफ इन्स्योरेन्सको १४ प्रतिशत लाभांश पारित, चुक्ता पूँजी तीन अर्ब नाघ्याे
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको प्रस्तावित १४.५ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको ३१औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले चुक्ता पूँजीको २.५ प्रतिशत बोनस सेयर र १२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गरेको हो । साथै, बोनस सेयर वापतको कर प्रयोजनको लागि ३९ लाख ५७ हजार १५८ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित भएको छ । आ.व. २०७४/७५ मा कम्पनीले कूल ६ लाख ४४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, कूल दावी भुक्तानी २०५ करोड रुपैयाँ र ४७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको सभामा कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले जानकारी गराएका छन् । उनले इन्स्योरेन्सको चुक्ता पूँजी तीन अर्ब रुपैयाँ नाघेको छ । यसैगरी, २०७५ असार मसान्तसम्ममा कम्पनीको कुल लगानी २३.५४ प्रतिशतले वृद्धि भई २० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बीमा कोष गत वर्षको तुलनामा २४.१६ प्रतिशतले वृद्धि भई २१ अर्ब ४७ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गरी कम्पनीको प्रतिफल वृद्धि गर्ने तर्फ कम्पनीको प्रयास केन्द्रित रहेको परिणाम स्वरुप कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ९.५८ प्रतिशत पुगेको अध्यक्ष सिंहले जानकारी दिइन । साथै, व्यवसाय विस्तारसँगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा विशेष ध्यान दिएको र सोही अनुसार विपन्न वर्गका लागि बालिका शिक्षा योजना संचालनमा ल्याएको कम्पनीले जनाकारी दिएको छ ।
२० प्रतिशत हकप्रद सेयर बिक्री गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स, क-कसले भर्न पाउँछन् ?
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको आइतबार(आज)देखि २० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैंयाँ दरका १७ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्रीमा राखेको हो । कम्पनीका अनुसार आगामी असोज २६ गतेसम्म सेयर खरिद गर्ने सेयरधनीहरुले सो मात्राको हकप्रद भर्न सक्नेछन् । उक्त सेयरधनीले आगामी मंसिर २५ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । हाल कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिविआईएल क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रदको लागि इन्स्योरेन्सको केन्द्रिय तथा सम्पूर्ण शाखा कार्यालयहरु र काठमाडौंको डिल्लीबजारमा रहेको सिविआईएल क्यापिटलबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ । साथै, सी–आस्वा प्रणाली मार्फत समेत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।