विजय लघुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज (मंसिर १५ गते) सोमबार मात्रै सो मात्रा अर्थात २ लाख ९२ हजार २१५ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।
अरुण भ्याली हाइड्रोले डाक्यो वार्षिक साधारणसभा, मंसिर २६ गतेदेखि बुक क्लोज
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आगामी पुस ८ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । हाइड्रोले सो दिन बिहान ११ बजे थापाथलीस्थित कम्पनीको सभाकक्षमा आफ्नो २३औं वार्षिक साधारणसभा बोलाएको हो । सभामा कम्पनीले ५.२६३ प्रतिशत लाभांश प्रस्ताव लैजाँदै छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । साथै, सभाले बोनस पछि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई पनि पारित गर्दै छ । त्यस्तै, कम्पनीले निर्माण गर्न लागेको माथिल्लो काबेली २ जलविद्युत आयोजना(९.६) मेगावाटका लागि ऋण स्वीकृत गर्ने सामान्य प्रस्ताव सभामा लैजाँदै छ । सभामा जाने प्रयोजनको लागि कम्पनीले मंसिर २६ गतेदेखि पुस २ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यससँगै मंसिर २५ गतेसम्म कायम सेयरधनीले कम्पनीको सभामा भाग हुनका साथै कम्पनीले वितरण गर्न लागेको लाभांश पाउने छन् । सभा भर्च्युअल माध्यम जुम एपबाट सञ्चालन हुने छ । सम्बन्धित समाचारः अरुण भ्याली हाइड्रोको लाभांश घोषणा, बोनसपछि हकप्रद सेयर निष्काशन गर्ने
कामना सेवा विकास बैंकको डिवेञ्चर प्रत्याभूतीकर्तामा नागरिक लगानी कोष
काठमाडौं । कामना सेवा विकास बैंकको एक हजार अंकित दरका दश लाख कित्ताको ऋणपत्र प्रत्याभुतीकर्ताको रुपमा नागरिक लगानी कोष नियुक्त भएको छ । डिवेञ्चर प्रत्याभूतीकर्ता सम्झौता–पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका थिए । याेसँगैं नेपाल राष्ट बैंकबाट ‘ख’ वर्गको इजाजत पत्रप्राप्त बैंकहरुमा कामना सेवा ऋणपत्र निष्काशन गर्ने पहिलो विकास बैंक बनेको छ भने नागरिक लगानी कोषले ऋणपत्र प्रत्याभुूती गरेको पनि यो प्रथम पटक हो । यस ‘९५ केएसएसबिबिएल डिबेञ्चर २०८७’ ऋणपत्रको अवधि १० बर्षको रहेको अर्धबार्षिक, ब्याज प्रदान हुने साथै सेबोनको स्विकृति पश्चात यो ऋणपत्र निकट भविष्यमा निष्काशन गरिने समेत विज्ञप्तिमा जनाइएको छ । कार्यक्रममा प्रत्याभूतीकर्ता नागरिक लगानी कोषको मर्चेन्ट बैंक विभाग प्रमुख नारायण प्रसाद घिमिरे, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना, निष्काशन विभाग प्रमुख राम कुमार महत तथा निष्काशनकर्ता कामना सेवा विकास बैंकका जोखिक व्यवस्थापन विभाग प्रमुख प्रदिप पुडासैनी समेतको उपस्थिती रहेको थियो ।