अब खल्तीबाटै एनआइबिएल सहभागिता फण्ड खरिदको भुक्तानी गर्न सकिने

काठमाडौं । अब खल्तीबाटै एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजना)का इकाई खरिदको भुक्तानी गर्न सकिने भएको छ । नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले आफ्नो ग्राहक वर्गको सुविधालाई ध्यानमा राखी मङ्सिर २२ गतेबाट खल्तीको माध्यमबाट उक्त फण्डको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो । यस अघि एनआइबिएल सहभागिता फण्डका लगानिकर्ताहरुलाई कनेक्ट आईपीएस र इन्भेष्टमेन्ट बैंकको ई बैंकिङ्गबाट मात्रै यो सेवा प्रधान गरिरहेको थियो । कोष प्रबन्धक, एनआईबिएल एस क्यापिटलले लगानिकर्ताहरुलाई विना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयाशरत रहेको छ ।

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको बाँडफाँड भाेलि, भाग्यमानी पाँच जनाले थप १० इकाई पाउने

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड (खुलामुखी योजना)को इकाई भोलि (मंसिर २३ गते मंगलबार) बाँडफाँड हुने भएको छ । इकाई निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार उक्त इकाईको बाँडफाँड भोलि बिहान ९ बजे बिक्री प्रबन्धकको कार्यालय काठमाडौंको बबरमहलमा हुने भएको हो । संस्थाले गत मंसिर १२ गतेदेखि मंसिर १६ गतेसम्म ४ करोड २५ लाख इकाईहरु बिक्रीमा राखेकाे थियाे । साे अवधि भित्रमा ७९ हजार ५१४ जना आवेदकहरुबाट रितपुर्वक ५ कराेड ६० लाख १६ हजार ५७० इकाईकाे लागि माग परेकाे थियाे । जसमध्ये १०० इकाईदेखि ५ लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई माग गरे बमोजिम बाँडफाँड गरिने क्यापिटलले जनाएकाे छ । त्यस्तै, १० लाख  इकाईदेखि ५० लाख  इकाईसम्म माग गर्ने आवेदकहरुलाई ६ लाख ६४ हजार ८२० इकाईका दरले बाँडफाँड गरिने छ । र, त्यसपश्चात बाँकी रहन आएको ५० इकाईको हकमा १० लाख १० इकाई देखि ५० लाख इकाई माग गर्ने ५ जना आवेदकहरुलाई पूनः १० इकाई थप गरि कुल ४ कराेड २५ लाख इकाई बाँडफाँड गरिने क्यापिटलले जानकारी गराएकाे छ । संस्थाले ४ करोड २५ लाख इकाईहरु सर्वसाधरणमा माग गरेको थियो । फण्डले कुल ५ करोड इकाइ मध्ये बीज पुँजीबापत कुल निष्काशन गरी इकाईको जम्मा १५ प्रतिशत अर्थात ७५ लाख इकाई योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित राखि अधिकतम ४ करोड २५ लाख इकाई सार्वसाधरणमा बिक्रीमा राखेको हो । सम्बन्धित समाचारः एनआईसी एसिया क्यापिटलकाे खुलामुखी म्युचुअल फण्डमा लगानी गर्नु कत्तिको उपयुक्त ?

आईएमई लाइफ इन्स्योरेन्सद्वारा च्याटबोट सञ्चालनमा, जीवन बीमा कम्पनीमध्ये कै पहिलाे

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईएमई लाइफ ३६० योर भर्च्युअल अशिष्टेन्स् नामको च्याटबोट सञ्चालनमा ल्याएको छ । कम्पनीले नेपालमै पहिलो पटक जीवन बीमा कम्पनीमध्ये सर्वप्रथम यो सेवा सञ्चालनमा ल्याएको हो । उक्त सेवाबाट बीमित र अभिकर्ता प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् भने बीमासँग चासाे राख्ने, बीमाको बारेमा बुझ्ना चाहने, कम्पनीको बारेमा बुझ्न चाहने व्यक्ति तथा संस्थाले समेत यसबाट सेवा प्राप्त गर्न सक्नेछन् । हाल यो सेवा कम्पनीको वेवसाइटमा उपलब्ध रहेको छ । साथै, कम्पनीले आगामी दिनमा कम्पनीको अधिकारीक मोबाइल एप्स्(आईओएस एण्ड एन्ड्रोइड) र म्यासेन्जरमा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । च्याटबोट सेवा मार्फत बीमितिले आफ्नो बीमाशुल्क भुक्तानी सम्बन्धि जानकारी लिनुका साथै बीमाशुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोबाइल नं परिवर्तनको जानकारी लिन सकिने र अनुरोध पठाउन सकिने छ । यसैगरी दावी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिशन, बैंक खाता, प्यान नं., मोबाइल नं अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजतपत्र नवीकरण प्रक्रिया सम्मको जानकारी यसै च्याटबोट मार्फत तत्कालै प्राप्त गर्न तथा अनुरोध पठाउन सक्नेछन् । यो सेवा सञ्चालनमा आएसँगै कम्पनीका बीमित, अभिकर्ता र कम्पनीसँग सरोकार राख्ने जो कोहिले जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवा अन्तर्गतको जुनसुकै समस्या वा जिज्ञासा च्याटबोटमार्फत् राखी तत्कालै समाधान पाउन सक्ने कम्पनीले जानकारी गराएकाे छ ।