हिँउ चितुवा जोगाउन डोल्पामा पशु बीमा

डोल्पा । दुर्लभ वन्यजन्तु हिँउ चितुवा जोगाउनका लागि पशु बीमा कार्यक्रम लागू गरिएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्ने गाउँबस्तीमा पहिलोपटक पशुपालन गरिरहेका किसानलाई लक्षित गरी पशु बीमा कार्यक्रम लागू गरिएको हो । निकुञ्ज क्षेत्रमा पाइने हिँउ चितुवा, ब्वाँसोलगायत वन्यजन्तुबाट घरपालुवा जनावरमा हुने क्षति न्यूनीकरण गर्दै कृषकको हिँउ चितुवाप्रतिको प्रतिशोध घटाई संरक्षण गर्न बीमा कार्यक्रम लागू गरिएको निकुञ्जले जनाएको छ । आयआर्जनको प्रमुख आधार भनेकै पशुपालन व्यवसाय भएकाले स्थानीय कृषकमा पशु बीमासम्बन्धी स्पष्ट धारणा बसाल्न सदरमुकाम दुनैमा कृषकलाई बोलाएर चारदिने तालीमसमेत दिइएको छ । शे–फोक्सुण्डो निकुञ्ज दुर्लभ वन्यजन्तु हिउँ चितुवाको प्रमुख बासस्थान भएकाले यसलाई जोगाउन पहिलोपटक बीमा कार्यक्रम लागू गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । कृषकले व्यावसायिकरुपमा पालन गरेका याक, चाैंरी, भेडा, च्याङ्ग्रालगायतका घरपालुवा जनावर वन्यजन्तुले क्षति पु¥याएमा आक्रोशित भएर दुर्लभ वन्यजन्तुलाई नमारुन् भन्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको निकुञ्जको भनाइ छ । पशु बीमा योजनाको खर्च स्थानीय समुदायको प्रिमियम र विश्व वन्यजन्तु कोषबाट प्रदान गरिएको अक्षयकोषको ब्याज रकमबाट जम्मा गरिने बताइएको छ । यसले वन्यजन्तुबाट हुने पशुधनको क्षतिलाई राहत प्रदान गर्न सहयोग पुग्ने कोषका कर्मचारी गौतम पौडेलले बताए । कोषको अनुदान सहयोगमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित हिँउ चितुवा तथा आहारा प्रजाति संरक्षण कार्यक्रमअन्तर्गत मुगुको डोल्फुमा रु १० लाखको पशु बीमा योजना कार्यक्रम सञ्चालन हुन लागेको उनले जानकारी दिए । यस योजनाबाट स्थानीय समुदायको जीविकोपार्जनमा सुधार हुने, पशुधनको क्षतिबाट हुने नोक्सानी बहन गर्न सकिने र हिउँचितुवाप्रति स्थानीय बासिन्दाको सोचाइमा सकारात्मक परिवर्तन भई प्रतिशोधले सिकार गर्ने कार्य कम भई दिगो संरक्षणमा टेवा पुग्ने कोषको भनाइ छ । आफ्नो पशुको बीमा गर्ने सदस्यले बचत तथा प्रिमियम रकमको लगानीमार्फत सस्तो ब्याजमा कर्जा लिन सक्ने बताइएको छ । वन्यन्तुको आक्रमणबाट एक सय घरपालुवा पशुमा दुईदेखि तीनवटासम्म क्षति हुने गरेको निकुञ्जको भनाइ छ ।

अन्नपूर्ण रिइन्स्योरेन्सको संस्थापक बन्न अधिकांश बीमा कम्पनी तयार, ‘कन्फर्म’ गर्दै बैंकहरु पनि

काठमाडौं । अधिकांश बीमा कम्पनीहरुले नयाँ पुनर्बीमा कम्पनीको संस्थापक सेयरधनी बन्न तयार रहेको जानकारी दिएका छन् । प्रस्तावित अन्नपूर्ण रिइन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनी बन्न गरेको प्रस्तावलाई प्रायः सबै बीमा कम्पनीहरुले स्वीकार गरेका छन् । नयाँ रिइन्स्योरेन्स कम्पनीले बीमा कम्पनीहरुलाई १० करोड रुपैयाँदेखि १५ करोड रुपैयाँसम्मको संस्थापक सेयर लिन ‘अफर लेटर’ पठाएको थियो । त्यस्तो अफर लेटरका बारेमा बीमा कम्पनीहरुका संचालक समितिमा छलफलपछि प्रस्तावित रकम बराबरकै सेयर हाल्ने जानकारी गराइएको छ । अधिकांश बीमा कम्पनीहरुले १० देखि १५ करोड रुपैयाँसम्मकै संस्थापक सेयर हाल्ने पत्र पठाएका प्रस्तावित अन्नपूर्ण रिइन्स्योरेन्स कम्पनीका एक अधिकारीले जानकारी दिए । ‘हामीले सबै बीमा कम्पनी तथा बैंक वित्तीय संस्थाहरुलाई अफर लेटर पठाएका थियौं, अधिकांश बीमा कम्पनीहरुले अफर लेटर अनुसार नै १५ करोड रुपैयाँसम्म नै संस्थापक सेयर हाल्ने भनेर पत्राचार गरिसकेका छन्, केही बैंक वित्तीय संस्थाहरुले पनि संस्थापक सेयर खरिद गर्ने भनेर निर्णय गरी पठाएका छन्, हामी पुस मसान्तभित्रै कम्पनी स्थापना गरिसक्ने गरी हामीले गृहकार्य गरिरहेका छौं,’ प्रस्तावित कम्पनी स्रोतले भन्यो । प्रस्तावित कम्पनीको अधिकृत पुँजी १५ अर्ब रुपैयाँ हुने भनिएको छ । जारी पुँजी १० अर्ब रुपैयाँ छ । प्रमोटरले ७ अर्ब रुपैयाँ र सर्वसाधारणको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ सेयर स्वामित्व रहनेछ । स्रोतका अनुसार अहिलेसम्म कृषि विकास बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले संस्थापक सेयर धनी भन्ने जानकारी गराइसकेका छन् । अन्य बैंक वित्तीय संस्थाहरुले पनि लगानी प्रतिवद्धताको पत्र प्रस्तावित कम्पनीलाई पठाउने अन्तिम तयारी गरिरहेका छन् । प्रस्तावित कम्पनीले प्रमोटर सेयरको लागि गरेको अफर अबको एक साताभित्रै बुकलक गर्ने तयारी गरेको छ । कम्पनीका लागि आवश्यक पुँजी जुट्ने करिब पक्का भएकोले बुकलक गर्न लागिएको बताइएको छ । कम्पनीमा प्रमोटर सेयरधनीको ७ अर्ब लगानीमध्ये संस्थागत लगानीकर्ताको तर्फबाट ४ अर्ब र व्यक्तिगत लगानीकर्ताको तर्फबाट ३ अर्ब रुपैयाँ लगानी गर्ने भनिएको थियो । तर, नयाँ कम्पनी स्थापना गर्नको लागि संस्थागत लगानीकर्ताको तर्फबाट बढी आकर्षण भएको देखिएपछि व्यक्तिगत लगानीकर्ताको लगानी कम गरेर संस्थागत लगानीकर्ताको लगानी बढाउन लागिएको छ । कम्पनी स्थापनको लागि गैरआवाशीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, उनका भाइ डा. विरेन्द्र महतो तथा व्यवसायिक घरानाहरु शंकर ग्रुप, विशाल ग्रुप र शारडा ग्रुपको मुख्य लगानी रहने बताइएको छ । सम्बन्धित समाचार पुनर्बीमा कम्पनीको सौता आउँदै, ‘अफर लेटर’बारे छलफल गर्दै बीमा कम्पनीहरुको बोर्ड १० अर्ब लगानीमा अर्को बीमा कम्पनी खुल्दै, अर्थमन्त्री पनि नयाँ कम्पनीको पक्षमा

लघुवित्त बैङ्कर्स संघद्वारा तीन दिने कार्यशाला गोष्ठी सम्पन्न, ३४ वटा संस्थाको सहभागिता

काठमाडाैं । नेपाल लघुवित्त बैङ्कर्स संघले तीन दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । संघले गत मंसिर १९ देखि २१ गतेसम्म ‘कोभिड-१९ महामारी र संघको भूमिका’ विषयक प्रमुख कार्यकारी अधिकृत स्तरीय कार्यशाला गोष्ठी ल्याण्डमार्क फरेस्ट पार्क, सौराहा, चितवनमा सम्पन्न गरेको हाे । संघका अध्यक्ष बसन्त राज लम्सालको अध्यक्षतामा भएको उक्त गोष्ठीमा काठमाडौं विश्वविद्यालयका सह-प्राध्यापक तथा बरिष्ठ अर्थशास्त्री डा. विश्व पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए भने सघंको कार्यक्रम तथा उपलब्धी, लघुवित्त संस्थाहरुका लागि आचार संहिता, कर्जा सूचना सम्बन्धि कार्य प्रगति एवं चुनौती तथा नेपाल फिनसफट कम्पनी द्वारा विकसित बैंङ्किग सफ्टवेरबारे प्रस्तुती तथा छलफल भएको थियो । डा. विश्व पौडेलले संघका नीतिगत वकालत, क्षमता अभिवृद्धि र ज्ञान व्यवस्थापनका कार्यहरुको महत्व तथा चुनौतीको चर्चा गर्दै संघले अनुसन्धानका लागि कसरी आफ्नो स्रोत सुदृढ गर्ने र राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति उच्च राख्ने भन्ने विषयमा आफ्नो विचार राखे । उनले लघुवित्त संस्थाहरुको कार्य संचालनमा एकरुपता ल्याउन, संस्थागत क्षमता अभिवृद्धि गर्न, खराब कर्जा असुली तथा गाभ्ने/गाभिने व्यवस्था जस्ता जटील विषयहरुमा सहजिकरण गर्न र बजार विकास गर्न संघले खेल्न सक्ने भूिमका बारे पनि आफ्ना सुझावहरु राखे । कार्यपत्रमाथि टिप्पणी गर्दै डा. गाेपाल दलित (युनिक नेपाल लघुवित्त), प्रकाश राज शर्मा (लक्ष्मी लघुवित्त), डा. सुमित्रा मानन्धर गुरुङ्ग (महिला सहयात्रा लघुवित्त) र नुम नाथ पौडेल (फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त) बाट सघंले हालका दिनमा खेलेको र आगामी दिनमा खेल्नु पर्ने भूमिका बारे आफ्ना धारणा प्रस्तुत गरे । कोभिड-१९ महामारीका कारण लामो समय आ-आफ्नै चाघैरा भित्र आवागमन सिमित राखी कार्यशील रहेका लघुवित्तकर्मीहरुलाई सामाजिक दूरी कायम गर्दै भौतिक उपस्थितिमा गोलवद्ध भई संघको भूमिका बारे गहन अन्तर्क्रियाका लागि दिईएको यस अवसरवाट सहभागी सबैले पुनःर्ताजगीको महसुस गरेका छन् । नेपाल लघुवित्त बैङ्कर्स संघ छाता संगठनका रुपमा २०६३ सालदेखि लघुवित्त क्षेत्रको हकहीतका लागि सक्रिय रहँदै आएको छ र ७८ वटा मध्ये ५५ वटा लघुवित्त वित्तीय संस्थाहरु यसका सदस्य छन् । कार्यशाला गोष्ठीमा कूल ३४ वटा लघुवित्त संस्थाहरुको सहभागिता रहेकाे थियाे ।