एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अग्रवालले लिए सपथ
काठमाडौं । एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अशोककुमार अग्रवालले शपथ लिएका छन् ।बिहीबार अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अग्रवाल एनआईसी एशिया बैंकको अध्यक्ष पदमा नियुक्त भएका हुन् । पुस ९ गते बसेको बैंकको सञ्चालक समितिको ७४४औँ बैठकले आजकै मितिदेखि लागू हुने गरी उनलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैंकको अध्यक्षजस्तो गरिमामय पदमा नियुक्त अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो समयदेखि कार्यअनुभव हासिल गर्दै सफल नेतृत्व प्रदान गर्दै आएका छन् । उनले मुलुकको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्ने अग्रवालको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरू हासिल गर्ने तथा संस्थालाई सफलताको थप उचाइमा पुर्याउँदै प्रतिष्ठाको नयाँ शिखरमा लैजाने विश्वास बैंकले व्यक्त गरेको छ ।
मोटर बीमाको प्रिमियम महँगो भएपछि ई-रिक्साका लागि छुट्टै निर्देशिका ल्याउँदै प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले इलेक्ट्रिक रिक्साका लागि छुट्टै बीमा पोलिसी प्रक्रिया अगाडि बढाएको छ । हालको मोटर बीमा निर्देशिकाअनुसार बीमितलाई प्रिमियम महँगो पर्न जाने अवस्थालाई मध्यनजर गर्दै न्यून आय भएका ई-रिक्सा चालकलाई लक्षित गरी छुट्टै पोलिसीको तयारीमा रहेको प्राधिकरणका उपनिर्देशक एवं कोशी प्रदेश प्रमुख प्रीति देवले जानकारी दिइन् । अहिलेको अवस्थामा ई-रिक्साकै लागि भनेर छुट्टै बीमा व्यवस्था नभए पनि तीनपाङ्ग्रे टेम्पोहरूको बीमा गर्न मिल्ने प्रावधान रहेको छ । मोटर बीमा निर्देशिका, २०७३ अनुसार बीमा कम्पनीहरूले ई-रिक्साको बीमा पनि त्यही तीनपाङ्ग्रे टेम्पोअन्तर्गत नै गर्दै आएको छ । देवले भनिन्, ‘हालसम्म ई-रिक्साका लागि छुट्टै बीमा व्यवस्था नभए पनि तीनपाङ्ग्रे टेम्पोअन्तर्गत बीमा गर्न मिल्ने प्रावधान छ । अब भने प्राधिकरणले छुट्टै र कस्टमाइज्ड बीमा आवश्यक देखिएकाले त्यसतर्फ गृहकार्य भइरहेको छ ।’ हालको मोटर बीमा निर्देशिका र सीसी क्षमताका आधारमा प्रिमियम निर्धारण गर्दा ई-रिक्सा चालकहरूलाई बीमा शुल्क महँगो पर्न जाने देखिएको छ । ई-रिक्सा चालकहरू प्रायः न्यून आय वर्गका हुने भएकाले उनीहरूका लागि बीमा शुल्क सस्तो हुनुपर्ने माग ई-रिक्सा संघबाट समेत आउने गरेको उनले बताइन् । देवका अनुसार यो समस्यालाई सम्बोधन गर्न यात्रु दुर्घटना बीमासहितको प्याकेजलाई न्यून लागतमा उपलब्ध गराउने प्रस्ताव बोर्डमा पेश गरिसकेको छ । अहिले ई-रिक्सासम्बन्धी प्रस्तावित योजनालाई प्राधिकरणले माइक्रो इन्स्योरेन्स अन्तर्गत राखेर ‘मिनिमम प्रोडक्ट’का रूपमा डिजाइन गर्ने तयारी भइरहेको तर अन्तिम निर्णय आउन बाँकी रहेको उनले बताइन्। ‘अहिले ई-रिक्साको लागि पोलिसी ड्राफ्ट र जोखिम विश्लेषणको काम अगाडि बढिरहेको छ, अन्तिम निर्णय आउन बाँकी छ,’ देवले भनिन् । चालकलाई लाइसेन्स अनिवार्य गर्दै कोशी प्रदेश सरकार ई-रिक्सालाई व्यवस्थित बनाउने र बीमाको दायरामा ल्याउने सम्बन्धमा प्राधिकरणले कोशी प्रदेश सरकारसँग छलफलसमेत अगाडि बढाइसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीसँग कोशी प्रदेशमा ई-रिक्साको बीमाको सम्भावनाबारे छलफल गरेको हो । मन्त्रालयका उपसचिव उर्मिला देवी निरौलाका अनुसार कानुनमा लाइसेन्स लिनुपर्ने व्यवस्था भएपनि अधिकांश ई-रिक्सा चालकसँग लाइसेन्स नभएकाले उनीहरूलाई यो दायरामा ल्याउन खोजिएको हो । प्रदेशमा सबै रिक्सा चालकलाई अनिवार्य लाइसेन्सको दायरामा ल्याउनु र उनीहरुलाई बीमामा जोडिन सहजीकरण गर्नु मुख्य उद्देश्य रहेको निरौलाले औंल्याइन् । उनले भनिन्, ‘कानुनमा लाइसेन्स अनिवार्य भनिए पनि अधिकांश चालकसँग लाइसेन्स नभएकाले उनीहरूलाई यो प्रणालीभित्र ल्याउन खोजिएको हो ।’ निरौलाका अनुसार प्रदेश सरकारले चालकहरूलाई सहज बनाउन चालु आर्थिक वर्षदेखि लाइसेन्सका लागि लिइने लिखित परीक्षासमेत हटाइएको छ । साथै मंसिर महिनादेखि ई-रिक्सा सञ्चालन गरे बापत लाग्दै आएको करिब तीन हजार रुपैयाँ आयकर पनि खारेज गरिएको छ । लिखित परीक्षाको सट्टा अब चालकहरूलाई लाइसेन्स लिन आउने दिन ट्राफिक नियम र सवारी सञ्चालनसम्बन्धी भिडियो देखाइने र एक दिनको तालिम दिने व्यवस्था गरिएको उनले बताइन् । निरौलाले ई-रिक्सा चालकहरूको आम्दानी न्यून भएकाले हालको बीमा प्रिमियम महँगो परेको देखिएको हुँदा बीमा प्रिमियम घटाउने प्राधिकरणसँग छलफल भइरहेको जानकारी दिइन् । ‘चार जना यात्रु र एक जना चालक गरी पाँच जनालाई बीमा प्याकेजमा समेट्ने सहमति खोज्ने प्रयास भइरहेको छ,’ उनले बताइन् । यस कार्यक्रमलाई चरणबद्ध रूपमा कार्यान्वयन गरिनेछ । पहिलो तीनदेखि चार महिना सकारात्मक रूपमा प्रवर्द्धन गर्ने र त्यसपछि मात्र दोस्रो चरणमा जरिवाना तथा कडाइ गर्ने योजना रहेको निरौलाको भनाइ छ । यो पहल मजदुर वर्गको सुरक्षा, यात्रुको हित र सडक सुरक्षालाई ध्यानमा राखेर गरिएको उनले जानकारी दिइन् । अरू सवारीको तुलनामा न्यून दुर्घटना भए पनि दुर्घटना भइहालेको अवस्थामा चालकले महँगो उपचार खर्च बेहोर्न नसक्ने भएकाले बीमामार्फत जोखिम कभर गर्ने लक्ष्यसमेत लिईएको निरौलाले बताइन् । बीमा कम्पनीहरूका अनुसार ई-रिक्सासम्बन्धी छुट्टै पोलिसी नहुनु र मोटरबीमाअन्तर्गत नै हुने भएकाले न्यून संख्यामा बीमालेख जारी हुने गरेका छन् । नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ईश्वर पोखरेलका अनुसार बीमा कम्पनीमा रिक्साको न्यून संख्यामा बीमा हुने गरेको बताए । ‘ई रिक्सा बढीजसो तराईका जिल्लामा चल्ने भएकाले त्यतैको शाखामा बीमा हुने गरेको छ, त्यो पनि न्यून संख्यामा,’ उनले भने । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेशकुमार रोका ई-रिक्सा चालकलाई अनिवार्य रूपमा लाइसेन्सको व्यवस्था गरिएमा माइक्रो बीमाको दायरामा ल्याउन सजिलो हुने बताउँछन् । ‘बीमा अनिवार्य नगरिएको र अधिकांशको लाइसेन्स नभएका कारण एउटा व्यक्तिको लाइसेन्स राखेर शोरुमहरूले धेरै जनालाई रिक्सा बिक्री गर्ने गरेको समस्या देखिएको छ । नेपाल सरकार र यातायात व्यवस्था कार्यालयले यसलाई नियमन नगरेसम्म यो क्षेत्र व्यवस्थित नहुने देखिन्छ,’ उनले भने । रोकाका अनुसार रिक्साको मूल्य करिब ५ देखि ६ लाख रुपैयाँसम्म हुने भएकाले यसलाई व्यवस्थित गर्न सके माइक्रो बीमाको रेन्जमा समेट्न सकिने र व्यवसाय पनि विस्तार हुन सहयोग पुग्ने छ ।
क्लव चौलानीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा गरिमा क्यापिटल
काठमाडौं । सुदूरपश्चिम प्रदेशकै नमूना पाँचतारे होटलको रूपमा स्थापित हुने लक्ष्य लिएको क्लव चौलानी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गरिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । यस सम्बन्धमा क्लव चौलानी लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको छ । पौष ०८ गते मंगलबार बुढानिलकण्ठ, काठमाडौंस्थित होलिडे इन रिसोर्टमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतापत्रमा क्लव चौलानी लिमिटेडका अध्यक्ष राजेन्द्र के.सी. तथा गरिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले हस्ताक्षर गरेका छन् । क्लव चौलानी लिमिटेड २०६५ साल वैशाख २५ गते प्राइभेट लिमिटेड कम्पनीका रूपमा स्थापना भई २०८१ साल पौष २२ गते पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबरको सेयर सर्वसाधारणका लागि आईपीओमार्फत निष्कासन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासन पश्चात् कम्पनीको पूँजी संरचना थप सबल भई होटल पूर्वाधार निर्माण, सेवा विस्तार तथा दीर्घकालीन व्यावसायिक वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।